नगरपालिका गिज्याउने बागलुङ बजारका खाल्डाखुल्डी


आदर्श अनलाइन, बागलुङ
बागलुङ नगरपालिकाको भित्री सडकको रुपमा रहेको गोदाम चोक हुँदै कृषि विकास बंैक देखि अदालत रोड सम्मको सडकमा सोमबार राति गुडिरहेको मोटरसाइकल सडकको नालीमा खस्यो ।
कृषि विकास बैंक अगाडिको घुम्तीमा नालीको स्लेप भत्किएको दुई वर्ष बित्न लाग्यो ।

नगरपालिकाले स्थानीय र यात्रुको गुनासो पछि केही महिना अघि स्लेप बनायो पनि । तर त्यो अझै सम्म व्यवस्थित गरेर नहाल्दा रातको समयमा दुर्घटनाको जोखिम छ । नगरपालिकाले मुख्य सडकका रुपमा रहेको समिक्षालय चोक देखि जीप पार्क चोक सम्म चिल्लो सडक बनाए पनि भित्री सडकको दुरावस्था छ । खाल्डाखुल्डी र स्लेप बिनाको सडकले नगरपालिकालाई गिज्याइरहेको छ । स्लेपको मात्रै हैन, भित्री सडकमा नगरपालिकाले खाल्डाखुल्डी पुर्नका लागि गत वर्ष कच्चा सामाग्री त खसाल्यो तर कालोपत्रे नहुँदा झनै सडक क्षतविक्षत भएको स्थानीय इश्वर मलेपतीले गुनासो गर्नुभयो । “चार वर्ष अघि नगर खानेपानीले पाइप खन्दा भत्काएको सडक कालोपत्रे हुने कुरा त टाढाको कुरा जस्तो भो, त्यही माथी दुई वर्षदेखि बिच सडकमा राखिएको नालीको स्लेप राखिएको छैन” मलेपतिले व्यंग्यात्मक रुपमा भन्नुभयो “नगरपालिकाले ठूला–ठूला विकास गर्न थालेर होला, धराप थापेको सडक मर्मतमा नलागेको, गत वर्ष सडकमा गिट्टी झारेको थियो, सडक मर्मत होला भनेको त अहिले सम्म भएन, विच्छ्याएका गिट्टीहरु तितर वितर भएर झनै समस्या भयो ।”

अहिले रातीको समयमा स्लेप नभएको नालीमा बाइकहरु खस्ने गरेको स्थानीयको भनाई छ । पटक–पटक सडक मर्मतका लागि नगरपालिका, वडा नम्बर २ र ३ मा भने पनि कुनै सुनुवाई नभएको मिलिजुली टोल विकास समितिका अध्यक्ष रुद्र महतले बताउनुभयो । “यो सडक दुई वडाको बिचमा पर्ने भएर समेत होला, कुनै सुनुवाई भएको छैन” महतले भन्नुभयो “दैनिकजसो दुर्घटना हुन्छ, कतिलाई अस्पतालनै लगिन्छ, नगरपालिकाले चार वर्षदेखि सडक मर्मत गर्न नसक्नु लज्जाको विषय बनेको छ ।”

यो चोकको सडक मात्रै होइन, एक दर्जन भित्री सडक चार वर्षदेखि मर्मत भएका छैनन् । गुठी, पेन्सन क्याम्प, बागलुङ एफएम चोक र देउराली चोक, लगायतका जीर्ण सडक मर्मत हुन सकेका छैनन् । नगर खानेपानीले पाइपलाइन खनेको गुठी क्षेत्रमा हाल सम्म सडक मर्मत हुन सकेको छैन । नगर खानेपानीले सडक मर्मत गर्ने रकम नगरपालिकाले सिगाना जाने सडक र उपल्लाचौर जाने सडक कालोपत्रे गरेकाले झनै समस्या पैदा भएको छ । निकै महत्वकांक्षी योजना ल्याउदै आएको नगरपालिकाले धेरै सकारात्मक काम समेत गर्दै आए पनि साना तिना सडक मर्मतमा नगरपालिकाको ध्यान पुग्न सकेको देखिन्न ।

बागलुङ नगरपालिकाका नगर प्रमुख जनकराज पौडेलले आफ्नो कार्यकाल भित्रै नगरका सबै वडामा नगर बस सञ्चालनका लागि स्तरीय सडक बनाउने र अधिकांश वडा कार्यालय सम्म सडक कालोपत्रे गर्ने योजना रहेको बताउदै आउनुभएको छ । जस अन्तर्गत बजार बाहिरका वडा मध्ये ५ र ७ मा कालोपत्रे पु¥याउने कार्य चलिरहेको छ भने वडा नम्बर ६ को कार्यालयमा कालोपत्रे सडक पु¥याइसकेको छ । यस्तै, रायडाँडा बाहेकका वडामा बस सञ्चालन समेत भइरहेका छन् । तर नगरपालिकाको केन्द्र साविक अञ्चल सदरमुकाम भित्रै सडक योजनाहरुको दुर्दशाले पालिका र जनप्रतिनिधिलाई जिस्काइरहेको मात्रै छैन, पटक पटक दुर्घटना भएर नगरवासीलाई झस्काउन समेत थालेको छ ।
नगरपालिकाले खाल्डाखुल्डी पुर्ने अभियान बजेट बिनियोजन सहित चलाइ रहे पनि केही सडकहरु छुटेको बागलुङ नगरपालिकाका वरिष्ठ योजना प्रशासकीय अधिकृत तथा सूचना अधिकारी युक्तप्रसाद सुवेदीले जानकारी दिनुभयो । “नगरमा धेरै विकासले फड्को लिएको छ, तर सडकमा कतै खाल्डाखुल्डी नहुन् भन्ने धारणा हो” सुचना अधिकारी सुवेदीले भन्नुभयो “केही चोक र भित्री सडक मर्मतमा ढिलाई भएको महुशुस गरेका छौं, असार भित्र खाल्डाखुल्डी मुक्त बजार बनाउँछौ, बजेटको प्रबन्ध समेत हुँदैछ ।”

नगरपालिकाका इन्जिनियर मनोज शर्माका अनुसार गोदाम चोक हुँदै कृषि विकास बंैक देखि अदालत रोड सम्मको सडक असार भित्रै मर्मत गरिने बताउनुभयो । यो आर्थिक वर्षमा सडक बोर्डको ९२ लाख सहित बागलुङ नगरपालिको साझेदारीमा एक करोड ४३ लाख रकमले सडक मर्मत गर्ने इन्जिनियर शर्माको भनाई छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *