विकास खर्चमा दोहोरिदै पुरानै नियति : बागलुङमा ३३ प्रतिशत मात्रै विकास खर्च

आदर्श अनलाइन, बागलुङ
बजेट अभावमा कतिपय विकास निर्माण योजना अलपत्र परेको सन्दर्भमा बागलुङमा भने विकास बजेट खर्च निराशाजनक देखिएको छ ।

संघ तथा प्रदेश मार्फत जिल्लामा आएको बजेट आर्थिक वर्षको ९ महिना पुरा बित्न लाग्दा पनि खर्च कम देखिन्छ । संघ र प्रदेश सरकार मार्फत भौतिक पूर्वाधार, सडक, विद्युत, खानेपानी लगायतका शिर्षकमा आएको पूजीगत बजेट खर्चको अवस्था सन्तोषजनक नरहेको पाइएको छ ।

संघ र प्रदेश सरकारको स्थानीय तह संग उचित समन्वय नहुँदा बजेट कार्यान्वयनमा समस्या भएको हो । चालु आर्थिक वर्ष सकिन चार महिना मात्रै बाँकी रहदा बागलुङमा संघ र प्रदेश सरकारको बजेट जम्मा ३३.८४ प्रतिशत मात्रै खर्च भएको कोष तथा लेखा नियन्त्रणको कार्यालयले जनाएको छ । यसले नेपालमा असारे विकासको प्रवृत्तिले फेरि पनि निरन्तरता पाउने संकेत देखिएको छ ।

बागलुङमा आर्थिक वर्ष सकिन अब तीन महिना बाँकी रहँदा संघ सरकार मार्फतको रु. एक अर्ब ५० करोड ९३ लाख ४० हजार बजेटमा जम्मा ५५ करोड ९ लाख ७३ हजार ८३९ खर्च भएको कोष तथा लेखा नियन्त्रणको कार्यालय बागलुङका प्रमुख कोष नियन्त्रक ज्ञानेन्द्र राज ओझाले जानकारी दिनुभयो । संघ मार्फतको बजेट हाल सम्म जम्मा ३६.५० प्रतिशत खर्च भएको छ ।

यस्तै प्रदेश सरकारले यस चालु आर्थिक वर्षमा विनियोजन गरेको रु. एक अर्ब ६० करोड ७३ लाख ७१ हजार बजेटमा जम्मा ३१.१९ प्रतिशत बजेट अर्थात ५० करोड १३ लाख ५१ हजार ९४२ रकम खर्च भएको छ ।

संघ सरकारको पछिल्लो ८ महिनामा भने चालु बजेटको ५६ प्रतिशत बजेट खर्च भएको छ भने प्रदेश सरकारको ३१ प्रतिशत बजेट खर्च भएको हो । यसरी सरकारले विनियोजन बजेट अपेक्षाकृत रुपमा विकास निर्माण सहित खर्च हुन नसक्नुमा कोरोना महामारी प्रमुख कारण भएको कोष तथा लेखा नियन्त्रण कार्यालयका प्रमुख कोष नियन्त्रक ओझाको भनाई छ ।

“कतिपय विकास बजेटको भुक्तानी भइनसकेर अलि कम खर्च देखिएको हो, केहीको भने बल्ल पहिलो चरणको भुक्तानी भएको छ” ओझाले भन्नुभयो “विकास बजेट खर्च गत वर्षहरुको तुलनामा बढ्दै गएको छ ।” ओझाका अनुसार संघीय सरकारको आर्थिक वर्ष ७/७७ को ८ महिनामा २२ प्रतिशत र ७५/७६ मा १७ प्रतिशत विकास बजेट खर्च भएको थियो । अहिले कर्मचारीको तलब भत्ता लगायतमा खर्च हुँदै आएको चालु खर्चको अवस्था राम्रो भए पनि पूजीगत खर्च निराशाजनक अवस्थामा रहेको पाइएको छ ।

प्रदेश सरकारको बजेट आर्थिक वर्ष ७६/७७ को ८ महिनामा १४ प्रतिशत र ७५/७६ मा २५ प्रतिशत विकास बजेट खर्च भएको थियो । कोरोना महामारीको प्रभाव तथा विकास निर्माणमा तीन तहको समन्वय नहुँदा विकास निर्माण खर्च कम भएको पनि कोलेनिकाको भनाई छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *