ठगीन रोक्दै, सीप बाँड्दै ‘सामी’

आदर्श अनलाइन, बागलुङ
बागलुङ नगरपालिका–६ कालिमाटीका एक महिलाले पाँच पटक सम्म आत्महत्याको प्रयास गरिन् । श्रीमान् लामो समयदेखि खाडी मुलुकमा रहेकाले सामाजिक रुपमा विभिन्न लाञ्छना र तिरस्कार गरेका कारण पटक पटक आत्महत्या गर्न खोजेकी उनी अहिले सहज दैनिकी र लयमा फर्किएकी छिन् ।

उनी पाँच पटक सम्म आत्महत्या गर्न बाध्यात्मक अवस्थामा पुग्नुको कारण वैदेशिक रोजगारी भएको बताउँछिन् । श्रीमान् वैदेशिक रोजगारीमा रहेकाले गाउँमा कोही सँग बोल्दा र अप्ठ्यारोमा कसैको सहयोग लिँदा पनि विभिन्न नैतिक प्रश्न खडा गरी समाजले तिरस्कार गर्न थाले पछि आत्महत्याको योजनामा पुगेको उनी बताउँछन् । अनावश्यक लाञ्छनाले मानसिक रुपमा समेत विक्षिप्त भए पछि यस्तो सोचमा पुग्न बाध्य हुने उनको भनाई छ ।

उनलाई सामी परियोजनाको सहयोगमा मनोमरामर्श सहित चिकित्सको सल्लाह, उपचार र औषधी सेवन गराइएको छ । बागलुङमा डेढ वर्षदेखि सुरक्षित आप्रवास परियोजना (सामी) सञ्चालन भएसंगै बागलुङ नगरपालिका–६ का महिला जस्तै धेरैले समयमै मनोसामाजिक परामर्श, वित्तिय साक्षरता र सीप पाए पछि सहज जीवन यापनको अवसर पाएका छन् । परियोजनाले मनोपरामर्श मात्रै हैन, सीप सहित रेमिट्यान्सको सही सदुपयोग गर्न सिकाएर यहाँका महिलालाई उद्यमी समेत बन्न थालेका छन् ।

बागलुङ नगरपालिका–६ कालिमाटी निवासी लक्ष्मी सुनारको श्रीमान् वैदेशिक रोजगारीमा हुनुहुन्छ । उहाँले आप्रवास परियोजनाले सञ्चालन गरेको रेमिट्यान्सको सदुपयोग सम्बन्धी वित्तिय साक्षरता तालिम लिएपछि कुखुरापालन व्यवसाय थाल्नुभएको छ । उहाँले श्रीमानको कमाईलाई सदुपयोग गर्न र आगामी दिनमा श्रीमानलाई वैदेशिक रोजगारीमा नपठाउनका लागि कुखुरा फर्म सञ्चालनमा ल्याएको बताउनुभयो ।

उहाँले सुरुमा २ सय र दोस्रो लटमा ४ सय बोइलर कुखुरा उत्पादन बिक्री गरिसक्नुभएको छ । अब सुनारको आगामी दिनमा कुखुरा पालनलाई बढाउदै लैजाने र श्रीमानलाई समेत स्वदेश फर्काउने योजना छ । स्विस सरकार र नेपाल सरकारको साझेदारीमा सञ्चालित सुरक्षित आप्रवसान कार्यक्रम बागलुङमा प्रभावकारी बन्दै गएपछि वैदेशिक रोजगारीका कारण आउने सामाजिक, पारिवारिक तथा मानसिक समस्या केही मात्रमा भए पनि न्यूनिकरण भएका हन् ।

जिल्लाको जैमिनी नगरपालिका–५ बीनामारेका बीना सुनारको पती दिनेश विक कतारमा बिरामी परेपछि नेपाल आउनुभयो । उहाँको गण्डकी मेडिकल कलेज पोखरामा उपचारको क्रममा २०७६ असार २६ गते निधन भयो । विकको निधन भएपछि बैदेशिक रोजगारी बोर्डबाट पाउनु पर्ने रु.पाँच लाख रकम प्राप्त गर्न सकेन ।

उहाँले लामो समयदेखि उक्त रकम पाउन नसकेपछि सामी परियोजनाले गाउँ भ्रमणको समयमा उक्त कुरा बाहिर ल्याएसंगै श्रीमान बितेको लामो समय पछि उहाँले पाँच लाख मृत्यु दाबी रकम प्राप्त गर्नुभयो । परिवारमा जाने बुझेको कोही नभएको समयमा सामीको समन्वयमा पाँच लाख रुपैयाँ रकम पाएको बीना सुनारको भनाई छ ।

सुरक्षित आप्रवासन परियोजनाले गर्ने सूचना प्रभाव, न्यायमा पहुँच, मनोसामाजिक परामर्श, वित्तिय साक्षरता र निःशुल्क सीप तालिमका कारण वैदेशिक रोजगारीमा जानेलाई सहज तुल्याएको मात्रै छैन ।

शव ल्याउन सहजीकरण, रोजगारीमा ठगिएकाको मुद्दा लड्ने, न्याय दिलाउने तथा मानसिक रुपमा समस्यामा परेकालाई पुरानै दैनिकीमा फर्काउने काम गर्दै आइरहेको सुरक्षित आप्रवासन परियोजना बागलुङका कार्यक्रम संयोजक मीनप्रसाद उपाध्यायले जानकारी दिनुभयो ।

“पाँच कुरा जस्तै सूचना, न्याय, मनोपरामर्श, वित्तिय साक्षरता र सीममूलक तालिममा सुरक्षित आप्रवासन परियोजना सामी बागलुङका चार पालिका हेर्ने गरी डेढ वर्ष अघि मात्रै स्थापना भएको हो” उपाध्यायले भन्नुभयो “तीन वर्षे कार्यक्रम अन्तर्गत जिल्लाका १० पालिका मध्ये बागलुङ नगरपालिका, जैमिनी नगरपालिका, गलकोट नगरपालिका र काठेखोला गाउँपालिकामा उक्त कार्यक्रम सञ्चालित छ भने समग्र जिल्लाको लागि जिल्ला प्रशासनको राहदानी शाखा नजिकै कार्यालय स्थापना गरी काम भइरहेको छ ।”

जिल्ला प्रशासन कार्यालयमा राहदानी बनाउन आउनुनै बैदेशिक रोजगारीको शुरुको काम भएकाले राहदानी बनाउनेको विवरण संगै सामीका पाँच कार्यक्रमका विषयमा जानकारी गराउँदै आइएको छ भने पालिकामा मनोपरामर्शदाताको सहयोगमा घरमै पुगेर वैदेशिक रोजगारीका कारण मानसिक तनावमा परेकालाई परामर्श गरिन्छ ।

परियोजनाले बागलुङमा बैदेशिक रोजगारी संग जोडिएका ५६ वटा मुद्दामा सहयोग गरी रु. एक करोड ८६ लाख रकम फिर्ता समेत गराएको छ । पछिल्लो समय वैदेशक रोजगारीका नाममा ठगिनेहरु बढ्न थालेपछि परियोजनाले ठगिएकाको रकम फिर्ता गर्नमा समेट सहयोग पु¥याएको छ ।
नेपाल सरकार र स्विस सरकारबीच भएको दुई पक्षिय सम्झौता, सामी हेल्भेटासको प्राविधिक सहयोग, स्थानीय पालिकाको सञ्चालन तथा बिवाइसी बागलुङको व्यवस्थापनमा सञ्चालित सुरक्षित आप्रवासन परियोजना (सामी) सञ्चालनमा आएको हो ।

वैदेशिक रोजगारीमा जानु अघि, रोजगारीमा छँदा, उनीहरुले पठाएको रकम सदुपयोग देखि रोजगारीबाट फर्के पछि र कारणवस मृत्यु भएकाको शव नेपाल ल्याउन समेत उक्त परियोजनाले काम गरेको परियोजना व्यवस्थापन गरिरहेको बिवाइसी बागलुङका अध्यक्ष मणिभद्र शर्माले बताउनुभयो ।

शर्माका अनुसार परियोजना शुरु भए पछि विभिन्न कारणले नेपालमा शव ल्याउन समस्यामा परेका पीडित परिवारलाई सहयोग गरी हाल सम्म ८ वटा शव नेपाल ल्याइएको छ भने धेरैलाई निःशुल्क सिपमूलक एक महिने तालिम दिए पछि कतिले विदेश नगई नेपालमै स्वरोजगार बन्न थालेको र केही विदेश गए पनि राम्रो आम्दानी गर्न सकेको उहाँको भनाई छ ।

नेपालका बढी वैदेशिक रोजगारीमा जाने ३९ जिल्लाका १५६ पालिकामा लागु गरिएको परियोजना विशेषगरी खाडी मुलकमा जाने नेपालीहरुका लागि काम गर्दै आइरहेको छ । हाल सम्म बागलुङबाट ८२ हजार ४ सय ४१ जना वैदेशिक रोजगारीका लागि श्रम स्विकृत लिएर विदेश गए गएको तथ्याङ्क छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *