बरेङका सबै बस्तीमा बाटो, बरेङ बजारमा कालोपत्रे

डम्मर बुढा मगर, बागलुङ
बरेङ गाउँपालिका वडा नम्बर–५ की नन्दी बिक ७३ वर्ष हुनुभयो । उहाँले ५ वर्ष अगाडि सम्म मोटर गाडी देख्नु नै भएको थिएन । तर, अहिले उहाँको घर नजिकै गाडी गुड्दा दंग हुनुहुन्छ ।

स्थानीय सरकार आइसके पछि गाउँहरु सडक सञ्जालले जोडिएका छन् । गाउँमा मोटर पुगे पछि नन्दी बिक जस्ता धेरै वृद्धवृद्धा दंग भएका छन् । ‘गाउँमा यसरी मोटर आउँला भनेर मैले त कहिल्यै सोचेको पनि थिएन, देखेको पनि थिएन’ बिक भन्नुहुन्छ ‘गाडीले त अहिले धेरै सुविधा भएको छ, नुन तेल पहिले शहर बजारको दोकानबाट किनेर ल्याउनु पथ्र्यो, अहिले त गाउँमै आउँछ, धेरै सजिलो भएको छ, निकै खुसी लागेको छ, हाम्रै पालामा गाउँमै गाडी देख्न पाइयो ।’

उहाँले नुन, चामल, तेल लगायतका सामान किन्नका लागि घण्टौँ लगाएर नयाँ बजार, शान्तिपुर जाने गरेको अनुभव सुनाउँदै अहिले गाउँमा मोटरबाटो आउन थाले पछि बजार झर्न नपरेको बताउनुभयो । ‘पहिला त ३/४ घण्टाको उकालोमा चामल, नुन बोकेर खाइन्थ्यो, हप्ता महिना दिनमा नयाँ बजार, शान्तिपूर गइराख्नु पथ्र्र्यो, नुन, भुटुन लिनै पथ्र्यो, अहिले त धेरै भयो बजार तिर झर्न पनि पाएको छैन,’ उहाँले भन्नुभयो ‘सबै थोक गाउँमा छ, बजार झर्ने काम नै पर्दैन, अहिले त गाउँनै बजार बन्न थाल्यो, यस्तो रमाइलो भयो अहिले त गाउँ पनि ।’

बरेङ गाउँपालिकाले स्थानीय सरकार बने पछि सबै बस्तीमा मोटर बाटो पु¥याएको छ । गाउँपालिकाका ५ वटै वडाका गाउँ टोलका बस्तीमा मोटरबाटो पुगेको हो । अनकन्टार लाग्ने पाखा पखेरामा पनि मोटर गुडेको देख्न पाइन्छ । गाउँपालिकाको केन्द्र हुग्दिशिर भन्दा टाढा रहेको वडा नम्बर–५ को सुखौरा हो । सुखौरामा पनि मोटरबाटोले जोडिए पछि गाउँपालिका केन्द्र आवत–जावत गर्न धेरै समस्या नभएको स्थानीय बताउँछन् ।

बरेङ गाउँपालिकाको वडा नम्बर १ र २ मा पर्ने बरेङ बजारमा करिब १२ सय मिटर गाउँपालिकाले आफ्नै बजेटमा कालोपत्रे गरेको छ भने अन्य गाउँ टोलका सडक सवारी साधन चल्ने अवस्थाका छन् ।

गाउँपालिकाको केन्द्रबाट टाढा रहेको वडा सुखौराबाट केन्द्रमा आउन नयाँ बजार तिरको सडकबाट २ घण्टा लाग्छ भने गुल्मीको शान्तिपुरबाट पौने ४ घण्टा लाग्ने गर्छ । अन्य वडाबाट १ घण्टामै गाउँपालिकाको केन्द्रमा पुग्न सकिन्छ ।

गाउँपालिकाले सबै वडाका बस्तीमा मोटरबाटो पु¥याएको र निर्माण भएका सबै सडकलाई बिस्तारै स्तरोन्नति गरिने गाउँपालिकाका अध्यक्ष कृष्णप्रसाद शर्माले बताउनुभयो । आफूहरु निर्वाचित भएर आए पछि सबै वडा कार्यालय र बस्तीमा सडक सञ्जाल पु¥याएको उहाँको भनाई छ । केही घरहरुका नागरिक १५/१५ मिनेटको पैदल यात्रा पछि गाडीमा सवार गर्न सक्ने बताउनुहुन्छ ।

‘हामी आउनु भन्दा पहिला केही ठाउँमा मोटरबाटो निर्माण भएको थियो, अहिले सबै ठाउँमा मोटरबाटो पुगेको छ, ती सडकलाई बिस्तारै स्तरोन्नती गर्ने योजनामा छौँ,’ अध्यक्ष शर्माले भन्नुभयो ‘पाँच वटै वडाको बस्ती–बस्तीमा मोटरबाटो पुगेको छ, केही घरमा अझै पुग्न सकेको छैन । तर,उहाँहरु पनि १५/२० मिनेट यात्रा गरे पछि उहाँहरुले पनि सवारी साधनको प्रयोग गर्न सक्ने अवस्था छ, त्यसलाई पनि हामीले ध्यानमा राखेर जोड्ने प्रयास गरेका छौँ ।’

सडकलाई थप व्यवस्थित र केही नयाँ ट्रयाक खोल्न चालु आर्थिक वर्षमा २ करोड १२ लाख ८८ हजार रुपैयाँ विनियोजन गरेको गाउँपालिकाका योजना तथा प्रशासन शाखाका प्रमुख रामचन्द्र शर्माले जानकारी दिनुभयो । यस वर्ष स्तरोन्नतिका लागि १ करोड ३५ लाख, नयाँ ट्रयाक खोल्न ७२ लाख ८८ हजार र नाली निर्माण तथा व्यवस्थापनका लागि ५ लाख रुपैयाँ विनियोजन भएको उहाँको भनाई छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *