बागलुङका दुई रणनीतिक सडकको शुभारम्भ : दुर्गमलाई सुगम जोड्दै विकासमा फड्को

आदर्श अनलाइन, बागलुङ

देशभर एक साथ निर्माण शुरु भएको १६५ रणनीतिक सडक सञ्जालमध्ये बागलुङका दुई सडक छनौट भएका छन् । एक निर्वाचन क्षेत्र एक रणनीतिक सडक सञ्जाल निर्माण गर्ने नेपाल सरकारको योजना अनुसार बागलुङमा दुई वटा सडक निर्माणको शुभारम्भ भएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले देशभर निर्माण हुने १ सय ६५ वटा सडक सञ्जालको शनिबार शुभारम्भ गरेसंगै बागलुङमा दुई वटा रणनीतिक सडक निर्माणको चरणमा प्रवेश गरेको हो । बागलुङका दुई रणनीतिक सडक शुभारम्भ भई बजेट विनियोजन भइसकेपछि यहाँका स्थानीय उत्साहित भएका छन् ।

बागलुङ जिल्लाको निर्वाचन क्षेत्र नं १ अन्तर्गत अदालत चौपारी – सिगाना चापखर्क –गाजाको दह–बरेङ –शान्तिपुर सडक र निर्वाचन क्षेत्र नं २ अन्तर्गत हरिचौर–मल्म–पाण्डवखानी–रणसिङकिटेनी– भिमगिठे – दर्लिङ हुँदै निसिखोला सडक छनौट भएको छ ।

दुई निर्वाचन क्षेत्र रहेको बागलुङमा छनौट भएका दुई रणनीतिक सडक आयोजनाका लागि रु ४०÷४० करोड बजेट विनियोजन भएको बागलुङ क्षेत्र नम्बर एकका सांसद डा. सुर्य पाठकले जानकारी दिनुभयो ।

सडक छनौट भएर बजेट बिनियोजन भएपछि लामो समय टुक्रे बजेटका कारण सुधार हुँन समस्यामा परेको अदालत चौपारी–सिगाना चापखर्क–गाजाको दह–बरेङ–शान्तिपुर सडक केही वर्षमा कालोपत्रे हुँनेभएपछि यहाँका जनता खुसी भएको बागलुङ नगरपालिका–८ सिगानाका वडा अध्यक्ष राजन जिसीले बताउनुभयोे ।

‘निर्वाचित भएपछि पहिलोपटक यही सडक निर्माण गर्नमा लाग्यौं, जस्का लागि डिपिआर बनाएर पेश गरेका थियौंैं’ वडा अध्यक्ष जिसीले भन्नुभयो ‘हाम्रो वषौ पछिको मेहनत साकार हुँदै गएको छ, बागलुङ नगरपालिका, बरेङ गाउँपालिका र जैमिनी नगरपालिका समेटिएको सबै भन्दा छोटो सडक भएकाले जनतालाई निकै सहज हुँनेछ ।’ जिसीका अनुसार उक्त सडक झण्डै ३३ किलोमिटर लामो हुनेछ ।

यसैगरी बागलुङ क्षेत्र नं २ अन्तर्गत हरिचौर–मल्म–पाण्डवखानी–रणसिङकिटेनी – भिमगिठे–दर्लिङ हुँदै निसिखोला सडक योजना छनौट गरिएको छ । बागलुङको गलकोट नगरपालिका र बडिगाड गाउँपालिका हुँदै निसीखोला गाउँपालिका जोड्न सहज हुने बागलुङ क्षेत्र नम्बर २ का सांसद देवेन्द्र पौडेलले जानकारी दिनुभयो । यो सडक झण्डै ४० किलोमिटर लामो रहेको छ ।

‘बागलुङ जिल्लाको बीच भागमा रहेको गलकोट नगरपालिकालाई बडिगाड हुँदै दुर्गम निसीखोला जोड्ने सडक हो यो’ पौडेलले भन्नुभयो ‘मध्यपहाडी लोकमार्गबाट शुरु भएको उक्त सडक दुर्गमलाई जोड्दै पुन निसीखोलामा गएर लोकमार्गमै मिसिने भएका कारण विकासमा निकै फड्को मार्न सहज हुँनेछ ।’

हरेक निर्वाचन क्षेत्रमा त्यहाँका सांसदले छानेका सडकहरूलाई छनौट गरी सरकारले एकैसाथ उक्त सडकहरुको निर्माण शुभारम्भ गरेको छ । निर्वाचन क्षेत्र रणनीतिक सडक निर्माणसम्बन्धी मापदण्डहरूमा सङ्घीय राजधानीलाई जोड्ने, प्रादेशिक राजधानीलाई जोड्ने, अन्तर्राष्ट्रिय विमानस्थल÷सिमानालाई जोड्ने, दुई निर्वाचन क्षेत्रका प्रमुख स्थलहरूलाई जोड्ने तथा दुई जिल्ला र पालिका जोड्ने विषयका आधारमा सममावेश भएको हो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *