प्रशासन भन्छःबढ्दो कोरोना रोक्न क्वारेन्टिन होइन ‘होम क्वारेन्टिन’

डम्मर बुढा मगर, बागलुङ
छिमेकी मुलुक भारतमा कोरोना संक्रमितको संख्या ह्वात्तै बढेपछि यस जिल्लामा पनि घर फर्किने क्रम बढ्न थालेको छ ।

नेपाल सरकारले कोरोना संक्रमणको दर बढेका जिल्ला काठमाडौँ उपत्यका सहित अन्य जिल्लामा धमाधम निषेधाज्ञा जारी गर्न थालेको छ । यसले गर्दा रोजगारी, पढाई तथा अन्य सिलसिलामा जिल्ला बाहिर गएका बागलुङेहरु गृह जिल्ला फर्कन थालेका छन् ।

विदेश तथा अन्य जिल्लाबाट फर्कनेहरुमा कोरोना संक्रमणको जोखिम पनि उत्तिकै हुन्छ । जिल्लामा दिनदिनै संक्रमित बढिरहे पनि नागरिक निर्वाध रुपमा हिँड्ने गरेका छन् । नागरिक सचेत नभए सम्म जति कडाइ गरे पनि कोरोना नियन्त्रण हुन नसक्ने चिकित्सक बताउँछन् । कोरोना संक्रमण रोकथामका लागि जिल्लामा त्यति ठूलो प्रयास गरिरहेको पाइँदैन ।

विदेश तथा अन्य जिल्लाबाट आउनेहरु गाउँमा सिधै आएका छन् । गाउँ आएर सरकारले निर्देश गरेका स्वास्थ्य सुरक्षाको मापदण्ड पालनामा पनि अझै संवेदनशील नभएको पाइएको छ । भारत लगायतका स्थानबाट आउनेहरु खुलेआम गाउँमा हुने विहे वर्तन जस्ता भिडभाडमा हिँड्ने गरेका छन् । यसले गर्दा संक्रमणको अवस्था थप जटिल बन्दै जाने जोखिम देखिएको छ ।

गत वर्ष कोरोनाको जोखिम बढि रहँदा जिल्लाका सबै स्थानीय तहले क्वारेन्टिन निर्माण गरेर विदेश तथा जिल्ला बाहिरबाट आउने नागरिकको निगरानी, व्यवस्थापन तथा कोरोना परीक्षण गरेका थिए । तर अहिले त्यस प्रकारको सचेतता र निगरानी बल्ल सुरु गर्न थालिएको छ । स्वास्थ्यकर्मीले दोस्रो लहरको कोरोना पहिलाको भन्दा बढि खतरापूर्ण भएकाले सचेत हुनुपर्ने बताउँछन् ।

जिल्लाबाट संचालन हुने यातायातका साधानहरु पनि निरन्तर संचालनमा छन् । कोरोना संक्रमण तीव्र गतिमा फैलिएका जिल्लाहरु बारा पर्सा, काठमाडौँ लगायतका ठाउँबाट दैनिक बागलुङमा दर्जनौँ नागरिकको आवत जावत भइरहेको छ । तर, यस तर्फ सम्बन्धित निकाय मौन देखिएको छ ।
कोरोना बढ्दै गएपछि जिल्लामा पूर्वनिधारित परीक्षा तथा सबै शैक्षिक संस्थाहरु बन्द गरिएको छ । केही दिन अगाडि बागलुङ नगरपालिका १४ को एक विद्यालयमा ३९ जना विद्यार्थी तथा शिक्षकमा कोरोना संक्रमण पुष्टि भएपछि १७ गतेसम्मका लागि बागलुङ नगरका १२, १३ र १४ वडामा निषेधाज्ञा जारी गरिएको छ ।

विद्यार्थीमा संक्रमण बढ्दै गएपछि बागलुङ नगरले केही दिन अगाडि नै सबै शैक्षिक संस्थाहरु बन्द गरेको थियो भने मंगलबार जिल्लाको जैमिनी नगरपालिका, ढोरपाटन नगरपालिकाले पनि सूचना जारी गर्दै विद्यालय बन्द गरेको जानकारी गराएका छन् ।

यातायात संचालनका विषयमा अहिलेसम्म जिल्लामा कुनै पनि निर्णय नभएको जिल्ला प्रशासन कार्यालय बागलुङका सूचना अधिकारी गणेश गौतमले बताउनुभयो । उहाँले जिल्लामा २ सय सक्रिय संक्रमित नभए सम्म निषेधाज्ञा गर्न गृह मन्त्रालयबाट निर्देशन नआएको भन्दै संक्रमणको अवस्था हेरेर निषेधाज्ञा गरिने बताउनुभयो ।

अहिले जिल्लामा १ सय १५ जना सक्रिय संक्रमित छन् । कोरोना संक्रमण न्यूनिकरणका लागि सबै स्थानीय तह, वडाहरुलाई निर्देशन दिएको भन्दै सबैलाई तयारी अवस्थामा बस्न आग्रह गरेको बताउनुभयो । गत वर्ष जिल्ला प्रवेश गर्ने नाकामा हेल्प डेस्क राखेर जिल्ला भित्रिने र बाहिरिनेको तथ्याङ्क राखिन्थ्यो तर अहिले त्यस्तो कुनै पनि काम हुन सकेको छैन ।

सूचना अधिकारी गौतमले अहिले गत वर्षको जस्तो संस्थागत क्वारेन्टिन निर्माणलाई जोड नदिएको भन्दै अहिले होम क्वारेन्टिनलाई व्यवस्थित बनाउने बताउनुभयो । ‘गत वर्ष सबै स्थानीय तह, सबै वडामा क्वारेन्टिनको व्यवस्था गरिएको थियो भने अहिले त्यसलाई भन्दा होम क्वारेन्टिनलाई व्यवस्थित बनाउने भन्ने छ,’ उहाँले भन्नुभयो ‘संस्थागत क्वारेन्टिनलाई व्यवस्थापन गर्न पनि गाह्रो बढी खर्च हुने र कसले व्यहोर्ने भन्ने कुरा उठेको हुँदा होम क्वारेन्टिनलाई नै प्राथमिकता दिइएको छ ।’

उहाँले गाउँ/नगरपालिकालाई पुराना आइसोलेसनलाई व्यवस्थापन गरेर तयारी अवस्थामा राख्न आग्रह गरेको बताउनुभयो । गौतमले विवाह ब्रतबन्ध गर्नका लागि जिल्ला प्रशासन कार्यालयबाट अनुमति लिनु पर्ने जानकारी दिनुभयो । त्यस्तै कुनै पनि सार्वजनिक कार्यक्रम नगर्नका लागि अपिल गरेको बताउनुभयो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *