आदर्श अनलाइन, बागलुङ
नेपालको एकमात्र शिकार आरक्ष ढोरपाटन सिकार आरक्षले स्थानीयको विरोधका कारण मध्यवर्ती क्षेत्र घोषणमा ढिलाई गरेको छ । सिकार आरक्ष फैलिएको बागलुङ, म्याग्दी र पूर्वी रुकुमका ५६ गाउँ वस्ती समेटेर मध्यवर्ती क्षेत्र घोषण गर्ने भएपनि स्थानीयले मध्यवर्तीको विषयमा नबुझ्दा समस्या भइराखेको सिकार आरक्षले जनाएको छ ।
मध्यवर्ती क्षेत्र भन्नाले आरक्षले जनतालाई पारेको प्रभाव र जनताले आरक्षलाई पारेको प्रभाव क्षेत्रलाई मध्यवर्ती क्षेत्र भनिन्छ । मध्यवर्ती क्षेत्र घोषणा भइसकेपछि आरक्षको राजश्वको ५० प्रतिशत स्थानीयको विकास तथा मध्यवर्ती क्षेत्रको संरक्षणमा खर्च गर्नु पर्ने प्रावधान छ । तर जनताले मध्यवर्ती क्षेत्र घोषणा भएमा आफूहरुले वन जंगल तथा खेतीयोग्य जमिनको प्रयोग गर्न नपाइने बुझाई रहेका कारण स्थानीयलाईनै फाइदा पुग्ने मध्यवर्ती क्षेत्र घोषणामा ढिलाई भएको शिकार आरक्षको कार्यालयले जनाएको छ । जनतालाई ध्यवर्ती क्षेत्रका विषयमा जानकारी नहुँदा कार्यान्वयनमा समस्या भएको ढोरपाटन शिकार आरक्षका प्रमुख संरक्षण अधिकृत विरेन्द्र प्रसाद कंडेलले जानकारी दिनुभयो ।
“आरक्षले मध्यवर्ती क्षेत्र घोषणा गरेपछि हामीलाई उठाउछ, चरिचरण बन्द गर्छ वा घाँस दाउरा गर्न दिदैन भन्ने भ्रम रहेछ” प्रमुख संरक्षण अधिकृत कंडेलले भन्नुभयो “मध्यवर्ती क्षेत्रका जनताको विकास र यस क्षेत्रबाट उठ्ने राजश्वलाई गाउँकै विकासमा लगाउन मध्यवर्ती क्षेत्र निकै राम्रो छ, अवका जनताले यस विषयमा बुझ्न ढिलाई नहोस भन्ने छ ।” कंडेलका अनुसार मध्यवर्ती क्षेत्र घोषणा भएका नेपालका अन्य क्षेत्रको अवस्थाको विकासबारे समेत यहाँका स्थानीयले बुझ्नु पर्ने बताउनुभयो ।
मध्यवर्ती षेत्र घोषणा नभएको ढोरपाटन सिकार आरक्ष मात्रै हो । नेपालका १३ वटा राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण क्षेत्रमा मध्यवर्ती क्षेत्र घोषणा भइसकेपनि ढोरपाटन सिकार आरक्षले भने स्थानीयको विरोधका कारण मध्यवर्ती क्षेत्र घोषणा गर्न सकेको छैन ।
२०५२ सालमा मध्यवर्ती क्षेत्र व्यवस्थापन नियमावली आएलगत्तै घोषण गर्नू पर्ने काम अहिले सम्म नभएको आरक्षको भनाई रहेको छ । त्यसपछि मध्यवर्ती क्षेत्र निर्देशिका २०५६ आएपनि ढोरपाटनमा विभिन्न कारणले गर्दा मध्यवर्ती क्षेत्र घोषणामा २५ वर्ष ढिलाई भएको छ । मध्यवर्ती क्षेत्र घोषणमा स्थानीयको विरोध रहदै आएको छ । मध्यवर्ती क्षेत्र घोषणा गर्नुपूर्व जनता संगको समन्वय र सिमाना विवाद टुङ्गाउनुपर्ने स्थानीय चक बहादुर अदैले जानकारी दिनुभयो ।
“आरक्षले हामीले प्रयोग गर्ने जंगल, चरिचरण तथा ढुङ्गा गिटी बालुवा निकाल्ने क्षेत्र देखाएर मात्रै मध्यवर्ती क्षेत्र घोषणा गरोस भन्ने हो” अदैले भन्नुभयो “जबरजस्ती मध्यवर्ती क्षत्रे घोषण गर्न भन्दा नागरिक संग सल्लाह सुझाव लिएर मात्रै घोषणा गरियोस भन्ने स्थानीयको चाहना हो ।”
प्रस्तावित मध्यवर्ती क्षेत्रमा बागलुङ जिल्लाको ढोरपाटन नगरपालिका, निसिखोला गाउँपालिका र तमानखोला गाउँपालिकाका २८ गाउँ वस्ती, रुकुम पूर्वका पुथा उत्तरगंगा गाउँपालिका २२ गाउँवस्ती र म्याग्दी जिल्लाको धौलागिरी गाउँपालिको ६ गाउँवस्ती समावेश गरिएको आरक्षले जनाएको छ ।
ढोरपाटन शिकार आरक्षको अहिले १८५ हेक्टर जमिन स्थानीयले अतिक्रमण गरेर उपभोग समेत गर्दै आएका छन् । स्थानीयले भने अन्य संरक्षण तथा आरक्षण क्षेत्र भन्दा ढोरपाटन शिकार आरक्ष भौगोलिक तथा वातावरणीय हिसावले निकै फरक भएका कारण समस्या भएको स्थानीय भद्रमणी सुनारलले जानकारी दिनुभयो ।
‘स्थानीय जनताहरुलाई नियमित रुपले वन पैदावार उपभोग गर्न पाउने सहुलियत प्रदान गर्नको लागि राष्ट्रिय निकुञ्ज वा आरक्ष वरिपरीको दफा ३ क बमोजिम तोकिएको क्षेत्र’ मध्यवर्ती क्षेत्रको परिभाषामा उल्लेख गरिएको छ ।
मध्यवर्ती क्षेत्र घोषणा गरेपछि जनताको विकास, वन संरक्षण तथा सामाजिक क्रिर्याकलाप लगायत पाँच क्षेत्रमा राजश्वको आम्दानी ५० प्रतिशत लगानी गर्नुपर्ने बताइएको छ । मध्यवर्ती क्षत्रेमा वन्यजन्तु, वन जंगल,जैविक विविधता, प्राकृतिक वातावरण तथा प्राकृतिक स्रोत र विकास निर्माण कार्यहरु गर्न सकिने छ ।
मध्यवर्ती क्षेत्रमा स्थानीयबाटै उपभोक्ता समिति गठन गरी काम अगाडी बढाइने हुँदा जनताले उपभोग गर्न नपाउने भन्ने कुरा भ्रम रहेको आरक्ष कार्यालय बागलुङले जनाएको छ ।
कर्मचारीको मात्रै भरमा रहेको आरक्षमा २०७३ सालमा नेपाली राखिएको छ । बागलुङ, पूर्वी रुकुम तथा म्याग्दी गरी तीन जिल्ला समेटिएको आरक्ष भित्रका सात ब्लक मध्ये आरक्ष कार्यालय ढोरपाटन, देउराली तथा निशेलढोरमा मात्रै सुरक्षा तैनाथ गरिएको छ । बागलुङ, म्याग्दी र पूर्वी रुकुम जिल्ला गरी कुल १ हजार ३ सय २५ वर्गकिलोमिटर क्षेत्रफलमा फैलिएको छ ।