निःशुल्क स्वास्थ्य बीमाले जेष्ठ नागरिकमा खुसीयाली

आदर्श अनलाइन, बागलुङ
बागलुङ नगरपालिका–४ पाखाथरकी ७१ वर्षिया हरिकला सापकोटालले निःशुल्क स्वास्थ्य बीमा दर्ता गराएको दुई वर्ष पुग्यो । सापकोटाले बीमा गराए पछि धौलागिरी अस्पताल बागलुङबाट नियमित ग्याष्ट्रिकको औषधी लिएर सेवन गर्दै आउनुभएको छ ।

उहाँले घरमै आएका दर्ता सहयोगी मार्फत निःशुल्क स्वास्थ्य बीमा गराएपछि निःशुल्क रुपमा अस्पतालबाट सेवा लिइरहेको बताउनुहुन्छ । जेष्ठ नागरिकका लागि सरकारको निःशुल्क बीमाको नीतिले आफू जस्ता जेष्ठ नागरिक खुसी भएको हरिकलाको भनाई छ ।

“अस्पतालमा पुगेपछि कुनै पैसा लाग्दैन, हामी जस्ता नियमित औषधी सेवन गर्ने जेष्ठ नागरिकलाई राम्रो भएको छ” सापकोटाले भन्नुभयो “घरमै बीमा गराउन आए, उनीहरुले दिएको परिचय पत्रका आधारमा अस्पतालमा गएपछि निःशुल्क सेवा पाउँदा हामी हर्षित रहेका छौं ।”

सापकोटा मात्रै हैन, बागलुङ बजारको उपल्लाचौरका भीमबहादुर क्षत्रीले नियमित रुपमा सुगर र प्रेसरको औषधी निःशुल्क रुपमा सेवन गर्दै आउनुभएको छ । उहाँले चार वर्षदेखि बीमा गर्दै आएकोमा पछिल्लो दुई वर्ष यता निःशुल्क बीमा गर्दै आउनुभएको छ । उहाँले पैसा तिरेर गर्दै आएको बीमाले सहज भइरहेको बेला सरकारले पुनः हामी जस्ता जेष्ठ नागरिकलाई बीमा गराएर उपचारमा सहजता प्रदान गरेको क्षत्रीको भनाई छ ।

बागलुङ नगरपालिका–३ गुठीका ७९ वर्षिया चन्द्रकली कार्कीले सुगर, उच्च रक्तचाप लगायतका नियमित औषधी बीमाबाटै निःशुल्क पाउने गर्नुभएको छ । उहाँले अधिकांश औषधी बीमाबाट र बीमा भित्र नपर्ने औषधी नगद तिरेर खरिद गर्दै आउनुभएको छ । “हामी जस्ता दैनिक पाँच÷छ थरीका औषधी खाने बिरामीलाई बीमा कार्यक्रमले ठूलो राहत मिलेको छ” कार्कीले भन्नुभयो “सबैले स्वास्थ्य बीमा गरेर सेवा लिन सके राम्रो हुन्थ्यो, सरकारले बुझाउन सक्नुपर्दछ ।”

हाल बागलुङमा ६५ हजार ७ सय ४० ले स्वास्थ्य बीमा गराएका छन् । बीमा गराउने मध्ये ३० हजार ८ सय ८२ पुरुष र ३४ हजार ८ सय ५८ जना महिला रहेको स्वास्थ्य बीमा बोर्ड बागलुङका दर्ता अधिकारी नारायण शर्माले बताउनुभयो ।

परिवारको हेलामा परेर उपचार नपाएका जेष्ठ नागरिकलाई समेत निःशुल्क स्वास्थ्य बीमाले सहज गराएको र उपचारको पहुँचमा पु¥याउदा जेष्ठ नागरिकहरु खुसी भएको शर्माको भनाई छ । सरकारले ७० वर्ष नाघेका जेष्ठ नागरिकलाई २०७६ वैशाख देखि निःशुल्क स्वास्थ्य बीमा सेवा शुरु गरेको थियो ।

नेपाल सरकारद्वारा लागु गरिएको सामाजिक स्वास्थ्य सुरक्षा कार्यक्रम बागलुङ जिल्लामा वि.सं. २०७३ असारदेखि पाइलट प्रोजेक्टका रुपमा अघि सारिएको थियो ।

कोरोनाका कारण मानिसको स्वास्थ्य प्रतिको चासो समेत बढ्दै गएका कारण स्वास्थ्य बीमामा आबद्ध हुने नागरिकको संख्या बढ्ने स्वास्थ्य बीमा बोर्डको अपेक्षा छ । सरकारले स्वास्थ्यमा सबै नागरिकको समान पहँुच पुगोस् भन्ने हेतुका साथ अगाडि सारेको स्वास्थ्य बीमा कार्यक्रमले जिल्लामा आर्थिक रूपमा विपन्न र गरिब समुदायका बिरामीले औषधी उपचारमा ठूलो राहत महुशुस गर्न थालेका छन् ।

कमै मात्रामा स्वास्थ्य उपचारका लागि बागलुङ जिल्लामा रहेको धौलागिरी अस्पतालमा आउने बिरामीहरु स्वास्थ्य बीमा कार्यक्रम लागु भएपछि उपचारमा आउनेको संख्यामा तेब्बरले बृद्धि भएको धौलागिरी अस्पतालका मेडिकल सुपरीटेण्डेन्ट डा. शैलेन्द्र बि.पोखरेलले बताउनुभयो ।

सामाजिक स्वास्थ्य सुरक्षा कार्यक्रम अन्तर्गत बीमा गर्ने कुनै पनि व्यक्तिले तोकिएको कुनै पनि सरकारी अस्पतालबाट ओपिडी सेवा, इमर्जेन्सी, ल्याब उपचार, सामान्य अप्रेशन लगायतका उपचार प्राप्त गर्न सक्नेछन् । त्यस्तै, सरकारले तोकेको झण्डै ४ सय ८० प्रकारका निःशुल्क औषधी प्राप्त गर्न सक्नेछन् ।

स्वास्थ्य बीमाका लागि बागलुङ जिल्लाका ७० जना दर्ता सहयोगीले घर घरमा पुगेर बीमा दर्ता गर्दै आएका छन् । निःशुल्क बाहेकको हकमा पाँच जना सम्मको परिवारका सदस्यले वार्षिक रु.तीन हजार ५ सय तिर्नुपर्ने र पाँच भन्दा बढी परिवारका सदस्य भएको हकमा प्रति सदस्य रु.७ सयका दरले शुल्क बुझाइ बीमा गरेपछि एक वर्षका लागि बीमा गरेका परिवारका सदस्यले वार्षिक रूपमा एक लाख सम्म उपचार खर्च निःशुल्क हुने व्यवस्था छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *