बेनी–जोमसोम सडक चार दिन सवारी सञ्चालन बन्द

आदर्श अनलाइन, म्याग्दी 
हिमाली जिल्ला मुस्ताङलाई जोड्ने बेनी–जोमसोम सडकमा शनिबार बिहानदेखि सिधा यातायात सेवा बन्द भएको छ। उत्तरी-दक्षिण जोड्ने राष्ट्रिय गौरवको कालीगण्डकी कोरिडोर अन्तरगत बेनी–जोमसोम–कोरला सडक आयोजनाले म्याग्दी र मुस्ताङको सिमानामा पर्ने काभ्रेभीर र कैकुखोला क्षेत्रमा चार दिन सवारी सञ्चालन बन्द गरेको हो। 

जिल्ला प्रशासन कार्यालय मुस्ताङमा चैत ९ गते प्रजिअ हिरादेवी पौडेलको अध्यक्षतामा बसेको सरोकारवालाहरुको बैठकले चैत १७ गतेसम्म सवारी आवत जावत रोकेर सडक विस्तार र स्तरोन्नितिको काम गर्ने निर्णय गरेको थियो।   

सडक स्तरोन्नति, बेस बगाउने तथा पहिरोका कारण सवारी साधन चल्न नसक्ने र चलाउँदा पनि अत्यन्तै जोखिमयुक्त हुने भएकाले सम्भावित जोखिम र दुर्घटना रोक्न सवारी आवागमन बन्द गर्नु परेको आयोजनाका सूचना अधिकारी आश्विनीकुमार यादवले बताए। 

सडक बन्द हुने स्थान बाहेकका ठाउँमा भने सवारी चल्ने भएका छन्। सवारी साधन परिवर्तन गरेर गन्तब्यमा पुग्ने व्यवस्था मिलाएको यातायात व्यवसायीले बताएका छन्। म्याग्दी र मुस्ताङ खण्डको आन्तरिक यातायात सेवामा भने असर नपर्ने बताइएको छ। बेनी–जोमसोम ७६ किमी सडक ४ प्याकेजमा स्तरोन्नति भइरहेको छ। 

प्याकेज नम्बर २ को काभ्रेभीरमा पुस १९ गते देखि सडक चौडा गर्न शर्मा– गजुरमुखी जेभीले पहाड काट्ने काम गरिरहेको छ। त्यहाँ एक किलोमिटर छ सय मिटर दुरिमा पहाड काट्नु पर्ने जनाइएको छ। 

काभ्रेभीर बेनी–जोमसोम सडकको जोखिमयुक्त सडक पनि हो। निर्माण कम्पनीले नेपाली सेनाको सहयोगमा बिस्फोटक पदार्थको प्रयोग गरी सडक चौडा गर्ने काम गरिरहेको छ। यस्तै सोही खण्डको थासाङ—४ कैकुमा पटक–पटक बाढीले सडक बगाउने र पहिरो जाने हुँदा सडक अवरुद्ध हुने गर्छ। 

करिब रु. ६ अर्ब लागतको राष्ट्रिय गौरवको बेनी–जोमसोम–कोरला सडक आयोजना वि.स. २०७४ बाट निर्माण सुरु भएको हो। ११० किलोमिटर दुरीको जोमसोम–कोरला सडक ग्राभेल गर्ने काम भइरहेको छ। 

कोरिडोरका अनुसार जोमसोम–कोरला सडकको ७ प्याकेजमध्ये ४ प्याकेजको काम निर्माण सकिएको। बेनी–जोमसोम सडकमा ६० प्रतिशत र जोमसोम –कोरला सडकमा ८५ प्रतिशत भौतिक प्रगती भएको छ। 

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *