संक्रमितलाई उपचारका लागि काठमाण्डौबाट बागलुङ ल्याइयोे


–आदर्श अनलाइन, बागलुङ

कोरोना संक्रमण भई काठमाण्डौमा अस्पतालको बेड नपाएपछि एक संक्रमितलाई उपचारका लागि बागलुङ स्थित धौलागिरी अस्पताल ल्याइएको छ ।

काठमाडौंका अस्पतालहरुमा विरामीहरुले बेड नपाउने अवस्था सिर्जना भएपछि बागलुङ जिल्ला ढोरपाटन नगरपालिका वडा नम्बर ३ घर भई काठमाडौं बस्दै आएकी ३१ बर्षिया एक जना महिलालाई उपचारका लागि एम्बुलेन्स मार्फत बागलुङको धौलागिरी अस्पताल ल्याइएको छ ।
काठमाडौंमा बेड नपाएपछि ५० हजार तिरेर एम्बुलेन्स मार्फत धौलागिरी अस्पतालमा उपचारका लागि आएको जिल्ला स्वास्थ्य कार्यालय बागलुङका कोभिड–१९ फोकल पर्सन देवप्रकाश घिमिरेले जानकारी दिनुभयो । उहाँले संक्रमित भएपछि काठमाडौंको अस्पतालहरुमा बेड खोजी गर्दा सहज तरिकाले बेड नपाएको कारण जिल्लामा खबर आएपछि धौलागिरी अस्पतालमा बेडको व्यवस्था गरी ल्याइएको बताउनुभयो ।

काठमाण्डौमा बेड नपाएपछि उहाँलाई धौलागिरी अस्पतालमा बेड व्यवस्था गरेसंगै सोमबार काडमाण्डौबाट संक्रमितलाई यहाँ ल्याइएको धौलागिरी अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेण्ट डा. शैलेन्द्र वि.क. पोखरेलले बताउनुभयो ।

“काठमाडौंमा डेरा गरी बस्दै आउनुभएको संक्रमित भएर अस्पतालमा बेड नपाएपछि हामीले सहजिकरण गरेका हौं” डा. पोखरेलले भन्नुभयो “कोरोना संक्रमण भएको चार दिनपछि उहाँलाई स्वासप्रस्वासमा समस्या देखिएपछि हामीले धौलागिरी अस्पतालमा ल्याएका हौं ।”

उहाँलाई सोमबार राती धौलागिरी अस्पतालको आइसोलेसनमा भर्ना गरी उपचार थालिएको छ । संक्रमित महिलालाई ज्वरो, खोकी र अक्सिजनको कमि रहेको बताउनुभयो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *