ग्रामीण सडकले कृषकलाई दिएको खुसी

डम्मर बुढा मगर, बागलुङ
ढोरपाटन नगरपालिका वडा नम्बर ५ नाथुरी गाउँका यमलाल कँडेलले व्यावसायिक तरकारी खेती गर्न थालेको २० वर्ष भयो । उहाँले गाउँमा तरकारी खेती सुरु गर्दा सडक सञ्जालले पश्चिम बागलुङका गाउँहरु सायदै जोडिएका थिए ।

तर, अहिले उहाँको मात्रै होइन, दर्जनौ गाउँ र बस्तीमा सडक पुगेको छ । दिनहुँ घरै अगाडि गाडी कुद्छन् । त्यो देख्दा यमलाल दंग हुनुहुन्छ । सडक नुहँदा आफूले उत्पादन गरेका तरकारी डोकोमा बोकेर बजारसम्म पु¥याउने गर्नु भएका कँडेलले अहिले सरर्र् गाडीमा ओसारपसार गर्नु हुन्छ ।

‘यस्तो पनि दिन आउँदो रैछ, मैले तरकारी खेती गर्दा बाटोघाटो केही थिएन, सानो गोरेटो बाटोमा हिँड्नु पथ्र्यो, त्यही बाटो भएर डोकोमा साग सब्जी बोकेर घण्टौँ लगाएर बुर्तिबाङ पु¥याउँने गर्थे,’ यमलालले भन्नुभयो ‘अहिले त घरमै गाडी आउँछ, गाडीले नै तरकारी लान्छ, गाडीले नै पैसा दिन्छ ।’

उहाँको गाउँमा सडक पुगेको ९ वर्ष पुरा भयो । मोटरबाटो खनेको सुरुवाती दिनहरुमा खासै गाडीहरु सञ्चालन नभए पनि सडक बिस्तार तथा स्तरोन्नती भएपछि दैनिक संचालन भएको उहाँले बताउनुभयो । वर्षातको समयमा भूजीखोलामा पुल नबन्दा डोकोमै बोक्नुपर्ने अवस्था भए पनि करिब ७/८ महिना गाडीमै तरकारी बजार पु¥याउने गरेको कँडेलको भनाई छ ।

‘सडक खुल्दा बित्तिकै त गाडी चलेन, चल्ने कुरा पनि भएन तर पछि–पछि सडक राम्रो बन्दै गयो, गाडीहरु पनि दिनहुँ चल्न थाले, गाउँमा पनि छिमेकीहरुले गाडी किने, अहिे त धेरै सहज हुन थाल्यो,’ कँडेलले भन्नुभयो ‘अहिले त घरमा डोको पनि हराउँदै गए, तरकारी जति गाडीले बोक्छ, मल पनि गाडीले नै बोक्न थालिसके, किन चाहियो डोको ?, उतिबेला धेरै दुःख गरियो तरकारी बेच्न तर अहिले धेरै सुबिस्ता भएको छ ।’

सालझण्डी–ढोरपाटन सडकको बुर्तिबाङ–ढोरपाटन खण्डको अस्तु ओडारबो र साहुथोक नजिकबाट नाथुरी गाउँमा शाखा सडक निर्माण गरिएको छ । यस सडकले यमलाल जस्तो सयौँ कृषकलाई सहजता प्रदान गरेको छ । कृषि सामग्री ओसार पसारसँगै अन्य कार्यमा पनि सहज भएको कँडेल बताउनुहुन्छ ।

‘पहिले–पहिले त टाढा–टाढा जानु पर्दा पनि गाडी पाउन निकै गाह्रो हुन्थ्यो, अहिले गाउँमा बजारबाट कृषिका सामान, मल बिउ लगायतका सामग्रीहरु ल्याउन पनि सहज भएको छ, तल–तल भएको खेतबारीमा मल बोक्न र बारी खन्न जोत्न पनि पनि अहिले ट्याक्टर नै प्रयोग हुन्छ’ कँडेलले भन्नुभयो ।’

पश्चिम बागलुङको ग्रामीण क्षेत्रहरु सडक सञ्जालले जोडिएका छन् । गाउँमा बेसीदेखि लेकसम्म सडक पुगेको छ । गाउँ–गाउँमा सडक पुगेपछि कृषकहरुले उत्पादन गरेको तरकारी तथा फलफूल बजारसम्म पु¥याउन सहज भएको निसीखोला गाउँपालिका वडा नम्बर ५ का कृषक धर्मराज पोखरेलले बताउनुभयो । गाउँमा सडक नआउँदा समयमै बजारसम्म तरकारी पु¥याउन नसक्दा कुहिने बिग्रिने गर्दा कृषकले घाटा बेहोर्नु परेको स्मरण गर्दै अहिले मोटरबाटोले ठूलो राहत मिलेको उहाँको भनाई छ ।

‘मोटरबाटो नहुँदा त हामीले निकै समस्या भोग्यौँ, कहिले तरकारी कुहिएर नष्ट भए, कहिले कुखुरा मरे, त्यसले गर्दा लाखौँको घाटा बेहोर्नु पर्ने अवस्था आयो,’ पोखरेलले भन्नुभयो ‘अहिले त्यो समस्या हटेको छ, ग्राहक पनि गाडी लिएरै बारीमा आउँछन्, त्यसले गर्दा तरकारी कुहिने र कुखुरा मर्ने अण्डा बिग्रीने अवस्था छैन, उत्पादनले बजार पनि राम्रो पाएको छ ।

पोखरेलले तरकारी र फलफूल काँध र पिठ्युँमा बोकेर बजारसम्म पु¥याउने बाध्यता हटेको भन्दै सडकले बजारिया र गाउँलेहरुको मनलाई समेत जोडको बताउनुहुन्छ । उहाँले गाउँमा सडक आए पनि स्तरोन्नती गर्नुे भन्दै त्यसले कृषकसँगै अन्य आम सर्वसाधारण पनि सहज रुपमा यात्रा गर्न सहज हुने बताउनुहुन्छ ।

सडकलाई फराकिलो र ग्राभेलसम्स गर्न सके दुर्घटनाको जोखिम कम हुने र सडक गुणस्तरिय पनि हुने पोखरेलको तर्क छ । गाउँमा बाह्रै महिना गाडी चल्ने र सबै पक्षबाट सहयोग मिले गाउँलाई तरकारीमा आत्मनिर्भर बनाउन सकिने उहाँको दाबी छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *