हट्यो बागलुङमा एम्बुलेन्समा शव बोक्नुपर्ने बाध्यता

आदर्श अनलाइन, बागलुङ
बागलुङमा कोरोनाबाट मृत्यु भएकाहरुको शव व्यवस्थापनका लागि बागलुङ नगरपालिकाले अस्थायी शव वाहनको व्यवस्थापन गरेको छ ।

नगरपालिकाले ३ महिनाका लागि रु.४ लाख ५० हजार भुक्तानी दिने गरी अस्थायी शव वाहनको व्यवस्थापन गरेको हो । जिल्लामा शव वाहन नहुँदा कोरोना महामारीमा शव व्यवस्थापनमा निकै चुनौती बन्दै आएको थियो ।

नगरपालिकाले खरिद गर्न थालेको नयाँ शव बाहन नआउन्जेल अस्थायी रुपमा शव बाहन व्यवस्थापन गरेको बागलुङ नगरपालिकाका नगर प्रमुख जनकराज पौडेलले जानकारी दिनुभयो । नगरपालिकाले आफ्नै खर्चमा सवारी व्यवस्थापन गरि अस्पताललाई सञ्चालनमा लागि पिकअप जीप उपलव्ध गराएको छ ।

“कर छुटका लागि अलि लामो प्रकृया रैछ, यता कोरोनाबाट मृत्यु हुनेको संख्या बढ्दै गएपछि अस्थायी शव वाहन व्यवस्थापन गरेका हौं” नगर प्रमुख पौडेलले भन्नुभयो “तीन महिनालाई हामीले भुक्तानी गरी शव बाहन सञ्चालन गर्न दिएका छौं, नगरपालिकाले खर्च गरेर व्यवस्थापन गरेको शव वाहनले तत्काल जिल्लामा कोरोनाबाट मृत्यु भएकाको शव व्यवस्थापन गर्नेछ ।”

यसले नगरपालिका जिल्लाका अन्य स्थानीय तहको अभिभावक समेत भएका कारण अन्य पालिकालाई समेत शव व्यवस्थापनमा सहयोग पुग्नेछ । साउन मसान्तसम्मका लागि नगरपालिकाले अस्थायी शव वाहनको व्यवस्थापन गरेको र त्यस बेला सम्म नगरपालिकाले नयाँ शव वाहन खरिद गरी ल्याउने नगर प्रमुख पौडलको भनाई छ ।

बागलुङमा शव वाहन नहुँदा हालसम्म एम्बुलेन्सबाटै मृतक संक्रमित बोक्दै आइएको थियो । शव वाहन नहुँदा संक्रमितको शव व्यवस्थापनमा समस्या सम्बन्धी समाचार धौलागिरी जागरण दैनिक लगायतका मिडियाले प्रकाशित गरेपछि नगरपालिकाले शव वाहन व्यवस्थापनमा चासो दिएको हो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *