डेढ सय वर्ष पुरानो संस्कृति जोगाउँदै नेवारी युवा

खेमराज गौतम, बागलुङ

सडकमा बिछ्याइएको सेतो कपडा, त्यही सेतो कपडामा सुतेर जबर्जस्त घिस्रिरहेका एक युवा, संगै एकजना धुपौरे पुजारी र शिव भगवानको रुपमा अर्को युवा । अघि–अघि धोती लगाएका तीन युवा शिरमा जल सहित कलश बोकिरहेका छन् ।

शनिवार कालीगण्डकी नदी किनारदेखि बागलुङ बजार सम्मै देखिएको अनौठो दृश्य हो । यो दृश्य देख्दा अधिकांश प्रत्यक्षदर्शी आश्चर्य चकित जस्ता देखिन्थे । र उनीहरु चासो राखेर छेउछाउका लागि कानेखुशी गर्दै सोधिरहेका थिए–‘यो खासमा के हो ? केका लागि यस्तो गरिदैछ ?’ सम्भवतः धेरैका लागि यो नयाँ दृश्य थियो ।

१६ वर्ष पछि स्वस्थानी पूर्णिमाको अवसरमा नेवारी समुदायले आफ्नो पुख्यौली संस्कारलाई जगाएका छन् । आवाज ननिकाली निराहार ब्रत सहित बाटोमा घसे्रर दुई किलोमिटर भन्दा बढी बाटो नापेरै यात्रा गर्ने कार्य निकै सकसपूर्ण थियो । यो सस्कृति नेवारी समुदायको १५० वर्ष भन्दा पुरानो “बाटो नाप्ने संस्कृति” हो ।

नननेवारी समुदायका युवाहरुको संस्था नेवा ल्याम्ह पुचः बागलुङको आयोजनामा पवित्र कालिगण्डकी नदीको स्नान गरी कलशमा भरेको जल सहित बाटो नाप्ने कार्य गरिएको हो । नेवारी समुदायले स्वस्थानी पूर्णिमाको दिन गर्दै आएको उक्त संस्कृतिले करिब १६ वर्षदेखि निरन्तरता पाउन सकेको थिएन । तर, १५० वर्ष पुरानो संस्कृति लोप भएको भन्दै नेवारी युवाको संस्थाले बाटो नाप्ने कार्यलाई निरन्तरता दिन थालेको नेवा ल्याम्ह पुजः बागलुङका सचिव निलेश राजभण्डारीले बताउनुभयो । “१५० वर्ष भन्दा पुरानो संस्कृति थियो बाटो नाप्ने चलन, तर १६ वर्षदेखि रोकिएको रहेछ, यस पटकको स्वस्थानी पूर्णिमाको दिनदेखि पुनः शुरुवात गरेका छौं” सचिव राजभण्डारीले भन्नभयो “यसलाई प्रत्येक वर्ष स्वस्थानीकाृ पूर्णिमाको दिन निकालेर संस्कृति जगेर्ना गर्ने नेवारी युवाकोे लक्ष्य छ ।”

पूर्णिमाको दिन हिन्दुहरुको पवित्र स्थल कालीगण्डकी नदी देखि निकै कठोर तरिकाले बागलुङ बजारको भिमसेन मन्दिर सम्मको बाटो नाप्ने कार्य गरिएको हो । बाटो नाप्ने कार्यमा सहभागी युवाहरु कुमार हुनु पर्नेछ । उनीहरुले भोकै आवाज ननिकाली बाटो नाप्ने कार्य समापन गर्नुपर्ने नियम छ । उक्त व्रत निकै कठोर र सकसपूर्ण रहेको आयोजक संस्था नेवा ल्याम्ह पुज बागलुङका अध्यक्ष जय राजभण्डारीले बताउनुभयो । युवाहरुले संस्कृति संरक्षणमा चासो नदिदाँ डेढ सय वर्ष पुरानो संस्कृति हराएर जन थालेकाले नेवारी युवाहरुको पहलमा संस्कृति संरक्षणमा अग्रसर भएको राजभण्डारीको भनाई छ ।

सुकन्या प्राप्ति गर्ने विश्वास
स्वस्थानी व्रत संग जोडिएको बाटो नाप्ने कार्यको निकै रोचक प्रसंग समेत छ । स्वास्थ्यानी व्रत गरेर पार्वतीले शिवजी पाएको व्रत कथामा उल्लेख गरिएको छ । त्यस्तै आफ्नो परिवारको सु–स्वास्थ्य, दीर्घायुको कामना गर्दै एक महिना स्वास्थानी व्रत गरिन्छ । उक्त व्रत महिलाको सक्रियतामा गरिन्छ । उनीहरुले राम्रो सुकुमार प्राप्त होस्, श्रीमान्को आयु लामो होस् भन्ने मनकामनाका साथ व्रत वसिन्छ भने पूर्णिमाको दिन बाटो नाप्ने कार्यमा सहभागी युवाहरुले सुकन्या प्राप्त गर्ने जनविश्वास रहेको नेवारी समुदायका अगुवा बताउँछन् ।

पूर्णिमाको दिन बाटो नाप्ने कार्यमा सहभागी कुमारहरुले एक वर्ष भित्र ३२ लक्षणयुक्त सुकुमारी प्राप्त गर्ने विश्वासका साथ कठोर ब्रत सहित बाटो नाप्ने कार्य गरिने प्रचलन रहि आएको प्राज्ञ प्रेम छोटाले बताउनुभयो । “यो बागलुङमा निरन्तरता नपाएको १६ वर्ष भयो, यो नेवारी संस्कृतिमा आधारित कठोर व्रत नै हो” छोटाले भन्नुभयो “स्वस्थानी पूर्णिमाको दिन नेवारी समुदायका कुमारहरुले भोकै, आवाज बन्द गरेर सडकमा घिस्रेर बाटो नाप्ने कार्य गर्दा विवाह हुने, सुकन्या प्राप्ति हुने जनविश्वास रहिआएको छ ।” नेवारी अगुवाहरुका अनुसार एक महिनाको स्वस्थानी व्रतले कन्यालाई राम्रो हुने र पूर्णिमाको दिन बाटो नाप्ने संस्कृतिले कुमारलाई राम्रो हुने बताउँछन् । शनिबार कालिगण्डकीदेखि बागलुङ बजारको भिमसेन मन्दिरमा पुगेर घर फर्कदा सम्म शरीरले ७५० पटक बाटो नापिएको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *