विश्व क्षयरोग दिवस : बागलुङमा ७७ क्षयरोगी

–आदर्श अनलाइन, बागलुङ

‘संकेत समयको,क्षयरोग अन्त्यको’ भन्ने मूल नाराका बुधबार विश्व क्षयरोग दिवसका अवसरमा बागलुङमा क्षयरोग घट्दै गएको बताइएको छ । मानिस स्वास्थ्य प्रति सजग बन्दै गएका कारण बागलुङमा क्षयरोगी खुल्दै आएको र उपचार भएकाले यसको दर घट्दै गएको स्वास्थ्यकर्मीहरुले बताएका छन् ।

विश्व क्षयरोग दिवसका अवसरमा बागलुङ नगरपालिकाले आयोजना गरेको पत्रकार अन्तरक्रिर्या कार्यक्रममा हाल बागलुङमा जम्मा ७७ जनामात्रै क्षयरोगी रहेको बताइएको छ । क्षयरोगको परिक्षण तथा उपचार भएका कारण क्षयरोग अन्य नागरिकमा कम मात्र सर्न थालेको बागलुङ नगरपालिकाका स्वास्थ्य संयोजक राम प्रसाद खनालले जानकारी दिनुभयो । सरुवा रोग भएपनि उच्च सर्तकता अपनाउदा घट्दै गएको उहाँको भनाई रहेको छ ।

‘अहिले जिल्लामा ७७ र बागलुङ नगरमा जम्मा १७ जना क्षयरोगी रहेका छन्, जसमध्ये जम्मा ३ जना सामान्य उपचारले नहुँने खालका रोगी रहेका छन्’ खनालले भन्नुभयो ‘गत वर्ष करिब ८० जना क्षयरोगी थिए, अहिले ७७ मा झरेको छ ।’ एक जना क्षयरोगीले गाउँमा १५ र शहरमा २५ जनालाई सार्न सक्ने क्षमता हुन्छ तर समयमै क्षयरोगीको उपचार भएमा अरुलाई सार्न नसक्ने भएकाले अहिले जम्मा ७७ क्षयरोगी रहेको जिल्ला स्वास्थ्य कार्यालय बागलुङका प्रमुख सुरज गुरौंले जानकारी दिनुभयो ।

गुरौंका अनुसार प्रत्येक स्वास्थ्य संस्थामा खकारको नमूना संकलनको व्यवस्था र धौलागिरी अस्पताल, कुस्मिशेरा प्राथमिक स्वास्थ्य केन्द्र, गलकोट र बुर्तिवाङ स्वास्थ्य केन्द्रबाट परिक्षणको व्यवस्था गरिएकोले नागरिकलाई सहज भएको छ ।

गुरौले क्षयरोग लागेकाले ६ महिना देखि एक वर्ष सम्म नियमित औषधी सेवन गर्नुपर्ने र औषधी सेवन गरेपछि उक्त रोग अन्यलाई नसर्ने बताउनुभयो । ‘यो सरुवा रोग हो, नेपालमा वार्षिक पाँच देखि सात हजार मानिस यसका कारण मर्ने गरेको तथ्याङ्क रहेको छ’ गुरौले भन्नुभयो ‘तर पछिल्लो समय बागलुङका जोखिम युक्त स्थानमा समेत त्यती धेरै फैलन पाएको छैन, अहिले सबैभन्दा बढी जोखिम भएको बडिगाडमा कन्ट्रयाक्ट ट्रेसिङमार्फत क्षयरोग परिक्षण गरिएको छ ।’

बागलुङमा क्षयरोग लागेको मध्ये ९० प्रतिशत निको हुने दर रहेको स्वास्थ्य कार्यालय बागलुङले जनाएको छ । अहिले बागलुङमा नयाँ क्षयरोगी थप नभएका कारण बालुङमा क्षयरोग घट्दै गएको स्वास्थ्यकर्मीको दावी रहेको छ ।

यसको प्रभावकारी उपचार भएपनि केही मानिसहरु सरकारी स्वास्थ्य क्षेत्रमा नआएर लुकीछिपी औषधी खानेगरेको समेत स्वास्थ्यकर्मीहरुले जनाएका छन् । नेपालमा ४० हजार क्षयरोगका विरामी उपचारबाट बाहिर रहेको अनुमान छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *