नयाँ वर्षमा नयाँ घर पाउदै बिहुँ काउलेका दलित समुदाय

आदर्श अनलाइन, बागलुङ

२०७२ सालको नयाँ वर्षदेखि राम्रो संग निदाउन नपाएका बागलुङ जिल्लाको काठेखोला गाउँपालिका–५ काउलेका धनमया दर्जी २०७८ सालको नयाँ वर्षमा नयाँ घरमा प्रवेश गर्दै हुनुहुन्छ । दर्जी संगै १० विस्थापित परिवारले नयाँ वर्षदेखि नयाँ घरमा ढुक्कले सुत्न पाउनेछन् ।

भुकम्पले चर्काएको घरमा जेनतेन बस्दै आएका काउँलेका १० घर परिवार ०७५ असारदेखि पूर्ण रुपमा विस्थापित भएका थिए । “भुकम्पले घरहरु चर्काएको थियो, नयाँ वर्षकै महिनामा घरमा बस्ने अवस्था थिएन, जेनतेन मर्मत सम्भार गरी बस्दै आएका थियौ” अर्का पीडित भविलाल दर्जीले भन्नुभयो “कहिलेकाहीँ त अब नयाँ घर पाउने आशा समेत मार्दै आएका थियौ, अहिले नयाँ घर ठडियो, नयाँ वर्षमा घर छाडेका हामीले नयाँ वर्षको आगमन सँगै सर्न पाउनेछौं ।” भूकम्प र पहिरोका कारण विस्थापित बनेका बिहुँ काउलेका १० दलित समुदायले नयाँ वर्षमा नयाँ घर पाउने भएका छन् ।

भुकम्प गएको ६ वर्षपछि बिहुँ काउँलेका दलित वस्तीका लागि एकीकृत नमूना वस्ती निर्माण अन्तिम चरणमा पुगेको राष्ट्रिय पुर्ननिर्माण प्राधिकरणले जनाएको छ ।

भुकम्प गएको पाँच वर्षपछि गत पुसबाट एकीकृत बस्ती निर्माण शुरु गरेको थियो । २०७२ बैशाख १२ गते गएको विनाशकारी भूकम्पका कारण क्षति पु¥याएको बागलुङ जिल्लाको काठेखोला गाउँपालिका–५ काउलेका १० दलित परिवारलाई त्यसपछि आएको पहिरोका कारण बस्तीनै विस्थापित हुनु परेको थियो । भूकम्पले क्षति पु¥याएर चिरा पारेको उक्त बस्तीमा २०७५ साल असार १२ गतेको भीषण वर्षाले जमिन भासिए पछि स्थानीय १० घरधुरीका बासिन्दा विस्थापित भएका थिए ।

बिुहँकै सापकोटा चोकमा एकीकृत बस्ती ठडिएको छ भने पूर्वाधार निर्माणको काम शुरु हुन थालेको छ । अहिले घरहरुको निर्माण सम्पन्न हुने चरणमा छ । हाल सम्म ८० प्रतिशत भौतिक प्रगति भएको राष्ट्रिय पुर्ननिर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन इकाई बागलुङका प्रमुख रेणुका पाण्डेयले जानकारी दिनुभयो । पाण्डेका अनुसार ढिलै भए पनि काउँलेका स्थानीयले नयाँ वर्ष लगत्तै घर पाउने गरी निर्माणले अन्तिम रुप लिएको बताउनुभयो ।

यद्यपि, एकीकृत बस्तीमा पूर्वाधार निर्माण नभए सम्म हस्तान्तरणको काम भने नहुने पाण्डेयको भनाई छ । २०७५ वैशाखमा भूकम्प पीडितका लागि एकीकृत बस्ती निर्माण गर्नका लागि राष्ट्रिय पुर्ननिर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन इकाईले संयुक्त लालपूर्जा वितरण गरेको थियो । जग्गा खरिदका लागि प्रति पीडित परिवार दुई लाख रकम दिइएको थियो ।

जग्गा खरिदमा प्रति परिवार दुई लाख, एकीकृत बस्ती निर्माण गर्न प्रति परिवार तीन लाख रुपैयाँ र पूर्वाधार निर्माणका लागि प्रति परिवार ४ लाख गरी एकिकृत बस्ती निर्माण सम्पन्न गर्नका लागि प्राधिकरणले जम्मा ९० लाख खर्च गर्ने राष्ट्रिय पुनःनिर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन इकाईका प्रमुख पाण्डेयले जानकारी दिनुभयो । पाण्डेका अनुसार पछिल्लो समय बागलुङमा पुर्ननिर्माण प्राधिकरणले गति लिएको बताउनुभयो ।

भूकम्प पीडितको घर अन्तिम चरणमा पुगेर अब पूर्वाधारको काम शुरु गर्न थालिएको राष्ट्रिय पुर्ननिर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन इकाई (भवन)का इञ्जिनियर बिक्रम सापकोटा बताउनुहुन्छ । “अहिले ८० प्रतिशत भन्दा बढी भौतिक प्रगति यो बस्तीको भएको छ, बस्तीमा पूर्वाधारको काम बल्ल शुरु हुँदैछ तर छिट्टै घर निर्माण भएर आफ्नै घरमा बस्न पाउने छन् ।” सापकोटाले भन्नुभयो “वैशाख महिनभर घर निर्माण सक्ने लक्ष्य छ, हस्तान्तरणको काम भने सबै पूर्वाधार निर्माणपछि मात्रै हुन्छ ।”

विस्थापित परिवारलाई लालपुर्जा बितरण गरेको एक वर्ष पछि घर निर्माण थालिएको थियो । घर निर्माण थालेको पाँच महिनापछि निर्माणले अन्तिम रुप लिन थालेपछि बिस्थापित परिवारमा खुसीयाली छाउन थालेको छ । घर सम्पन्न भइसकेपछि सम्बन्धित परिवारको नाममा लालपूर्जा कित्ताकाट गरिनेछ ।

एकीकृत बस्तीमा घर सँगै सडक, विद्युत, खानेपानी, सार्वजनिक शौचालय, सार्वजनिक भवन लगायतका पूर्वाधार समेत निर्माण गरिनेछ । बस्ती निर्माण स्थलमा सडक नपुगेका कारण निर्माण सामाग्री बोक्न समस्या भएका कारण निर्माणमा समेत ढिलाई भएको थियो । भूकम्पमा चिरा परेको स्थान छोडेर अन्यत्रै स्थानीयको घरमा आश्रय लिएर बसेका १० दलित परिवारले नयाँ वर्षमा नयाँ घर पाउने भएका हुन् ।

जग्गा खरिद गर्न प्रति परिवार २ लाख रुपैयाँ, पूर्वाधार निर्माणका लागि ४ लाख रुपैयाँ तथा नमूना बस्ती निर्माणका लागि ३ लाख गरी प्रति परिवार ९ लाख रुपैयाँ खर्च लाग्ने छ । बस्ती तल र माथिवाट पुष्पलाल मध्यपहाडी लोकमार्ग निर्माण भएको र भूकम्पले जमिन चर्काएको स्थानमा बाढी पसेर बस्ती जोखिममा परेको भूर्गभ विभागको ठहर पश्चात अन्यत्रै एकीकृत बस्ती निर्माण गर्ने सुझाव अनुसार प्राधिकरणले बस्ती निर्माण थालेपछि ढिलोगरी वस्ती निर्माण थालिएको थियो । अहिले पूर्वाधार निर्माणका लागि समेत सम्झौता भएको र अव काम शुरु हुने प्राधिकरणले जनाएको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *