धौलागिरीमा बक्यौता कर संकलन गर्न विशेष छुट अफर

आदर्श अनलाइन, बागलुङ
आन्तरिक राजश्व कार्यालय बागलुङले बक्यौता राजश्व संकलन गर्नका लागि विशेष छुट सुविधाको घोषणा गरेको छ । कार्यालयले बुधवार पत्रकार महासंघ भवनमा आयोजना गरेको पत्रकारसँगको अन्र्तक्रिया कार्यक्रममा यसकाबारेमा जानकारी दिइएको छ ।

स्थायी लेखा नम्बर (पान) लिई आय विवरण पेश नगर्ने वार्षिक ५० लाख रुपैयाँ सम्मको कारोबार गर्नेलाई विगत ४ आय वर्षको आय विवरणको आय कर र त्यसमा लाग्ने ब्याजको २५ प्रतिशत मात्र फागुन मसान्त सम्म बुझाएमा त्यसअघिका वर्षको कर, शुल्क तथा बाँकी ब्याज मिनाहा गरिने कर अधिकृत इश्वर जोशीले जानकारी दिनुभयो ।

उहाँका अनुसार विगतमा कर लाग्ने आयआर्जन गरेको तर स्थायी लेखा नम्बर नलिई कर नबुझाएको भए विगत ३ आय वर्षको आयविवरण र सोमा लाग्ने कर यही फागुन मसान्त भित्र बुझाएमा लाग्ने शुल्क तथा ब्याज मिनाहा हुनेछ ।

आर्थिक वर्ष २०७३÷७४ र त्यसअघिका आय विवरण पेश नगर्ने वार्षिक ५० लाख भन्दा बढीको कारोबार गर्ने व्यक्ति वा निकायले आय विवरण र त्यस अनुसारको आयकर, सोमा लाग्ने ब्याजको २५ प्रतिशतले हुने रकममा छुट हुनेछ । यसबाहेक अन्य विषय, क्षेत्र र कारोबारमा पनि विशेष छुट अफर गरिएको छ ।

राज्यले कर करले नभई रहरले तिर्ने बातावरण निर्माणका लागि सरकारले अहिले करमैत्री विशेष सुविधा ल्याएको आन्तरिक राजश्व कार्यालय बागलुङका प्रमुख कर अधिकृत जनकराज शर्माले बताउनुभयो । ‘कर छलीबाट जो कोही पनि भाग्न मिल्दैन र सक्दैन’, उहाँले भन्नुभयो, ‘बरु ढिलाई हुन सक्छ तर राजश्व छल्नेहरु एक न एक दिन करको दायरामा आउनु पर्छ, बरु समयमै अहिलेको जस्तो अफर सुविधा र यसका बारेमा यथेष्ट जानकारी लिएर व्यापार, व्यवसाय र कारोबार गर्दा धेरै लाभ मिल्दछ ।’

उहाँले राज्यलाई तिर्ने भनिएको १३ प्रतिशत कर व्यवसायी या अरु कसैले नभई स्वयम् उपभोक्ता या जनताले तिर्ने प्रष्ट पार्नुभयो । ‘अहिले पनि कतिपय मानिस पान, भ्याट भन्न साथ झस्किन्छन्,’ प्रमुख कर अधिकृत शर्माले भन्नुभयो, ‘भ्याटका बारेमा राम्रो सँग बुझ्यो भने बरु फाइदा धेरै छ, भ्याटमा गए अर्को महिनाको २५ दिन सम्म राजश्व जम्मा गर्नुपर्छ, त्यतिका दिनसम्म सरकारको पैसा निब्र्याजै चलाउन पाइन्छ ।’

राजश्व कार्यालयले चालु आर्थिक वर्षमा ४ महिना अगावै ९३ प्रतिशत लक्ष्य हासिल गरेको छ । चालु आवमा ८६ करोड २० लाख राजश्वको लक्ष्य भएकोमा कार्यालयले हाल सम्म ८० करोड ३७ लाख रुपैयाँ संकलन गरेको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *