निषेधाज्ञामा रोकिएन विकास निर्माण

आदर्श अनलाइन, बागलुङ

कोरोनाको दोस्रो लहरका कारण तीव्र रुपमा संक्रमण बढिरहे पनि बागलुङमा विकास निर्माण भने रोकिएको छैन । गत वर्ष कोरोनाको कारण ठप्प बनेको विकास निर्माण अहिले भने निरन्तर चलिरहेको छ ।

जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्रका संयोजक तथा प्रमुख जिल्ला अधिकारी शिवकुमार कार्कीका अनुसार बागलुङमा अहिले निर्माण सामाग्री बोकेका सवारीलाई निर्वाध रुपमा चल्न दिइएको छ ।

“गत वर्ष विकास निर्माण ठप्प भए तर अहिले अन्य क्षेत्रमा निषेधाज्ञा जारी गरे पनि विकास निर्माण नरोकेको, न्यूनतम स्वास्थ्य मापदण्ड अपनाएर काममा लगाउन निर्माण व्यवसायीलाई भनेका छौं” प्रजिअ कार्कीले भन्नुभयो “निर्माण मजदुर एकै ठाउँमा बस्ने भएकाले उनीहरुलाई काम बिहिन बनाउँदा भोकमरी, घर फर्कने समस्या हुन्छ, त्यसैले निरन्तर काम गर्न भनेका छौं ।”

अहिले बागलुङ जिल्ला सदरमुकाममा निषेधाज्ञाको समयमा धमाधम घर निर्माणको काम समेत चलिरहेको छ । जिल्लामा सञ्चालित साना तथा ठूला विकास निर्माणका योजनामा स्वास्थ्य सुरक्षा अपनाएर काम अघि बढाइएको छ ।

पालिकामा निषेधाज्ञा रहे पनि विकासे योजनाको काम नरोकिएको बागलुङ नगरपालिकाले जनाएको छ । मुलपानी–भलाटाकुरा सडकको २ किमी सडक कालोपत्रे भइरहेको र थप ५ सय मिटर सडकको पक्की नाली सहित ग्राभेलको काम चलिरहेको नगर प्रमुख जनकराज पौडेलले जानकारी दिनुभयो । पौडेलका अनुसार केही स्थानका योजना प्रभावित भएपनि महत्वपूर्ण विकासे योजनाहरुको काम जारी छ ।

संघीय सरकारको सडक डिभिजन कार्यालय बागलुङ मार्फत बागलुङ बेनी सडक खण्ड अन्तर्गत ११ किमी सडक स्तरोन्नति कार्य रोकिएको छैन । अहिले रामरेखामा सडक स्तरोन्नती संगै कालोपत्रे भइसकेको छ भने उपल्लाचौरमा धमाधम काम चलिरहेको सडक डिभिजन कार्यालयका प्रमुख रामेश्वर लम्सालले जानकारी दिनुभयो । ३ करोड ३७ लाख रुपैयाँको लागतमा स्तरोन्नति संगै पुरै ११ किमी नयाँ कालोपत्रे गरिने सडक खण्डले बागलुङ बेनी यात्रालाई सहज बनाउनेछ ।

कोरोना महामारी बीच क्षेत्रिय सडकको रुपमा रहेको बागलुङ नगरपालिका–४ कुडुँले चोक देखि काठेखोला गाउँपालिका जाने सडकको १४ किलोमिटर सडक कालोपत्रे गर्नका लागि सडकको धमाधम स्तरोन्नति भइरहेको छ ।

नगरपालिकाको कँुडुले चोकदेखी–मालिका–पञ्चकोट हुँदै तितौरे काठेखोला गाउँपालिकाको सिमाना सम्म जाने सम्मकोे सडक स्तरोन्नति संगै कालोपत्रे गरिने सडक हो । गण्डकी प्रदेश सरकारको भौतिक पूर्वाधार विकास मन्त्रालय गण्डकी प्रदेशको ४२ करोडको लागतमा सडक स्तरोन्नति संगै कालोपत्रे गर्र्ने उक्त सडक बन्दाबन्दीमा रोकिएको छैन ।

बागलुङ क्षेत्र नम्बर १ को प्रदेश सभा ख अन्तर्गत पर्ने बागलुङ नगरपालिका र काठेखोला गाउँपालिका समेट्ने गरि क्षेत्रिय चक्रपथका रुपमा यस सडकलाई स्तरोन्नती संगै कालोपत्रे गर्न पूर्वाधार निर्माणको काम गत वर्षदेखि चलिरहेको छ ।

१४ किलोमिटर सडक ८ मिटरको मापदण्ड अनुसार चौडा हुने र १ मिटर नाली निर्माण गर्ने र ५.५ मिटर चौडा सडक केही समयपछि कालोपत्रे हुनेछ । पहिलो चरणमा बागलुङ नगरपालिका र काठेखोला गाउँपालिकाको सिमाना सम्म कालोपत्र गरिने र दोस्रो चरणमा तितौरै भिमपोखरा, धम्जा, बिहुँ, लेखानी, रेश हुँदै बलेवा जोड्ने सडक विस्तार र कालोपत्रे गर्ने योजना रहेको बागलुङ नगरपालिकाका नगर प्रमुख पौडेलले बताउनुभयो ।

यस्तै रामरेखा मरेपिपलको गतवर्षदेखि चलिरहेको सडक स्तरोन्नतीको काम अहिले अन्तिम चरणमा पुगेको छ । अहिले उक्त सडक ग्राभेल भइरहेको र निषेधाज्ञाकै बीचमा कालोपत्रे गरिने निर्माण व्यवसायी विदुर शर्माले बताउनुभयो । जिल्लामा संघ, प्रदेश तथा स्थानीय तहका विकास निर्माणमा आशिंक प्रभाव परे पनि रोकिएको भने छैनन् ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *