राष्ट्रिय जनगणनाः नागरिकलाई ८० प्रश्न

आदर्श अनलाइन, बागलुङ

राष्ट्रिय जनगणना–२०७८ को क्रममा गणक र सुपरिवेक्षक दर्जनौ प्रश्न सहित नागरिकको घरदैलोमा पुग्ने भएका छन् ।

‘मेरो गणना, मेरो सहभागिता’ भन्ने नाराका साथ बागलुङमा बुधवार आयोजना गरिएको कार्यक्रममा जनगणनाका लागि नागरिकलाई ८० वटा प्रश्न सोधिने जानकारी दिइएको छ । यसका लागि एकै व्यक्ति वा परिवारमा सुपरीवेक्षकलाई १० मिनेट र गणकलाई करिब ३० मिनेट समय लाग्ने छ ।

अहिलेको जनगणनालाई व्यवहारिक तथा वैज्ञानिक बनाउनका लागि ८० प्रश्न तयार गरिएको जिल्ला जनगणना अधिकारी मुकुन्द शर्माले जानकारी दिनुभयो । जनगणनामा शुरुमा सुपरीवेक्षक घरमै पुगेर २५ प्रश्न सोध्नेछ भने त्यसपछि गणक गएर ५५ प्रश्न सोध्नेछन् ।

जनगणना अधिकारी शर्माका अनुसार सुपरीवेक्षकले घरमूली, जग्गा, कृषि र बैंक खाताको विवरण लगायतका प्रश्नको उत्तर ल्याउने छ भने गणकले व्यक्तिगत खण्ड, पारिवारिक खण्ड र आर्थिक कारोबार खण्डका आधारमा प्रश्न गर्नेछ ।

संघीयता कार्यान्वयन पछि हुन थालेको पहिलो जनगणनाले स्थानीय तह, प्रदेश र संघीय सरकारलाई नीति तथा बजेट निर्माणमा सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

बागलुङमा जनगणना गर्न ४ सय ६ गणक, एक सय सुपरिवेक्षक परिचालन गरिनेछ । जसका लागि एक हजार ८३६ जनाले आवेदन दिएको तथ्यांक कार्यालय बागलुङका प्रमुख जनगणना अधिकारी मुकुन्द प्रसाद शर्माले जानकारी दिनुभयो । “गणक र सुपरिवेक्षक भर्नाको लागि तीन गुणा भन्दा बढी आवेदन आएको छ, प्राविधिक समस्याका कारण ३ सय जनाको आवेदन ड्राफ्टमा गएकाले रद्द भएको छ” शर्माले भन्नुभयो “सम्बन्धित विषय पढेको, स्थानीयलाई प्राथमिकताका साथ छनौट गर्नेछौं, संघीयता पछि हुन लागेको पहिलो जनगणनाले स्थानीय सरकारलाई उक्त तथ्याङ्कले ठूलो सहयोग पु¥याउने छ ।” वि.सं.२०७८ को असार महिना भित्र हुने गणना नेपालको जनगणनाको इतिहासमा ११० वर्षमा गर्न लागिएको १२ औं श्रृंखला भएको कार्यालयले बताएको छ ।

पोखरा गएर बागलुङका १८ जना प्रशिक्षकहरुले गणक र सुपरिवेक्षकलाई तालिम दिनका लागि प्रशिक्षण लिए आएको गणना अधिकारी शर्माको भनाई छ । जनगणनालाई सहज तुल्याउन जिल्ला जनगणना कार्यालयले जिल्लाको चार स्थानमा स्थानीय जनगणना कार्यालय समेत स्थापना गर्ने तयारीमा रहेको जिल्ला जनगणना अधिकारी शर्माको भनाई छ ।

महिलाको सम्पत्ति विवरण आउने
यस पटकको जनगणनामा खाली रहेको घर, गोठको समेत विवरण आउने छ । नेपालमा महिलाको नाममा सम्पत्ति दर्ता र पास गराउने प्रचलन बढ्दै गएको सन्दर्भमा महिलाको नाममा भएको एकल र संयुक्त सम्पत्ति विवरण समेत जनगणनामा समावेश गरिने भएको छ । सरकारलाई नीति तथा कार्यक्रम ल्याउन सहज गराउने गरी बेरोजगार अवस्था, रोजगारी चाहे नचाहेको लगायतका विवरण समेत समावेश गरिने छ ।

भौगोलिक कठिनाइका कारण अनुगमन, सामग्रीको सहजता लगायतलाई ध्यानमा राखेर जिल्लाका १० स्थानीय तह हेर्ने गरी चार स्थानमा स्थानीय जनगणना कार्यालय स्थापना गर्ने तयारीमा कार्यालय रहेको छ । जिल्लाको बरेङ गाउँपालिका र जैमिनी नगरपालिका हेर्ने गरी जैमिनी नगरपालिकामा, काठेखोला गाउँपालिका र बागलुङ नगरपालिका हेर्ने गरी बागलुङ नगरपालिकामा, ताराखोला गाउँपालिका, बडिगाड र गलकोट नगरपालिका हेर्ने गरी गलकोट नगरपालिकामा र तमानखोला गाउँपालिका, निसीखोला गाउँपालिका र ढोरपाटन नगरपालिका हेर्ने गरी ढोरपाटान नगरपालिकामा वैशाख १ गतेदेखि कार्यालय स्थापना गरिनेछ ।

जनगणनाको प्राथमिक तथ्याङ्क गणना सकेको ६ महिनामै आउने छ । अहिले सरकारले महानगरपालिका र उप–महानगरपालिकामा डिजिटल माध्यमबाटै तथ्याङ्क संकलन गर्नेछ भने नगरपालिका र गाउँपालिकामा कागजी फर्म भर्नुपर्ने छ । अहिलेको जनगणनामा जन्म, मृत्यु, बसाई सराईका साथै मातृ मृत्युदरको विषयमा समेत जानकारी लिइने छ ।

गणकद्वारा प्रत्येक घरधुरीमा पुगेर मुख्य प्रश्नावली मार्फत पारिवारिक विवरण तथा व्यक्तिको जन्म, मृत्यु बसाइँ सराइ लगायत विवरण सङ्कलन गरिनेछ । दोस्रो चरण अन्तर्गत नै सबै स्थानीय तहका प्रत्येक वडा कार्यालयबाट वडा स्तरिय सामूदायिक प्रश्नावली मार्फत वडाको आधारभूत स्रोत साधन, पहुँच, क्षमता पूर्वाधार र विपद् सम्बन्धी विवरण सङ्कलन गरिनेछ । घर तथा घरपरिवार सूचिकरण फाराम २०७८ वैशाख २६ देखि जेठ १४ र मुख्य प्रश्नावली २०७८ जेठ २५ देखि असार ८ गतेसम्म विवरण भर्ने व्यवस्था छ ।

२०६८ को जनगणना अनुसार बागलुङ जिल्लाको जनसंख्या २ लाख ६८ हजार ६ सय १३ छ । नमूना जनगणनालाई प्रश्नको विषय, समय तथा गणकको संख्याको आधार मानिएको छ । जनगणनाको मुख्य आधार जन्म, मृत्यु, बसाई सराई छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *