आदर्श अनलाइन, बागलुङ
गरिबी र अशिक्षाका कारण ग्रामीण भेगमा अझै पनि बालबालिका कुपोषित हुने समस्या कायमै छ । यसलाई न्यूनिकरण गर्न बेला बेला पहल भए पनि अझै केही विकट गाउँहरुमा यो समस्या दोहोरिरहेको छ ।
कुपोषित बालबालिकाले समयमै उपचार नपाए उनीहरुको ज्यान समेत जान सक्ने स्वास्थ्यकर्मी बताउँछन् । बागलुङका विभिन्न स्थानीय तहमा बालबालिकामा कुपोषण देखिएको छ । खासगरी दुर्गम गाउँका बालबालिकामा यो समस्या देखिएको पाइन्छ । जिल्लामा यसको उपचार धौलागिरी अस्पताल बागलुङ र गलकोटको हटिया स्वास्थ्य चौकीमा मात्रै हुँदै आएको थियो ।
स्वास्थ्य कार्यालय बागलुङले जिल्लाको निसीखोला गाउँपालिका र ढोरपाटन नगरपालिकामा यसको उपचारका लागि बहिरङ्ग उपचार सेवा केन्द्र स्थापना गरेको छ । निसीखोलाको बोहोरागाउँ स्वास्थ्य चौकी झिवाखोला र ढोरपाटन नगरपालिकाको बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्र बुर्तिबाङमा बहिरङ्ग उपचार सेवा केन्द्र स्थापना गरेको स्वास्थ्य कार्यालय बागलुङका क्षय कुष्ठ रोग निरीक्षक देवप्रकाश घिमिरेले जानकारी दिनुभयो ।
बहिरङ्ग उपचार सेवा केन्द्र स्थापनाका लागि सु–आहाराले आवश्यक सहयोग गरेको उहाँको भनाई छ । यस उपचार केन्द्रमा कुपोषण भएका बालबालिकाको मात्रै उपचार गरिन्छ । विशेष गरी ६ महिनादेखि ५ वर्षसम्मका बच्चालाई यस केन्द्रबाट उपचार गरिन्छ ।
ग्रामीण क्षेत्रमा बढी अशिक्षित, गरीबी हुनु, छोरा र छोरीका बीच भेदभाव, सानै उमेरमा गर्भवती हुनु, बच्चालाई लामो समय स्तनपान गराउन नखोज्नु, अज्ञानता, धार्मिक अन्धविश्वासका कारण बालबालिकामा कुपोषण हुने स्वास्थ्यकर्मी बताउँछन् ।
गाउँ नजिक उपचार केन्द्र नहुँदा निसी, ढोरपाटन, तमान लगायतका स्थानबाट उपचारका लागि बागलुङ र गलकोट आउनु पर्ने बाध्यता थियो । उपचार केन्द्र स्थापनापछि पैसा र समयको बचत हुने घिमिरेको भनाई छ ।
‘पछिल्लो समय यस क्षेत्रमा बालबालिका कुपोषित भएको पाइयो, यहाँ उपचार तथा परामर्शको लागि उपचार केन्द्र नहुँदा निकै समस्या थियो, उपचारको लागि गलकोट कि बागलुङ आउनु पर्ने अवस्था थियो,’ घिमिरेले भन्नुभयो ‘अब यस क्षेत्रका नागरिकहरु कुपोषित बालबालिकालाई उपचारको लागि बागलुङ र गलकोट पठाउनु पर्ने छैन, अब केही सहज हुनेछ ।’
निसीखोला र ढोरपाटनमा स्थापना भएको बहिरङ्ग उपचार सेवा केन्द्रबाट पश्चिम बागलुङका बडिगाड गाउँपालिका, तमानखोला गाउँपालिकाका बालबालिकाको उपचार र स्वास्थ्यका विषयमा परामर्श दिइने छ ।