तातोपानी कुण्ड डुब्न दैनिक ६ सय मानिस

साधना पन्त, बागलुङ
कोरोना महामारीका कारण बन्द भएको तातोपानी कुण्डमा अहिले मानिसहरुको घुइँचो लागेको छ । म्याग्दीको बेनी नगरपालिका–४ मा रहेको प्राकृतिक उपचार स्थल तातोपानी कुण्ड २०७६ साल चैतको पहिलो हप्ता देखि बन्द रहेकोमा गत माघ १ गतेदेखि मात्रै खुल्ला गरिएको थियो ।

कोरोना भयावहले गर्दा १० महिना बन्द रहेको तातोपानी कुण्डमा अहिले बिरामीको घुइँचो छ । छाला सम्वन्धी रोग, नशा, यूरिक एसिड, बाथ, हात खुट्टा सर्के मर्केको, चिसोको रोग तातोपानीमा डुब्दा निको हुने जनविश्वास छ । यही विश्वासका कारण बिभिन्न जिल्लाका साथै विदेशबाट समेत मानिसहरु उपचारका लागि आउने गरेका छन् । यस स्थानमा बिरे नुन र गन्धक (सल्फर) तत्व सहितको ४५ देखि ५७ डिग्री सेल्सियस तातोपानी निस्कने मुहान छन् ।

तातोपानीका बारेमा धेरै सुने पछि बिरामी भइराख्ने भएकाले आउने गरेको र धेरै हद सम्म राहत मिल्ने गरेको रुपन्देहीको तिलोत्तमा नगरपालिकाका ६४ वर्षीय दुर्गाबहादुर अधिकारी बताउनु हुन्छ । ‘बुढेसकालमा धेरै रोग लाग्ने रहेछ । सामान्य रोग त औषधी खाएर निको हुने तर दीर्घकालिन रोगले ग्रस्त भए पछि धेरै दुःख पाइने रहेछ,’ उहाँले भन्नुभयो, ‘तातोपानीले निको पार्ने सुनेका कारण बुढाबुढी भएर वर्षेनी तातोपानी आउने गरेका छौ ।’ ढाड दुख्ने, ग्यास्टिक र ब्लड प्रेसरले ग्रस्त हुनुभएका अधिकारीले धेरै औषधी उपचार गरेर ठीक नभएको स्वास्थ्य तातोपानी डुबे पछि एक वर्षका लागि भए पनि केही आनन्द महुशुस हुने बताउनुभयो ।

अहिले सम्म ५ पटक तातोपानीमा डुब्न आएको उहाँको भनाई छ । तर, यस पटक धेरै भिड देखिएको अधिकारीले बताउनुभयो । ‘पाँच हजार तिरेर तातोपानी कुण्डमा आजीवन सदस्य भएको छु । यहाँ आजीवन सदस्यले डुबेको पैसा तिर्नु पर्दैन, आउने जाने गाडी भाँडा र बस्ने खानेको मात्र तिरे पुग्दछ,’ उहाँले भन्नुभयो, ‘अहिले यहाँ धेरै महङ्गी भएको रहेछ, हुने खानेले त जति पनि तिरेर बस्लान् तर उपचार होला भनेर आएका दुखी गरिबलाई यहाँ आउँदा, जाँदा र बस्दा धेरै पैसा खर्च गर्नुपर्ने अधिकारीको गुनासो छ ।

७९ वर्षकी मनकुमारी थापाले पनि अहिले सम्म ५ पटक तातोपानी कुण्डमा डुब्न आएको अनुभव सुनाउनुभयो । ‘बुढेसकाल लाग्यो, चिसोले हात खुट्टा दुख्ने समस्याले हरेक वर्ष तातोपानी डुब्न आउँछु । तातोपानीमा डुबेर फर्किए पछि रोग धेरै निको भएको पनि छ,’ काठमाडौंबाट बुहारीसंग तातोपानी आउनुभएकी मनकुमारीले भन्नुभयो, ‘यो पाली धेरै भिड भएर तातोपानी जस्तो नरहेको महुशुस गरे, पहिले–पहिले तातोपानी आउँदा माथी बाटोमै नुनिलो बास्ना जान्थ्यो । तर, अहिले त तातोपानीमा डुबेर बस्दा पनि त्यति नुनिलो फरक अनुभव भएन, मानिस धेरै भएर होला ।’ अहिले तातोपानी कुण्डमा धेरै भिड भए पनि तातोपानीले हामी जस्ता चिसोका रोगीलाई राम्रो गरेको उहाँको भनाई छ ।

बागलुङ काठेखोला गाउँपालिका बिहुकी ५६ वर्षकी दिमा सापकोटाले श्रीमान, छोरालाई लिएर आएको यो सातौ पटक भएको बताउनुभयो । ‘ग्यास्ट्रिक, ढाड दुख्ने, खुट्टा झमझम पार्ने भएर उपचारका लागी आएको । पहिला राम्रो संग डुब्न पाईन्थ्यो तर यसपाली पालो पाउनै गाह्रो, धेरै मानिस भएर पानी चिसो भएर तातोपानी डुबे जस्तो महुशुस भएन,’ उहाँले भन्नुभयो ।

कोरोनाले गर्दा अघिल्लो वर्ष आउन नपाएको धेरैको गुनासो थियो । तातोपानी कुण्ड खुल्यो भन्ने समाचारमा सुनेर आएको धेरै भिड भएर झन बिरामी हुने डर भएको उहाँको भनाई छ । अहिले मानिस धेरै भएर होटल पाउनै गाह्रो, नुहाउने, पिउने पानीमा पनि लाइन लाग्नुपर्ने बाध्यता छ ।
कोरोना महामारीले १० महिना सम्म बन्द गरेको तातोपानी कुण्ड खोलेपछि अहिले मानिसहरुको चाप बढेको तातोपानी कुण्ड व्यवस्थापन समितिका अध्यक्ष विरेन्द्रमान शाक्य बताउनु हुन्छ । तातोपानी कुण्डमा डुब्नका लागी दैनिक २ सय भन्दा बढी मानिस आएका छन् । सबै गरेर दैनिक ६ सय जनाले तातोपानी कुण्डमा डुब्ने गरेको उहाँले जानकारी दिनुभयो । तातोपानी कुण्डमा ७ जना कर्मचारीले दैनिक ६ सय मानिसको व्यवस्थापन र सेवा दिएका छन् । व्यवस्थापन समिति पनि अहिले कुण्डमा धेरै भिड भएका कारणले दिनभर कुण्डमै काम गरेर बस्ने गरेको शाक्यको भनाई छ ।

तातोपानी कुण्डमा धेरै महिलाहरु डुब्न आउने गरेका छन् । देश विदेशबाट धेरै मानिसहरु तातोपानीमा डुब्नकै लागी भनेर आएको पाइन्छ । तर, अहिले कोरोनाले गर्दा विदेशी पर्यटक भने आएका छैनन् । तातोपानीमा डुब्नका लागी सबै भन्दा धेरै बागलुङबाट मानिसहरु आउने गरेको शाक्य बताउनु हुन्छ । अहिले तातोपानी कुण्डको बारेमा प्रचार प्रसार धेरै भएर ताप्लेजुङ, रामेछाप, हुम्ला, जुम्ला, काडमाण्डौ, चितवन लगायतका स्थानबाट तातोपानी डुब्न आइरहेका छन् ।

पहिले–पहिले तातोपानीमा डुब्न आउने मानिसहरु ओडारमा बास बस्ने र तातोपानी डुब्ने गर्दथे । तर, अहिले समय परिर्वतनसंगै विकास हँुदै गयो । अहिले तातोपानी बजारमा धेरै सुविधा छ ।

तातोपानी कुण्डका लागी यस वर्ष प्रदेश सरकारले ५० लाख रुपैयाँको भवन निर्माण सहित कुण्डमा डुुब्न आउने मानिसहरुलाई फिजियो थेरापी, योगा जस्ता चार किसिमका थेरापी राख्न भनेर बजेट आएको र भवन निमार्ण कार्य पनि लगभग सकिएको शाक्यले जानकारी दिनुभयो । तातोपानी कुण्डले वडा नम्वर ४ मै रहेको सरस्वती माध्यमिक विद्यालयले निमावि र मावि तह संचालन गर्न सरकारबाट स्वीकृत भए पनि शिक्षकको सरकारी दरबन्दी नआएको हुनाले १० जना शिक्षकलाई चौमासिक हिसाबले साढे ८ लाख भन्दा बढी कुण्डको आम्दानीले तलब दिएको शाक्यले बताउनुभयो ।

गत आर्थिक वर्षमा बिरामीको प्रवेश शुल्क र चन्दा सहयोग गरेर समितिलाई कूल एक करोड २१ लाख आम्दानी भएको तातोपानी कुण्ड व्यवस्थापन समितिले जनाएको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *