बागलुङमा कुखुराको मासुको मूल्य अहिलेसम्मकै बढी

आदर्श अनलाइन, बागलुङ
बागलुङमा ब्रोइलर कुखुराको मासुको मूल्य अहिलेसम्मकै उच्च भएको छ । कुखुरा उत्पादन घट्नु, चल्लाको भाउ बढी भएका कारण कुखुराको मासुको मुल्य अहिले सम्मकै उच्च भएको छ । कुखुराका मासुको मुल्यमा अत्याधिक वृद्धि हुँदा उपभोक्ता भने मारमा परेका छन् ।
बागलुङमा चैत्र २१ गतेदेखि लागु हुानेगरी मासुको मुल्यमा हाल सम्मकै उच्च वृद्धि भएको हो ।

जिल्लामा उत्पादन भएका ब्रोइलर कुखुराले बजारको माग धान्न नसक्नु, दाना र चल्लाको मुलयमा वृद्धिका कारण प्रतिकेजी कुखुराको मासुको मुल्य ४८० पुगेको छ । बागलुङमा यस अघि गत वर्ष मात्रै ४६० प्रतिकेजी कुखुराको मासुको कारोवार भएको थियो । कुखुरा आयत नहुँनु, जिल्लामा उत्पादन भएका कुखुराले माग नधान्नु तथा चल र दानाको मुल्य अत्याधिक भएका कारण ब्रोइलर कुखुराको मासुको मुल्य वृद्धि गर्न परेको मासु व्यवसायी संघ बागलुङका अध्यक्ष लाल प्रसाद थापाले बताउनुभयो ।

कुखुरा फार्ममा कुखुराको उत्पादनमा कमी आएका कारण खरीद मूल्य बढेपछि मूल्य बढाउन बाध्य भएको व्यवसायीले बताएका छन् । “कुखुराका माग धान्नै मुस्किल छ, अन्यत्रबाट आयत गर्न ढुवानी खर्च बढी लाग्छ, भनेजती कुखुरा बाहिरबाट समेत आएको छैन” थापाले भन्नुभयो “अहिले दिनप्रतिदिन चल्ला र दानाको मुल्यमा वृद्धि हुँदा बाध्य भएर मुलय वृद्धि गर्न परेको हो, आयतमा कमी हुँदै गएमा कुखुराको मुल्य बढेर अझै ५०० पुग्ने संभावना रहेको छ ।”

कतिपय फ्रेसहाउसहरुले मासुको माग धान्न नसकेर पसल बन्द गर्ने अवस्थामा पुगेका समेत छन् । हरेक कुराको मुल्य वृद्धि भएपछि कुखुराको मासुको मुल्य वृद्धिलाई स्वभाविक मान्नुपर्ने कतिपयको बुझाई रहेको छ । दुई वर्ष अघि सम्म कुखुराको मासुको मुल्य४०० नाघ्न सकेको थिएन । कुखुरा कम उत्पादन भएपछि हालसम्मकै उच्च मूल्यवृद्धि भएको हो ।

कुखुरा पाउनै मुसिकल छ, घरमै गएर खरिद गर्दा समेत जिउँदो कुखुराको प्रतिकेजी ३२० भन्दा बढी मुल्य पर्नेभएकाले समस्यामा परेको कुखुरा व्यवसायी कृष्ण खड्काले बताउनुभयो ।

“८० रुपैयाँमा पाइने चल्लालाई १२५ पर्न थालिसक्यो, दुई हजार २०० पर्ने दानाको मुल्य बढेर त्ीन हजार ३०० पुग्यो” खड्काले भन्नुभयो “ढुवानी र गोदाम भाडा लगायतका सबै कटाउदा विक्रेतालाईनै ४३० सम्म पर्न जान्छ, पसलको भाडा जोड्दा केही नाफा छैन ।”

त्यस्तै खसी÷बोकाको मासुको समेत प्रतिकेजीमा रु ५० वृद्धि भएको छ । रु ९५० प्रतिकेजी खसी÷बोकाको मूल्य चैत्र २१ गते देखि एक हजार पुगेको हो । अन्य मासुको मूल्य यथावत रहे पनि कुखुराको मासुको मूल्य अझै वृद्धि हुने सम्भावना रहेको मासु व्यवसायी सङ्घले जनाएको छ । त्यही ब्रोइलर कुखुराको मूल्य प्रति केजी रु. ४६० रहेको छ । यस्तै २१ गतेदेखि राँगाको फल मासु रु. ४५० प्रतिकेजी, राँगाको हड्डी सहितको मासु रु.४००, भैसीको फल मासु प्रति केजी रु. ४००, भैसीको हड्डी मासु ३५० प्रति केजी, बंगुरको मासु ४६० र माहुर माछाको मुल्य ४०० कायम भएको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *