रबिना बोहरा, बागलुङ
चराचुरुङ्गी बीचको आन्तरिक द्वन्द्व तथा चोरी शिकार जस्ता कारणले हिमाली भेगमा पाइने सुन्दर डाँफे चराको संख्या कम हुँदै गएको छ । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु विभागका अनुसार हिमरेखा क्षेत्रमा बस्न रुचाउने लजालु र काँतर स्वभावका डाँफे चरा ढोरपाटन क्षेत्रमा पनि कम भएको छ ।
काग तथा बाजले जिस्काउने र लखेट्दा भाग्ने क्रममा ठोक्किएर मर्ने गरेको बिभागको भनाई छ । हिमाली भेगमा पाइने रङ्गीचङ्गी डाँफे नेपालको राष्ट्रिय चरा हो ।
जाडो याममा लालीगुराँस फुल्ने जंगल तथा गर्मीमा माथिल्लो बुकी क्षेत्रमा समूह बनाइ बस्ने डाँफेलाई काग तथा बाजले लखेट्दा भागेर ढोरपाटनको बेसी झर्ने क्रममा ठोक्किएर घाइते हुने र स्थानीय शिकारी, कुकुरले समेत मार्ने गरेको ढोरपाटन शिकार आरक्ष कार्यालयले जनाएको छ । काग र बाजले लखेट्दा सिकार आरक्ष क्षेत्रमा कयौँ डाँफे घाइते भएको र माथिल्लो क्षेत्रको यकिन तथ्याङ्क निकाल्न सकिएको भने छैन ।
हिमाल, पहाड र तराई तीनै प्रकृतिको भूगोल भएको ढोरपाटनमा डाँफेको बासस्थान रहेको पहाडी भेग र ढोरपाटन उपत्यकाको सीधा दूरी कम भएकाले पनि भाग्ने क्रममा मैदानमा आएर ठोक्किने गरेको आरक्ष कार्यालयले जनाएको छ ।
वर्षायाम पछिको समय र वसन्त तथा ग्रीष्म ऋतुमा समेत सिकारीहरू र भेडागोठालाहरूले पासो थाप्ने र मार्ने गरेकाले नेपालमा यसको संख्या कम हुदैँ गएको हो ।विश्वमा यस चराको संख्या कति होला भनेर अनुमान गरिएको छैन तर नेपालमा यसको संख्या ३ हजार ५ सय देखि ५ हजारसम्म भएको अनुमान राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु विभागले गरेको छ ।
चराविज्ञ टिका गिरीले डाँफेको स्वभावनै केही देख्यो भने लुकी हाल्ने, कसैले जिस्कायो भने डराइहाल्ने भएकाले यस्तो समस्या जंगलमा भइरहने बताउनुभयो । ‘एउटै जंगलमा काग, बाज जस्ता अरुलाई देखि नसहने पंक्षी र डाँफे जस्ता अरुलाई देखे लजाइहाल्ने, भागीहाल्ने पंक्षी हुँदा यस्तो समस्या आइरहन्छ, काग तथा बाजको लखेटाइले मात्र डाँफे घाइते नहुने भएकाले ढोरपाटनको भौगोलिक अवस्था अनुसार उच्च पहाडबाट बेग हानेर आएको डाँफेलाई स्थानीय कुकुरहरुले समातेर मार्ने समस्यालाई निराकण गर्न आवश्यक छ ।’ गिरीले भन्नुभयो ।
चराचुरुङ्गी पनि कहिले मिलेर बस्ने, कहिले झगडा गर्ने गरेकाले उनीहरुलाई उनीहरुको स्वभाव अनुसार बस्ने व्यवस्थापन गर्न आवश्यक रहेको बताउनुभयो । ‘उच्च पहाडी भेगमा बस्ने भएकाले डाँफे हेर्न धेरै पर्यटकहरु लालायित हुन्छन्, उच्च भागबाट उडेर आउने डाँफेलाई ढोरपाटन उपत्यका क्षेत्रमै सहज रुपमा बस्ने वातावरण बनाउँन सक्ने हो भने पर्यटकलाई थप आकर्षित गर्न सकिन्छ, त्यसका लागि ढोरपाटन उपत्यका झर्ने डाँफे कुकुरको शिकार बन्नु हुँदैन ।’ गिरीले भन्नुभयो ।
७० सेन्टि मिटर सम्म लामो डाँफेको भालेको वजन २ हजार ३ सय ८० ग्राम तथा पोथीको वजन २ हजार १ सय ५० ग्रामसम्म हुन्छ । डाँफे नेपाल लगायत भारत, बर्मा, तिब्बत तथा अफगानिस्तानका उच्च पहाडी तथा हिमाली क्षेत्रमा पाइन्छ । ढोरपाटन नगरपालिकाका स्थानीय पानबहादुर बिकले पहिले भन्दा डाँफे कम देखिन थालेको बताउँछन् ।
यसको प्वाँख विभिन्न धार्मिक परम्परामा अत्यन्त महत्वका साथ प्रयोग हुने गरेको छ । डाँफेको स्वभाव नै कोही देख्यो भने लुकी हाल्ने, कसैले जिस्कायो भने डराइ हाल्ने भएकाले स्वभाव अनुसारको बासस्थान र संरक्षणका लागि पहल र व्यवस्था गर्नुपर्ने आवश्यकता रहेको चरा विज्ञले बताएका छन् ।