धौलागिरी अस्पतालमा २० दिनमै नयाँ अक्सिजन प्लान्ट !

आदर्श अनलाइन, बागलुङ

कोरोना संकटको सकससँगै धौलागिरी अस्पतालमा अहिले धमाधम उपकरण जडान सहित गुणस्तरिय सेवाका लागि काम भइरहेको छ ।

धौलागिरी अस्पतालमा अहिले ३५ बेडको कोरोना शैया भएकोमा तत्कालै एक सय शैया बनाइदैछ । जसका लागि आवश्यक अक्सिजन समेत २० दिन भित्रै प्रबन्ध मिलाइने धौलागिरी अस्पतालले जनाएको छ ।

अस्पतालमा दुई वर्ष अघि गण्डकी प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयले ९० लाखको लागतमा अक्सिजन प्लान्ट सञ्चालनमा आए पनि कोरोनाका बिरामी बढ्नु र सबैलाई अक्सिजन आवश्यक हुँदा अहिले थप दैनिक ८० अक्सिजन सिलिण्डर खपत भइरहेको अवस्थामा संघीय सरकारले हालै बिनियोजन गरेको तीन करोड बजेटबाट २ सय शैयालाई पुग्ने गरी अक्सिजन प्लान्ट थप गर्ने तयारी भएको धौलागिरी अस्पताल व्यवस्थापन समितिका अध्यक्ष केबी राना मगरले जानकारी दिनुभयो ।

“तीन करोड धौलागिरी अस्पताललाई बजेट आएको छ, बेड विस्तारका लागि सबै तयारी प्रदेशले गरे पनि अक्सिजनको अभाव हुने भएकाले पहिला अक्सिजन प्लान्ट जडान पहिलो प्राथमिकता रह्यो” रानाले भन्नुभयो “चिनिया सप्लायर्सले २० दिन भित्रै अक्सिजन प्लाट स्थापना गर्ने भनेको छ, हामीलाई नागरिकको जीवन रक्षाका लागि छिटो प्लान्ट जडान गर्नुपर्ने छ, हामीले उसैलाई जडान गर्न दिने तयारी गरेका छौं ।”

अस्पतालमा रहेको अहिलेको अक्सिजन प्लान्टले करिब २० बिरामीलाई पुगे पनी थप बिरामीलाई सिलिण्डरको प्रयोग हुदै आएको छ । अस्पतालमा अहिले १ सय २८ अक्सिजन सिलिण्डर पुगेको छ ।

धौलागिरी अस्पतालमा कोरोनाका बिरामी चा बढेको अवस्थामा तीन करोड बजेट विनियोजन हुँदा अस्पताल व्यवस्थापनमा राहत पुग्नेछ । जिल्लामा अहिले सक्रिय संक्रमितको संख्या ८ सय कटेको छ ।

अस्पतालमा तीन आइसियु, दुई भेन्टिलेटर सहित ३५ बेडको आइसोलेशन छ । तर, ४० संक्रमितलाई उपचार गर्दा समस्या भएपछि क्षमता विस्तार र पूर्वाधार थप गर्न गण्डकी प्रदेश सरकारको सामाजिक मन्त्रालयले समेत रु.६० लाख रकम बिनियोजन गरेको छ । अहिले भएको अक्सिजन प्लान्ट समेत मर्मत गरी अक्सिजन उत्पादनको क्षमता बढाइने र त्यसका लागि गण्डकी प्रदेश सरकारले रु. १० लाख बिनियोजन गरेको छ ।

यो पनि पढ्नुहोस्