दोस्रो चरणमा बागलुङमा थप ४० हजारलाई खोप

आदर्श अनलाइन, बागलुङ

नेपालभर यही फागुन २३ गतेदेखि दोस्रो चरणको खोप अभियान शुरु हुने भएको छ । पहिलो चरणमा स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, पत्रकार र कर्मचारीलाई लगाइएको खोप दोस्रो चरणमा ५५ वर्ष माथिका सबै नागरिक, सवारी चालक, सहचालक तथा शिक्षकहरुलाई लगाइने भएको छ ।

बागलुङमा दोस्रो चरणमा करिब ४० हजार खोप लगाउने तयारी भएको स्वास्थ्य कार्यालय बागलुङका प्रमुख सुरज गुरौले जानकारी दिनुभयो । “हामी अहिले जिल्लाभर खोप सञ्चालनका लागि स्वास्थ्यकर्मीको तालिम गराइरहेका छौं” गुरौले भन्नुभयो “बागलुङमा दोस्रो चरणका लागि ३५ देखि ४० हजार खोप आउने अनुमान छ, खोपका विषयमा भ्रम चिर्न सहजीकरण समेत गर्नेछौं ।”

अहिले स्वास्थ्य स्वयंसेविकालाई तालिम दिने कार्य भइरहेको स्वास्थ्य कार्यालय बागलुङले जनाएको छ । पहिलो चरणमा धौलागिरी अस्पताल, गलकोट, बुर्तिवाङ र कुश्मिशेरावाट मात्र कोरोना खोप दिदै आएकोमा अहिले जिल्लाभर ६२ स्थानबाट एकसाथ कोरोना खोप लगाइने स्वास्थ्य कार्यालयको भनाई छ ।

जिल्लाका ५८ वटा स्वास्थ्य चौकी, बुर्तिवाङ, गलकोट र कुश्मिशेरा प्राथमिक स्वास्थ्य केन्द्र र धौलागिरी अस्पतालबाट खोप लगाउने व्यवस्था गरिएको कार्यालय प्रमुख गुरौको भनाई छ । खोप लगाउन तोकिएका व्यक्तिहरु सम्बन्धित स्वास्थ्य चौकी, प्राथमिक स्वास्थ्य केन्द्र तथा अस्पतालमा आउनुपर्ने हुन्छ ।

अहिले स्वास्थ्यकर्मीलाई खोप लगाउने तरिका, खोप केन्द्र व्यवस्थापनको जानकारी सहित तालिम दिइरहेको गुरौको भनाई छ । त्यस लगत्तै वडा स्तरीय खोप समन्वय समिति र पालिका स्तरीय खोप समन्वय समितलाई खोपका विषयमा जानकारी गराई ५५ वर्ष माथिका सबैलाई खोप लगाउने अभियान चलाइइनेछ । खोप लगाइसके पछि त्यसले सामान्य ज्वरो, वान्ता तथा आलस्य गराउने भन्दै यसको नकरात्मक भ्रम नछर्न स्वास्थ्यकर्मीहरुले आग्रह गरेका छन् ।

बागलुङमा पहिलो चरणमा स्वास्थ्यकर्मी, सफाई कर्मचारी, पत्रकार, जनप्रतिनिधि, सुरक्षाकर्मी तथा कर्मचारीलाई गरी जम्मा चार हजार ३ सय ६ जनालाई कोरोना खोप लगाइएको छ । पहिलो चरणमा स्वास्थ्यकर्मी र सफाई कर्मचारी १ हजार ७ सय २९ र कर्मचारी, पत्रकार, जनप्रतिनिधि लगायत २ हजार ५ सय ७७ जनालाई खोप लगाइएको थियो ।

जेष्ठ नागरिक तथा ५५ वर्ष माथिकालाई नजिकको खोप केन्द्रमा अनिवार्य रुपमा उपस्थित भई खोप लगाउन आग्रह गरेको छ । अशक्तलाई भने स्वास्थ्यकर्मीले घरमै गएर खोप लगाउने कार्यक्रम छ । दोस्रो चरणको अभियान चैत्र १५ गते सम्म सञ्चालन हुनेछ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *