बागलुङ नगरलाई विश्व बैंकको ६० करोड अनुदान


-नगर विकासमा छलाङ मार्ने अपेक्षा

आदर्श अनलाइन, बागलुङ

बागलुङ नगरपालिकाले चार वर्ष यता ठूला भौतिक पूर्वाधारमा महत्वकांक्षी योजना ल्याउदै आएको छ ।
नगरपालिकाले आफ्नै बजेट, साझेदारी, समपुरक तथा अनुदानमा आएको बजेटले ठूला पूर्वाधारमा करोडौ लगानी गरिसकेको छ ।

बागलुङ नगरपालिकाले चार वर्षमा ल्याएको महत्वकांक्षी योजना मध्ये विश्वकै लामो दाबी गरेको झोलुङ्गे पुल निर्माण सम्पन्न गरेको छ भने आधुनिक बागलुङ बसपार्क र बलेवा विमानस्थलको कालोपत्रेको काम अन्तिम चरणमा पु¥याएको छ ।

नगरपालिकाले लगानी गरेको र लगानीका लागि पहल गर्दै आएको ठूला योजनामा केही सकारात्मक काम समेत भएको छ । स्थानीयको जीवनस्तर सुधार्ने देखि खानेपानी, सडक, पर्यटन लगायतका क्षेत्रको पूर्वाधार निर्माणमा नगरपालिकाले एक दर्जन बढी करोडौका योजना अगाडि सारेको छ ।

नगर लिफ्ट खानेपानीमा करोड लगानी, बागलुङ बजारको ढल व्यवस्थापनका लागि एक अरबको लागत योजनामा साझेदारी देखि जलकेनि घुम्ती देखि भैरवस्थान पुग्ने ६ किलोमिटर सडक कालोपत्रे गर्ने योजना, पञ्चकोट नजिकै जियोलोजिकल पार्क बनाउने २४ करोडको योजनामा नगरपालिकाले पहल र लगानी गर्दै आएको छ ।

नगरपालिकाले ल्याएको योजना र डिपिआर हेर्दा नगरपालिकाको आफ्नै बजेटले सम्भव देखिन्न । यस्ता ठूला भौतिक पूर्वाधारका योजना कार्यान्वयनमा बजेट समस्या हुने भएकाले नेपाल सरकारलाई विश्व बंैकले दिने ऋण मार्फत आएको ६० करोड रुपैयाँ बागलुङ नगरपालिकाको भौतिक पूर्वाधारमा खर्चिने भएको छ । साना योजना एक्लैले सम्पन्न गर्दै आएको नगरपालिकाले ठूला योजनाका लागि प्रदेश, संघ तथा ऋण अनुदान ल्याउन पहल गर्दै आएकोमा अहिले शहरी शासकीय सुधार कार्यक्रम अन्तर्गत विश्व बैंक मार्फत आएको ऋण मध्ये नेपाल सरकारले बागलुङ नगरको पूर्वाधार निर्माणमा रु.६० करोड रकम अनुदानमा उपलव्ध गराउन सम्झौता भइसकेको बागलुङ नगरपालिकाका नगर प्रमुख जनकाराज पौडेलले जानकारी दिनुभयो ।

नगरको विकासका लागि ठूला योजना ल्याए पनि बजेट अभावले केही योजना अगाडि बढ्न सकेका थिएनन् । विश्व बैंकले शहरी विकास मन्त्रालय अन्तर्गतको शहरी शासकीय क्षमता तथा पूर्वाधार सुधार आयोजना मार्फत झण्डै ६० करोड रुपैयाँ लगानी गर्न सम्झौता गरेपछि नगरपालिकामा पूर्वाधार विकासले छलाङ मार्ने अपेक्षा समेत गरिएको छ ।

“नगरको विकासमा ठूला पूर्वाधार हाम्रो पहिलो प्राथमिकता निर्वाचित भए देखि नै थियो, केही ठूला योजना सम्पन्न भइसके भने केही निर्माणको चरणमा छन्” नगर प्रमुख पौडेलले भन्नुभयो “ठूला योजनामा नगरको सबै बजेट खर्च गर्दा साना योजना ओझेलमा पर्ने समस्या थियो, ६० करोड अनुदान आउने भएपछि ठूला योजनाले गति लिनेछन्, केही वर्षमै हाम्रो मिसन अनुसार विकासले परिणाम ल्याउनेछ ।”

नगर प्रमुख पौडेलका अनुसार अनुदान मार्फत आएको रकम सडक, भवन, खानेपानी, सिचाई तथा पर्यटन पूर्वाधारमा मात्रै खर्च गर्न मिल्नेछ । सम्झौता भएको रकम नगरको पूर्वाधार विकासमा खर्च गर्न लागि परेर लाग्ने पौडेलले बताउनुभयो ।

पाँच वर्ष भित्र सक्ने गरी पूर्वाधारमा ७० प्रतिशत र सूशासनमा ३० प्रतिशतमा खर्च गर्नु पर्ने शर्त रहेको बागलुङ नगरपालिका इञ्जिनियर मनोज शर्माले जानकारी दिनुभयो । शर्माका अनुसार अब योजनाको डिजाइन र सुपरभिजन प्राथमिकरणका आधारमा छनौट गरेर विश्व बंैकलाई जानकारी दिए पछि निर्माणको काम शुरु हुनेछ ।

पाँच वर्ष पहिला उक्त अनुदान नगरपालिकालाई नेपालमा पाँच नगपालिका भित्र राखेर छनौट गरिएको थियो । त्यसबेला कँुडुले, पञ्चकोट कालिमाटी हुँदै नगरको रिङ रोडको अवधारणा शुरु भएको थियो । इन्जिनियर शर्माका अनुसार पहिलोपटक पूर्वाधारमा झण्डै १२ करोड खर्च भएको थियो । पछि उक्त योजनाको सम्झौता भंग भए पछि अधुरै रह्यो । अहिले पुनः ६० करोडको योजना स्वीकृत हुनु सुखद विषय भएको शर्माको भनाई छ ।

अहिले पनि कँुडुले, पञ्चकोट हुँदै कालीमाटी र काभ्रे तितौरेसम्मको सडक स्तरोन्नति पहिलो प्राथमिकतामा पर्ने नगरपालिकाले जनाएको छ । सुशासनमा खर्च हुने बजेट भने महिला, दलित, उपेक्षित बर्गको हित, योजना तर्जुमा, प्रविधिको पुहँच स्थापना गर्नका लागि खर्च गर्नुपर्ने सम्झौतामा उल्लेख छ ।

शुरुमा चालेका अधुरा योजना पुरा गर्दै थप पूर्वाधार निर्माणमा अनुदानले ठूलो सहयोग गर्ने स्थानीय समाजसेवी तथा पूर्व उर्जा राज्यमन्त्री रामजी प्रसाद शर्माले जानकारी दिनुभयो । “पहिला पनि नेपालमै पाँच नगरपालिका भित्र पर्ने नगरपालिका हो” शर्माले भन्नुभयो “बीचमा के भयो, अहिले पुनः सुुरु भएको छ, नगरको विकासमा अनुदानले ठूलो सहयोग पुग्ने स्थानीयले अपेक्षा गरेका छन् ।” नगरपालिकाका अनुसार सम्झौतामा गरिएका शर्त र विश्व बैंकले अनुमति दिएको क्षेत्रमा मात्रै खर्च गर्दा योजना दीर्घकालिन र परिणाममुखी हुने आशा छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *