उपकरण अभावमा खेर जाँदै धौलागिरी अस्पतालको अक्सिजन

आदर्श अनलाइन, बागलुङ

कोरोनाको दोस्रो लहरमा नेपालमा कोरोना संक्रमणको दर ह्वात्तै बढे पछि अक्सिन अभाव खड्किएको समाचार आइरहेको सन्दर्भमा बागलुङको अक्सिजन प्लान्टमा उत्पादन भएको अक्सिजन भने उपकरण अभावमा खेर गइरहेको छ ।

धौलागिरी अस्पताल बागलुङमा गण्डकी प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयले अक्सिजन प्लान्ट स्थापना गरेको छ । अक्सिजन प्लान्टमा उत्पादन भएको अक्सिजन सोझै अस्पतालमा रहेको बिरामीको बेडमा पाइप लाइनबाट पुग्ने भए पनि अक्सिजन सिलिण्डरमा भर्न मिल्दैन ।

पाइप लाइनबाट खपत भएर रहेको अक्सिजन सिलिण्डरमा भर्न सकेको खण्डमा कोरोना महामारीमा अक्सिजनको अभाव टार्न मद्दत पुग्ने भए पनि अक्सिजनको ‘फिलिङ सिस्टम’ नहुँदा अस्पतालको अक्सिजन प्लान्टमा उत्पादन भएको आधा जस्तो अक्सिजन खेर गइरहेको छ । कोरोना बढ्दै जाँदा गाउँ–गाउँका स्वास्थ्य चौकीमा समेत अक्सिजन चाहिने निश्चित छ ।

अक्सिजन प्लान्ट नभएका अस्पतालमा सिलिण्डरमा अक्सिजन चाहिने र अहिले मुलुकभर अक्सिजनको समस्या भन्दै समयमै आपूर्ति नभएको अवस्थामा धौलागिरी अस्पतालको अक्सिजन प्लान्टबाट उत्पादन भएको अक्सिजन सिलिण्डरमा भर्न र धेरैको जीवन रक्षाको लागि टेवा पुग्ने धौलागिरी अस्पताल व्यवस्थापन समितिका अध्यक्ष केबी राना मगरले बताउनुभयो ।

“अस्पतालमा २०७६ पुसदेखि अक्सिजन प्लान्टबाटै बिरामीको बेडमा अक्सिजन पु¥याएको छ, तर अक्सिजनको क्षमता अनुसार उत्पादन भएको अक्सिजन खपत भएको छैन” अध्यक्ष राना मगरले भन्नुभयो “अहिले कोरोनाका बिरामीलाई अक्सिजन अनिवार्य जस्तो बन्दै जान थालेपछि नेपालमा अक्सिजन अभाव भएको सुनेको छु, हाम्रोमा अक्सिजन भर्ने व्यवस्था गर्न सके अरु स्वास्थ्य चौकी तथा अस्पतालमा सप्लाई गर्न सकिन्थ्यो ।”

५० शैयाको अस्पताललाई अहिले गण्डकी प्रदेश सरकारले २ सय बेडको उप–प्रादेशिक अस्पताल बनाउने निर्णय संगै केही काम समेत अघि बढाएको छ । अक्सिजन प्लान्टले उत्पादन गरेको अक्सिजनले दैनिक ३० सिलिण्डर अक्सिजन भर्नै पर्ने भए पनि उपकरण अभावमा अस्पतालका बिरामीलाई मात्रै प्रयोग गरिएको धौलागिरी अस्पतालका प्रमुख मेडिकल सुपरीटेण्डेन्ट डा. शैलेन्द्र बि. पोखरेलले बताउनुभयो ।

“उत्पादन गरेको पुरै अक्सिजन अस्पतालले खपत गरेको छैन, यहाँ प्रयोग गर्न उत्पादित अक्सिजन बिरामीको बेडमै पु¥याइएको छ तर सिलिण्डरमा भर्ने व्यवस्था नहुँदा अन्यत्र पु¥याउन कठिन छ” डा. पोखरेलले भन्नुभयो “अस्पतालमा खपत नभएको समयको अक्सिजन सिलिण्डर भर्न पाए कोरोना महामारीको समयमा अन्यत्र समेत अक्सिजन दिन सकिन्थ्यो तर फिलिङ सिस्टम नभएकाले अक्सिजनको कम प्रयोग भएको समयमा अस्पतालको अक्सिजन प्लान्टद्वारा उत्पादित अक्सिजन खेर गइरहेको छ ।”

अस्पतालको अक्सिजन प्लान्ट ९० लाख ४० हजारकोे लागतमा गण्डकी प्रदेश सरकारले स्थापना गरेपछि अस्पतालमा अक्सिजन आपूर्ती गर्नुपर्ने अवस्थाको अन्त्य भएको छ । तर, अस्पताललाई अहिले पनि केही मात्रमा सिलिण्डरकै अक्सिजन आवश्यक परिरहेको भने छ । बिरामीलाई बेड भन्दा बाहिर ल्याउनुपर्दा, रिफर गरी बाहिर पठाउनुपर्दा र हवाई उद्दार गर्दा भने आफ्नै अक्सिजन प्लान्ट भएर पनि केही मात्रमा भने अक्सिजन सहितका सिलिण्डर खरिद गर्नुपर्ने बाध्यता अस्पताललाई छ ।

“अक्सिजन प्लान्ट बन्द गर्न मिल्दैन, चलाउँदा पुरै क्षमतामा चल्छ, कहिले बिरामी धेरै हुन्छन् अक्सिजन लगाउनुपर्ने त कहिले थोरै हुन्छन्, थोरै बिरामी हुँदा बचेको अक्सिजन सिलिण्डरमा भर्न नसक्दा आफै खेर गएको छ” डा. पोखरेलले भन्नुभयो । उहाँका अनुसार आफ्नै प्लान्टको अक्सिजन भर्न नसक्दा कहिलेकाही सिलिण्डरको अक्सिजन आवश्यकता हुँदा बाहिरबाट खरिद गर्नुपर्ने परिस्थिति छ । उक्त अक्सिजन प्लान्टमा भर्ने उपकरण ‘फिलिङ सिस्टम’ खरिदका लागि गण्डकी प्रदेशसंग माग गरिरहेको डा. पोखरेलले बताउनुभयो ।

अक्सिजन भर्ने उपकरणलाई ३० देखि ५० लाख पर्ने बुझ्नमा आएको उहाँको भनाई छ । अस्पतालमा प्लान्ट हुनुपुर्व अस्पतालले निजी कम्पनीले पोखरा तथा बुटवलमा उत्पादन गरेको ‘अक्सिजन सिलिण्डर’ प्रयोग हुँदै आएको थियो । धौलागिरी अस्पतालमा अहिले २५ बेडको कोरोना वार्ड छ । जसमध्ये अस्पतालमा ११ जना कोराना सक्रमितको उपचार भइरहेको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *