कोरोना रोकथाममा ढोरपाटन नगरपालिका गम्भीर बन्न स्थानीयको आग्रह

लोकेन्द्र निरासी, बुर्तिबाङ

कोरोना महामारीको दोस्रो लहर भयाबह बन्दै गएको अवस्थामा ढोरपाटन नगरपालिका गम्भीर बन्न नसकेको भन्दै जनताको जीवन रक्षाको लागि स्थानीयबासीले चिन्ता व्यक्त गर्न थालेका छन् । बागलुङ जिल्लाका अन्य स्थानीय पालिकाहरुले कोरोना भाइरसको रोकथामका लागि विभिन्न योजनाहरु बनाएर अगाडि बढेको अवस्थामा ढोरपाटन नगरपालिकाका पछिल्ला गतिविधि भने प्रायः शुन्य जस्तै देखिन्छ । कोरोना महामारी अझै भयाबह बन्दै गएमा के गर्ने भन्ने नगरपालिकासंग कुनै ठोस योजना समेत देखिदैन । छिमेकी पालिकाहरुले समेत पिसीआर टेस्ट, कन्ट्याक्ट ट्रेसिङ, आइसुलेसन निर्माण, अक्सिजनको व्यवस्था, स्वास्थ्य मापदण्डको पालना, चेकजाँचमा कडाई जस्ता कार्यहरु गरिरहँदा ढोरपाटन नगरपालिकाले यस सम्बन्धि खासै चासो दिएको देखिदैन ।

केही समय अगाडि प्राथमिक स्वास्थ्य केन्द्र बुर्तिबाङमा अक्सिजन सहितको १० बेडको आइसुलेसन कक्ष निर्माण गरिए पनि त्यो आफैमा पर्याप्त भने छैन । कोरोनाका गम्भीर विरामीहरु बढ्दै जाने हो भने यहाँ थेग्नै नसक्ने अवस्था आउन सक्ने बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रका प्रमुख डा. मिलन मल्लले बताउनु भयो । प्राथमिक स्वास्थ्य केन्द्रमा अहिले अक्सिजन, पर्याप्त स्वास्थ्यकर्मी, स्वास्थ्य सामग्री एवं औषधी लगायत स्रोत साधनको समेत निकै कमी रहेको उहाँले बताउनुभयो । अलि बढी समस्या भएका र लक्षण देखिएका विरामीहरुको छिटोभन्दा छिटो पिसिआर टेस्ट गर्नुपर्ने, पर्याप्त अक्सिजन, औषधी उपचार एवं स्रोत साधनको व्यवस्थापनमा नगरपालिकाले विशेष ध्यान दिनुपर्ने उहाँको भनाइ रहेको छ । साथै अझै दुई तीन हप्ता सबै व्यक्तिहरु सचेत रहेर घरभित्रै बसी निषेधाज्ञा तथा स्वास्थ्य मापदण्डको पालना गर्न सके कोरोना संक्रमणलाई कम गर्न सकिने डाक्टर मल्लको भनाइ रहेको छ ।

बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रमा अहिले १७ ओटा साना अक्सिजन सिलिण्डर मात्र छन् । ती पनि धेरैजसो स्थानीय निमार्ण व्यवसायीहरुको सहयोगमा संकलन गरिएको हो । तर अक्सिजन दिनुपर्ने विरामीको चाप बढ्दै जाने हो भने २४ घण्टा पनि थेग्न नसक्ने अवस्था देखिन्छ । अहिलेको मौजुदा अक्सिजनले ३ जना विरामीलाई २ दिन मात्र मुस्किलले राख्न सकिने अवस्था रहेको बताउँदैे जटिल खालका विरामीहरुलाई धौलागिरी कोभिड अस्पताल बागलुङमा पठाउने गरिएको र बुधबारदेखि विरामीको चाप अत्यधिक बढेकाले बागलुङले पनि विरामी नपठाउन भनेको ढोरपाटन नगरपालिकाका स्वास्थ्य संयोजक घनश्याम चालिसेले बताउनु भयो । यता नगरपालिकाको आदेश विना पिसिआर टेष्ट नगर्न भनेकाले लामो समयदेखि पिसिआर टेष्टलाई अगाडि बढाउन नसकिएको उहाँले बताउनु भयो ।

बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रका ५ जना स्वास्थ्यकर्मी समेत विरामी भई अहिले होम आइसुलेसनमा रहेका कारण जनशक्ति अभाव भएको स्रोतले जानाकारी दिएको छ । ढोरपाटन नगरपालिकामा कोरोनाका सक्रिय संक्रमित कति छन् ? यस विषयमा नगरपालिका समेत अनविज्ञ छ । उता बुर्तिबाङ बजारमा प्रहरीले चेकजाँचलाई केही कडाई गरे पनि बुटवल र अन्य स्थानबाट आउने सामान ढुवानीका गाडिहरुमा लुकीछिपी आउने मानिसहरुको संख्या पनि त्यति नै बढ्दै गएको छ भने भारत लगायत अन्य विदेशबाट के कति मानिसहरु नगरपालिकामा भित्रिएका छन् र तिनीहरुको अवस्था के छ भन्ने विषयमा नगरपालिकासंग कुनै आधिकारिक तथ्यांक समेत रहेको छैन । यी सम्पूर्ण परिस्थितिलाई मूल्यांकन गर्दा अबको अवस्था अझै जटिल बन्न सक्ने भएकाले नगरपालिकाले समयमै योजना बनाएर युद्धस्तरबाट अगाडि बढ्नुपर्ने देखिन्छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *