निरयघाटमा मानवसेवा आश्रमको भवन शिलान्यास

–आदर्श अनलाइन, बागलुङ
लामो समयको प्रयास पछि मानव सेवा आश्रम बागलुङ शाखाको आफ्नै भवन निर्माण थालिएको छ । जग्गा अभावमा भवन निर्माण गर्न नसकेको आश्रमले बागलुङ नगरपालिका–४ निरयघाटमा सुविधा सम्पन्न भवन निर्माण गर्न थालेको मानव सेवा आश्रम बागलुङका संयोजक सुमिरा लामाले जानकारी दिनुभयो ।

स्थापना कालदेखि युनिटि लाईफले निर्माण गर्न थाली अलपत्र रहेको अस्पताललाई मर्मत सम्भार गरी अहिले बागलुङ नगरपालिका–३ किनारा टोलबाट आश्रम सञ्चालित छ । आश्रमको आफ्नै सुविधा सम्पन्न भवन निर्माण गर्नका लागि शुक्रबार शिलान्यास गरिएको छ ।

आश्रमको नयाँ भवनको बगालुङ नगरपालिकाका नगर प्रमुख जनकराज पौडेलले शिलान्यास गर्नुभएको थियो । शिलान्यास पछि नगर प्रमुख पौडेलले नगरपालिकाको पहलकदमीमा निरयघाटको गुठीको पाँच रोपनी जग्गामा मानव सेवा आश्रम निर्माण गर्न दिइएको बताउदै सडक मानव मुक्त अभियानमा नगरपालिकाको पूर्ण सहयोग रहने बताउनुभयो ।

सडक मानवको उद्दार, पालनपोषण तथा आश्रय प्रदान गर्दै आएको मानव सेवा आश्रम बागलुङमा २०७३ सालदेखि सक्रिय छ । यस शाखाले बागलुङ सहित म्याग्दी र पर्वतका सडक मानव समेत उद्दार गर्दै आएको छ । अहिले आश्रमको बागलुङ शाखामा ४५ जना सहयोपेक्षीहरु आश्रित रहेका छन् ।

पटक पटकको आग्रह र सबैको चासोपछि निरयघाटको जमिन नगरपालिकाको अगुवाईमा उपलब्ध गराइएको हो । पञ्च गुठीको २० रोपनी जग्गामा नगरपालिकाले कृषि क्याम्पस चलाउने योजना रहेको र पाँच रोपनी जग्गामा मानव सेवा आश्रमलाई भवन निर्माणका लागि प्रदान गरिएको बागलुङ नगरपालिकाका नगर प्रमुख जनकराज पौडेलले जानकारी दिनुभयो ।
आश्रममा सुविधा सम्पन्न तीन तले पक्की भवन सहित आश्रमका अन्य गतिविधि सञ्चालनका आवश्यक संरचना निर्माण गरिने छ ।
आश्रमलाई आर्थिक वर्ष २०७७÷७८ गण्डकी प्रदेश सरकारले भवन निर्माण गर्न रु. ५० लाख बजेट बिनियोजन गरेको छ । उक्त भवन सहित अन्य संरचना निर्माण गर्न सात करोड बढी खर्च लाग्ने र गण्डकी प्रदेश सरकारले भवन निर्माण शुरु भइसकेपछि थप बजेट प्रदान गर्ने जनाएको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *