निसीखोलामा १५ शैयाको आइसोलेशन

डम्मर बुढा मगर, बागलुङ
जिल्लाको पश्चिम निसीखोला गाउँपालिकामा पनि कोरोना संक्रमण बढ्दै गएको छ । संक्रमण बढ्दै जान थालेपछि गाउँपालिकाले रोकथामका लागि पहल थालेको छ । पालिकामा केही दिन अगाडि ३ जनामा संक्रमण पुष्टि भएको थियो भने बुधबार ५ जना थपिएका छन् ।

संक्रमणको जोखिमलाई मध्यनजर गर्दै गाउँपालिकाले आइसोलेशन लगायतका कार्यमा ध्यान केन्द्रित हुन थालेको छ । गाउँपालिकामा हाल ८ जना सक्रिय सक्रमित छ । हाल सम्म निसीखोला जिल्लाकै सबैभन्दा कम संक्रमित भएको पालिका हो ।

पछिल्लो समय फैलिरहेको नयाँ भेरियन्ट संक्रमण तिव्र रुपमा फैलिने र सिकिस्त पार्ने भएको हुँदा यसबाट पालिकावासीलाई जोगाउन आइसोलेशन तथा स्वास्थ्य सामग्री व्यवस्थापनमा लागेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत इश्वरलाल शाक्यले जानकारी दिनुभयो । गाउँपालिकाले गत वर्ष निर्माण गरेको पाँच शैयाको कोभिड अस्पताल संचालन गरेको र थप १० शैयाको आइसोलेशन निर्माण गरिएको शाक्यको भनाई छ ।

गाउँपालिकाले वडा नम्बर ३ मा रहेको प्रभा माध्यमिक विद्यालयमा १० शैयाको आइसोलेशन निर्माण गरिएको हो । गाउँपालिकामा हाल ४ वटा अक्सिजन सिलिण्डर रहेको र यसलाई व्यवस्थापन गर्ने उहाँको भनाई छ । थप सिलिण्डर पोखरा तथा बुटवलबाट ल्याउने प्रक्रियामा रहेको शाक्यको भनाई छ ।

‘अहिले ४ वटा अक्सिजन सिलिण्डर छन्, त्यसलाई व्यवस्थापन गर्ने र थप ल्याउने प्रक्रियामा छौँ,’ शाक्यले भन्नुभयो ‘सिलिण्डर ल्याउनका लागि प्रक्रिया सुरु भएको छ, केही दिनमा आउँछ, अन्य व्यस्थापनलाई अहिले तिव्रता दिएका छौँ ।’

गाउँपालिकाको स्रोत र साधानले सम्भव भए सम्मको तयारी र व्यवस्थापन गरिने गाँउपालिकाले जनाएको छ । गत वर्ष निर्माण गरेको कोभिड अस्पतालमा पनि स्वास्थ्यकर्मीको व्यवस्थापन गरि संक्रमितलाई राखिएको छ भने कन्ट्रयाक टेसिङलाई समेत तिव्र पारिएको छ ।

‘संक्रमण बढ्दै गएको छ, संक्रमितको व्यवस्थापन पनि गरि राखेका छौँ, यहाँको स्रोत र साधन अनुसार तयारी भइरहेको छ, कोभिड अस्पतालमा पनि स्वास्थ्यकर्मी व्यवस्थापन गरेर राखेका छौँ,’ प्रमुख प्रशासकीय अधिकृत शाक्यले भन्नुभयो ‘डाक्टर राख्नको लागि धेरै पटक विज्ञापन पनि ग¥यौँ, तर कोही नआएपछि एचए र स्टाफ नर्स मात्र राखेका छौँ, उहाँहरुले संक्रमितको उपचार र स्वास्थ्य अवस्था बारे जानकारी दिनु हुनेछ, संक्रमितको सम्पर्कमा आएकाहरुको पहिचान गरि परीक्षणको दायरालाई पनि बढाएका छौँ ।’

संक्रमण न्यूनिकरण गर्नका लागि वडा–वडामा पुगेर आम नागरिकलाई सचेत गराउने कार्य भइराखेको र भिडभाड हुने स्थान तथा पसलहरु पनि बन्द गराएको उहाँको भनाई छ । कोभिड अस्पतालमा अहिले तीन जना स्वास्थ्यकर्मी रहेको उहाँको भनाई छ ।

‘मुलुकभर संक्रमण फैलिएको छ र हाम्रो पालिमामा पनि केहीमा देखिएको अवस्था छ, थप संक्रमण बढ्न नदिनका लागि हर प्रयास हामीले गर्नेछौँ, नागरिक आफै पनि सचेत हुनु पर्ने समय आएको छ,’ उहाँले भन्नुभयो ‘पालिकाले वडा–वडामा जनचेतनामूलक कार्यक्रम गर्ने र कोभिड सम्बन्धी प्रचार प्रसारलाई पनि अगाडि बढाएका छौँ ।’

अहिले पालिकामा कम संक्रमित रहेको र त्यस अनुसारको आइसोलेशनको व्यवस्थापन भइसकेको भन्दै अबको अवस्था हेरी अन्य स्थानमा पनि आइसोलेशन निर्माण गर्ने तयारीमा रहेको शाक्यले बताउनुभयो । विदेश तथा अन्य जिल्लाबाट आउनेलाई होम क्वारेन्टिनमा सुरक्षित साथ बस्न लगाउने र परीक्षणलाई प्रभावकारी बनाउने उहाँको भनाई छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *