मध्यपहाडी लोकमार्गको बागलुङ सदरमुकाम खण्डमा कालोपत्रेको तयारी

आदर्श अनलाइन, बागलुङ
लामो समय जनतालाई निराश बनाउँदै आएको मध्यपहाडी लोकमार्गको बागलुङ बजार देखि–घोडाबाधे सम्मको सडक खण्डमा पछिल्लो समय कामले केही तिव्रता लिएको छ । लोकमार्गको ट्रयाक खुलेको २४ वर्ष पछि कालोपत्रे हुन थाले पछि यहाँका जनता लोकमार्ग प्रति केही आशावादी बनेका छन् ।

अहिले मध्यपहाडी लोकमार्गको बागलुङ बजारदेखि घोडाबाधे सम्मको २५ किलोमिटर सडकमा कालोपत्रे गर्ने तयारी थालिएको मध्यपहाडी पुष्पलाल लोकमार्ग आयोजना कार्यालय पर्वतले जनाएको छ । लोकमार्ग कार्यालयको ताकेता पछि निर्माण सम्झौता भएको पाँच वर्ष पछि उक्त सडक कालोपत्रे गर्ने तयारीमा लागेको छ ।

अहिले बागलुङ बजारको उपल्लाचौरदेखि धमाधम वेश विछ्याउने र ग्रेडिङ गर्ने काम भइरहेको छ । मध्यपहाडीको उपल्लो खण्डको रुपमा रहेको घोडाबाँधेमा साढे तीन किलोमिटर सडक ग्राभेल भइसकेको र कालोपत्रेको तयारी थालिएको मध्यपहाडी पुष्पलाल लोकमार्ग पर्वतका इन्जिनियर उज्वल शर्माले जानकारी दिनुभयो । ‘अहिले अन्तिम पटक असार सम्म म्याद थपिएको छ, काम नगरी निर्माण व्यवसायीलाई सुखै छैन, अहिले वेश, ग्रेडिङ तथा ग्राभेलको काम भइरहेको छ’ शर्माले भन्नुभयो ‘पटक–पटक आयोजनाको ताकेता पछि अहिले आशलाग्दो तरिकाले लोकमार्गको काम भइरहेको छ, जेठ मसान्त सम्म २५ किलोमिटर मध्ये १७ किलोमिटर सडक कालोपत्रे हुने सम्भावना देखिन्छ ।’

बर्खाको पानी काट्नका लागि लोकमार्गको टाउको दुखाइको विषय बनेको बोक्से खाल्टामा क्रस चेनजेज कल्भर्ट निर्माण गरिएको छ । अहिले सव वेश हालेर ग्रेडिङ गरेको र तत्कालै ग्राभेलको लागी कच्चा पदार्थ सडकमा छर्ने काम भइरको बागलुङ बजारदेखि अछेते विहुँ खण्डको १३ किलोमिटर सडक निर्माणको जिम्मा पाएको भरत सिद्धिसाहीका प्रतिनिधि नवराज रावलले जानकारी दिनुभयो । उहाँले जेठ मसान्तसम्म सडक कालोपत्रे गर्नेगरी निर्माणलाई तिब्रता दिएको बताउनुभयो ।

बागलुङ बजार देखि अछेते सम्मको ८ किलोमिटर र बिहुँ घोडाबाँधेको ९ किलोमिटर सडक कालोपत्रे गर्नको लागि तयारी भइसकेको आयोजनाले जनाएको छ । निर्माण कम्पनीले १७ किलोमिटर सडक कालोपत्रे गरेमा अन्य बाँकी रहेको ८ किलोमिटर सडक असार सम्म कालोपत्रेका लागि काम गर्ने संभावना देखिएको छ ।

राष्ट्रिय गौरवको आयोजनाको रुपमा रहेको पुष्पलाल मध्यपहाडी लोकमार्गको बागलुङ खण्डमा गत मंसिर अन्तिम सातादेखि निर्माणले तिब्रता पाएपछि कालोपत्रेको तयारी थालिएको छ । वर्षातका कारण समस्या नभएमा जेठमा लोकमार्गले परिणाम दिने आयोजनाको विश्वास छ ।

मध्यपहाडीको कालोपत्रेका लागि आवश्यक ठूला पूर्वाधार निर्माण यसअघिनै भइसकेका थिए । सडक चौडा पार्ने, ग्याविन भर्ने, मेशिनरी वाल र नाली निर्माण कार्य ९० प्रतिशत सकिएको छ ।

मध्यपहाडी पुष्पलाल लोकमार्ग आयोजना कार्यालयको समन्वयमा निर्माण व्यवसायीलाई अन्तिम चेतावनी दिएपछि लोकमार्गको काम अगाडि बढेको थियो । अबको असार भित्र कालोपत्रे नगरे निर्माण व्यवसायीलाई कालो सूचिमा राख्न आयोजनाले सिफारिस गर्ने चेतावनी पछि लोकमार्गको जिल्ला सदरमुकाम खण्ड कालोपत्रे गर्नका लागि काम अगाडि बढेको हो ।

निर्माण व्यवसायीलाई काम गर्न दिएको असार मसान्त अन्तिम पटक भएको मध्यपहाडी पुष्पलाल लोकमार्ग पर्वतका प्रमुख मेघराज मरासिनीले बताउनुभयो । कुल १७ सय ७६ किलोमिटरको लोकमार्गको बागलुङ खण्डमा मात्रै १ सय ४२ किलोमिटर पर्छ । जसमध्ये जम्मा ४६ किलोमिटर मात्रै सडक कालोपत्रे गर्न बाँकी भएको आयोजना कार्यालय प्रमुख मरासिनी बताउनुहुन्छ । बागलुङको लाइफ लाइनको रुपमा जोडिएको सडक मध्ये २५ किलोमिटरको बागलुङ सदरमुकाम खण्ड दुई भागमा विभाजन गरेर ठेक्का भएको थियो । उपल्लाचौर देखि अक्षेते–बिहुँ खण्ड २०७३ माघ १४ गते भारत÷सिद्धिसाई जेभीले १३ किलोमिटर र बिहुँ घोडाबाधे खण्ड २०७२ माघ १० गते एमपी÷एससिएफ÷इसीसी जेभीले १२ किलोमिटर सडक दुई वर्षमा सडक कालोपत्रे गर्ने ठेक्का सम्झौता गरिएको थियो ।

लोकमार्गको निसीखोला खण्ड जम्मा १७ किलोमिटर सडक कालोपत्रे हुन बाँकी छ । सदरमुकाम देखि बिहुँ सम्मको खण्डमो ठेक्का अवधी गत माघ १२ र बिहुँदेखि घोडाबाधे खण्डको ठेक्का मिति गत माघ ९ गते सकिएसंगै असार सम्म कोरोनाको कारण असार मसान्त सम्म पु¥याइएको हो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *