बिदामा बसेका धौलागिरी अस्पतालका रेडियोलोजिष्टले गरे इमेलबाटै राजीनामा

धौलागिरी अस्पतालको भिडियो एक्सरे सेवा प्रभावित

साधना पन्त, बागलुङ

बागलुङ नगरपालिका–४ कुँडुलेकी एक गर्भवती महिला कोरोना महामारीकै बिच साहस जुटाएर नियमित चेकजाँजको लागि धौलागिरी अस्पताल पुगेकी थिइन् । चेकजाँचको क्रममा स्वास्थ्यकर्मीले भिडियो एक्सरे गर्न सुझाव दिए । सुझावसँगै भिडियो एक्सरे गर्ने डाक्टर बिदामा बसेको जानकारी समेत गराए । ‘सुत्केरी हुने समय नजिकिएको छ, डाक्टरले भिडियो एक्सरे गर्नुस् भनेर कागजमा लेखिदिएका छन्,’ ती महिलाले भनिन् ‘अस्पतालमा भिडियो एक्सरे गर्ने डाक्टर नै छैनन् रे, यो कोरोना महामारीको बिचमा कहाँ जाने ?’

अस्पतालकै रेडियोलोजिष्टले प्राइभेट स्वास्थ्य संस्थामा पनि भिडियो एक्सरे गर्दै आएकाले उनी नहुँदा सदरमुकामका सबै भिडियो एक्सरे सेवा प्रभावित हुने बिरामीहरुको गुनासो छ । धौलागिरी अस्पताल बागलुङमा दैनिक ५० देखि ६० जना भिडियो एक्सरे गर्नुपर्ने बिरामी उपचारको लागि आउँछन् । हप्ताको दुई दिन आइतबार र बुधबार त त्यो संख्या बढेर झण्डै सय पुग्छ । तर, पछिल्लो समय अस्पतालमा भिडियो एक्सरे गर्ने रेडियोलोजिष्टको अभावको कारण नियमिति चेकजाँच गर्नुपर्ने गर्भवती र बिरामीहरु मर्कामा परेका छन् ।

धौलागिरी अस्पताल बागलुङमा गण्डकी प्रदेश सामाजिक विकास मन्त्रालयबाट करारमा खटाइएका एक जना मात्र रेडियोलोजिस्टले भिडियो एक्सरे गर्दै आएका थिए । सिंगो अस्पतालमा रहेका एक जना मात्र रेडियोलोजिष्ट केही दिन बिदामा बस्दा मात्रै ठुलो समस्या सिर्जना हुन्थ्यो । तर, यतिबेला अस्पतालबाट विदा मागेर जानुभएका उहाँले इमेल मार्फत राजीनामा पठाए पछि अस्पतालको सेवा प्रभावित मात्र होइन, थप अन्योलमा परेको छ । सामाजिक विकास मन्त्रालयबाट करारमा खटिएका रेडियोलोजिष्ट डा.अजय पोखरेलले वैशाख ९ र १० गतेको लागि भन्दै अस्पताल प्रशासनमा बिदा माग गर्दै निवेदन दिनुभएको थियो ।

तर, वैशाख १२ गते सम्म अस्पतालमा उपस्थित नभएका उहाँले १२ गते इमेल मार्फत राजीनामा पत्र पठाएको धौलागिरी अस्पताल बागलुङका प्रमुख डा. शैलेन्द्र वि.क पोखरेलले बताउनुभयो । ‘अस्पतालमा एक जनामात्र रेडियोलोजिष्ट हुनुहुन्थ्यो, विदामा बस्नुभएका उहाँले पनि इमेल मार्फत राजीनामा पठाउनुभयो’ पोखरेलले भन्नुभयो, ‘यतिबेला अस्पतालको सम्पूर्ण टिम कोरोना संक्रमितको उपचार र व्यवस्थापनमा खटिएको छ, पूर्व जानकारी विना उहाँले दिएको राजीनामाको कारण सिंगो अस्पतालको सेवा प्रभावित बनेको छ ।’

कोरोना महामारीको बिचमा सिंगो अस्पतालको एक मात्र रेडियोलोजिष्ट नहुँदा दैनिक सयौ बिरामी प्रभावित बनेको भन्दै प्रदेश मन्त्रालयमा जानकारी गराए पनि तत्काल समस्या समधानको उपाय नदेखिएको डाक्टर पोखरेलको भनाई छ ।

इमेल मार्फत राजीनामा पठाएका रेडियोलोजिष्ट अजय पोखरेललाई अस्पतालमै आएर सल्लाह गरि राजीनामा दिन आग्रह गरेको भए पनि नआएको अस्पताल प्रशासन प्रमुख तारानाथ शर्माले बताउनुभयो । ‘उहाँ पटक पटक लामो समय सम्म विदा बसिरहनु हुन्थ्यो, शर्माले भन्नुभयो, ‘अस्पतालका अन्य सेवा भन्दा भिडियो एक्सरे प्रायः प्रभावित बन्थ्यो,’ शर्माले भन्नुभयो ‘यसपटक विदा बस्नुभएका उहाँले राजीनामा पठाउनुभयो, महामारीको बेला यसै पनि गर्भवती सुत्केरी र अन्य बिरामी धेरै प्रभावित हुन्छन्, अस्पताल आएर सल्लाह गर्नुस् भनेको उहाँ आउनुभएन् ।’

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *