बागलुङका दृष्टिविहिन केसीको सगरमाथा आरोहण अभियान, विश्वको दोस्रो र नेपालको पहिलो कीर्तिमान राख्ने अवसर

आदर्श अनलाइन, बागलुङ
सगरमाथा आरोहणको किर्तिमानी सहज रुपमा सम्भव छैन । सहज हुँदो हो भने सगरमाथा शिखर आरोहणको यतिविधि महत्व पनि हुने थिएन होला ।

निकै कम मानिसले ठूलो साहस र दृढताका साथ सगरमाथा चढेर रेकर्ड कायम गरेको इतिहासका बिच बागलुङका एक दृष्टिविहिन युवा अमिट केसीले पनि सगरमाथा आरोहणको इतिहास रच्ने प्रयास गर्नुभएको छ ।

केसी सगरमाथा आरोहणको अहिले अन्तिम तयारीमा हुनुहुन्छ । केसीको प्रयास सार्थक भए विश्वको दोस्रो र नेपालको पहिलो दृष्टिविहिन सगरमाथा आरोहणको कीर्तिमानी रहनेछ । दृष्टिबिहिन मानिस सगरमाथा चढ्नु अकल्पनीय र असम्भव प्रायः ठान्ने गरिए पनि केसीले केही वर्ष अघिनै सगरमाथा चढ्ने साहसिक निर्णय गरेर पहिलो प्रयास गरिसक्नुभएको छ । बागलुङ जिल्लाको जैमिनी नगरपालिका–४ सर्कुवा अमिट केसी जन्मजात दृष्टि विहिन हुनुहुन्छ । उहाँको सगरमाथा चढ्ने योजना ८ वर्षदेखिको हो ।

सन् २०१७ मा पहिलोपटक सगरमाथाको अन्तिम आधार शिविर ८ हजार मिटर माथि पुगेर मौसम खराबीका कारण फर्कनु परेको केसीले बताउनुभयो । “सगरमाथाको कठीन यात्रा मैले बुझिसकेको छु, त्यति बेलानै सफल भइसक्ने थिए, मौसमका कारण फर्किन प¥यो, आर्थिक रुपमा समेत समस्या थियो” केसीले भन्नुभयो “त्यस लगत्तै सरकारले दृष्टिविहिनलाई सगरमाथा आरोहणका लागि प्रतिबन्ध ग¥यो, दुई वर्ष सगरमाथा चढ्न पाउनुपर्छ भनेर संघीय बेञ्चमा लडेर जिते, अब सगरमाथा चढ्ने अन्तिम तयारीमा छु ।” केसीले एक हप्ता भित्रै केही आर्थिक सहयोग जुटाएर सगरमाथा आरोहणमा लाग्ने बताउनुभयो । उहाँ अहिले काठमाण्डौमा सगरमाथा चढ्ने अन्तिम तयारी र आर्थिक सहयोग जुटाउन सक्रिय हुनुहुन्छ ।

“नेपालको पहिलो दृष्टिविहिन सगरमाथा आरोहण गर्ने लक्ष्य लिएको छु, ८ वर्ष अघि देखिको योजना अब साकार हुनेमा आशावादी छु, केही आर्थिक सहयोग समेत जुटिसकेको छ” उहाँले भन्नुभयो “यसपटक नेपालको झण्डा र नेपाल उद्योग वाणिज्य महासंघको झण्डा सगरमाथामा फहराउने गरी तयारी थालेको छु ।”

यसरी आयो सगरमाथा चढ्ने योजना
रक क्लाइम्बिङमा रुची रहेका अमिट केसी आठ वर्ष अघि पोखरामा पुगेका बेला एक विदेशी नागरिक संगको भेटपछि दृष्टि बिहिन समेत सगरमाथा चढ्न सक्छन् भन्ने मनमा जागेकाले निरन्तर अभियान चलाउदै आएको उहाँले बताउनुभयो । विश्वको पहिलो दष्टिविहिन अमेरिकाका एरिकले सन् २००१, मे २५ मा सगरमाथा चढेर विश्व कीर्तिमान राखिसकेका कराण आफु नेपालको पहिलो र विश्वको दोस्रो कीर्तिमान राख्ने प्रयासमा रहेको उहाँको भनाई छ ।

बागलुङ उद्योग वाणिज्य संघको ५७ औं वार्षिक साधारणसभाको निर्णय अनुसार नेपाल उद्योग वाणिज्य महासंघको झण्डा सगरमाथा पठाउने निर्णय अनुसार झण्डा हस्तान्तरण गरिसकेको र केसीलाई सबै जिल्ला उद्योग वाणिज्य संघलाई आर्थिक सहयोग गर्न आग्रह गरेको बागलुङ उद्योग वाणिज्य संघका अध्यक्ष युवराज राजभण्डारीले जानकारी दिनुभयो ।

यसरी जुट्दै छ आर्थिक सहयोग
सगरमाथा चढ्न साहस र आत्म विश्वासले मात्रै हुँदैन । करिब एक करोड खर्च समेत आवश्यक हुन्छ । अहिले केसी काठमाण्डौंमा आर्थिक संकलन अभियानमा लागिरहेको र अझै आर्थिक समस्या देखिएको उहाँ बताउनुहुन्छ । गण्डकी प्रदेश सरकार, गृह जिल्लाको नगरपालिका लगायतबाट केही सहयोग भए पनि अझै आर्थिक अभाव भइरहेको र सबैले सहयोग गरेमा आफूले नेपालको नयाँ कीर्तिमान कायम राख्न सक्ने बताउनुभयो ।

अहिले सम्म केसीलाई गण्डकी प्रदेश सरकारले पाँच लाख, जैमिनी नगरपालिकाले साढे दुई लाख, सिटी एक्प्रेसले एक लाख, जिएमइले रु.५० हजार, एनआरएनएका उपाध्यक्ष कुल आचार्यले एक लाख, अष्ट्रेलियाबाट गोविन्द सापकोटाले रु.५० हजार रकम सहयोग गरिसक्नुभएको केसीले जानकारी दिनुभयो । केसीलाई सगरमाथा चढ्न तालिम पश्चात समेत रु.५० लाख खर्च लाग्ने अनुमान छ । विश्व अमेरिकी दृष्टि विहिन नागरिक एरिक विश्वकै पहिलो सगरमाथा आरोही भएपछि केसीलाई सगरमाथा चढ्ने प्रेरणा मिलेको थियो ।

३५ वर्षिय केसीले नेपालको नयाँ किर्तिमानी राख्न सबैले सहयोग गर्न आग्रह गर्नुभयो । बागलुङकै सरकारी विद्यालयका शिक्षक समेत रहेका केसी सगरमाथा आरोहण गर्ने अभियानकै कारण जागिरबाट निकालिएको बताउनुभयो ।

“अमेरिकीहरू यहाँ आएर सगरमाथा चढेर गइसके, के म आफ्नै देशको सगरमाथा चढ्न सक्दिन ? यही प्रश्नबाट घेरिएर सगरमाथाको चुचुरो चुम्ने सपना देख्न थाले” केसीले भन्नुभयो । उहाँले २०७२ सालमा सोलुखुम्बुस्थित ६ हजार १८९ मिटरको ‘आइसल्याण्ड पिक’ र त्यही वर्ष ६ हजार ४७६ मिटरको ‘मेरा पिक’ समेत चढिसक्नु भएको छ ।

नेपाल क्लाइम्बिङ एसोसिएसनबाट सगरमाथा चढ्ने तालिम लिनुभएका केसीले सन् २०१७ मा सगरमाथा चुमिसक्ने भए पनि प्राविधिक समस्याका कारण फर्किनुपरेको बताउनुहुन्छ । त्यो बेला सगरमाथा चुचुरोमा पुग्ने सपना भने अधुरै भए पनि यसपटक भने पुरा हुनेमा पूर्ण विश्वस्त रहेको उहाँले बताउनुभयो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *