राम सुवेदी
सामाजिक न्याय, सभ्य समाज र जनहितकारी व्यवस्थाका द्योतक राजनीतिक दल र नेताहरु मानिन्छन् । राजनीतिशास्त्रमा राजनीतिलाई एक स्वच्छ सामाजिक अभियानलाई नीतिको लिपियुक्त विज्ञान भनिएको छ ।
राजनीति आफैमा एक विज्ञानको हैसियत राख्छ र यसले राष्ट्रिय अन्तर्राष्ट्रिय गतिविधिलाई सुक्ष्म अध्ययन सहित आफ्नो भूगोल, वस्तु्स्थिति र परिवेशजन्य आधारमा जनतामा शासन गर्दछ भनिएको छ । राजनीतिमा समाजलाई समानताको न्याय हुन्छ । सभ्यता सहितको समाज निर्माण गर्न यहाँका सामाजिक प्राणीहरुको स्वतन्त्र तथा निश्वार्थ सामाजिक अगुवाई हुन्छ भनिएको छ ।
विना कुनै स्वार्थले जनताको हक, अधिकार र न्यायको पक्षमा उभिएको सरल, स्वच्छ छवि सहित समाजले उभ्याएको व्यक्ति राजनैतिक नेतृत्व हुन्छ, राजनीतिशास्त्रमा यही उल्लेख छ ।
हामीकहाँ त्यस्तो किन भएन होला ? हाम्रो देशको राजनीति नीति, थिति र विधि उल्लंघन गरेर स्थापित भएको हो त ? कालखण्ड र शासकहरुको गति अभिष्टका कारण जनता थिचोमिचोमा परेका बखत संघर्ष हुनु, अन्तरसंघर्षले चरम रुप लिनु, आन्दोलन वा राज्यसत्ताको विरोध हुनु, क्रान्ति हुनु राजनैतिक हिसावले न्यायपूर्ण प्रतिरोध हो भनेर मान्यता पनि राखेको हुन्छ । तर, जनसंघर्षलाई बढ्ता जोड दिइएको हुन्छ । जनसंघर्षको अगुवाई गर्ने, जनताको हक हितका खातिर जेल, नेल संघर्षमा बलिदान दिनेहरु जननेता हुन्छन् ।
के हामी कहाँ देखिएको राजनैतिक वृत्तमा त्यस्ता नेताहरु जो जनताको पक्षधर छन् वा आफ्नो राजनैनिक नीति, सिद्धान्त, मूल्य मान्यताका कुरा एकातिर गर्छन् । व्यवहारतः अर्कै परिवेशमा उनीहरुको उपस्थिति हुन्छ । यसखालको द्धिविधापूर्ण, विरोधाभास र स्वार्थी नेतृत्वले राजनीतिलाई धमिलो बनाएको छ ।
राज्य व्यवस्था परिवर्तन गर्ने हरेक आन्दोलन, अभियान र संघर्षमा जनताको महान सहभागीता रह्यो । विभिन्न चरणमा देशको राजनैतिक व्यवस्था फेरियो । व्यवस्था परिवर्तन पछि त्यसको स्वरुप र संरचना बदलिनु पर्दथ्यो । तर, बिडम्बना जहाँ जहाँ व्यवस्था परिवर्तन भयो, त्यहाँ त्यहाँ तिनै पुराना व्यवस्थाका मतियारहरु नयाँ राजनैतिक दलका नेतृत्वबाट अघिल्तिर आए । उनीहरुको नीजि प्रवृत्ति नसुध्रिएकै कारण विभिन्न बाहनामा राज्य व्यवस्था, नयाँ बनेको संविधान र त्यसको परिपालनामा फेरि अर्को पटक धमिलोपन देखा परेको छ । बहुलवादी राजनैतिक व्यवस्था, प्रजातान्त्रिक मूल्य मान्यता र त्यसबाट अझै उच्चतम राजनैतिक सभ्यता बोकेको लोकतान्त्रिक गणतन्त्रमा आजको परिवश देश, भूगोल, यहाँको अर्थतन्त्र यही परिवर्तितत परिवेशमा न्यायोचित राज्य व्यवस्थाका सपना देखेका जनताको हित विपरितको परिदृश्य राम्रो छैन । आजको राजनीति धमिलो मात्र होईन, पूर्वाग्रह, स्वार्थ, विवेकहिनताको चरम उत्कर्षमा छ । सामाजिक मुल्य, मान्यता र नैतिकतामा खडेरी छ । नेतृत्व बेइमानी, कपटी र निँच स्तरमा उत्रिएर निर्लज्ज छ ।
हामीले राजनीति र यो व्यवस्थामा समानता र सभ्यताकोे सपना देख्यौं । जनताको न्यायपूर्ण व्यवस्थाका व्यवस्थापकहरुको नैतिक आधार गतिलो होस् भनेर सोच्यौं । आफ्नाहरु मासेर आफन्तहरुको सच्याई र भविश्यको खातिर ज्यानबाजीका खेलहरुमा समाहित भयौं । व्यवस्था सुदृढ होला भनेर कैयौंले काख रित्यायौं, सिन्दुर पुछ्यौं । अंगभंग भएर भएपनि समानताका खातिर चुपचाप बस्यौं, घर उजाड्यौं । लखेटिंदै लखतरान भयौं । तर, व्यवस्थापकहरुको नियतीले राजनैतिक स्वच्छन्दता धमिलो बनाईरहेको देख्न परेकै छ ।
जनताको न्यायपूर्ण वकालत मन पराएर, पंक्तिवद्ध भएका पंक्तिकारले न्यायपूर्ण आन्दोलनको पक्षधर भएर अहोरात्र खटिएको यही अवस्था र परिवेशका लागि होला ? व्यक्तिगत आशा, अपेक्षा र भरोसाहरु थाति राखेर नजान उमेरमा राजनीतिको घोडा चढ्दै, देश, जनताले सुख पाउने व्यवस्थाका खातिर जीवनका योगदान के आजकै दिन हेर्न गरिएका खेलाँची थिए ? एउटा व्यवस्थाले जनतालाई न्याय दिएन, अन्यायपूर्ण आन्दोलनको पंत्तिकार भएर विभिन्न दुर्घटनामा होमिएका ति न्यायपूर्ण पंत्तिकारहरुको विचार, दर्शन र आर्दशता यस्तै हुन्छ ? यो गति बोल्छ ? आज राजनीतिमा पाखण्डता हावी भएको छ । उनीहरुको व्यभिचारी मनगणन्ते अभिव्यक्ति र विचारहरु कुनैपनि परिवेशमा अर्थपूर्ण, तर्कपूर्ण र न्यायोचित छैनन् र हुन सक्दैनन् ।
जनता न्यायपूर्ण आन्दोलनका मोर्चाहरुमा पंक्तिवद्ध भएको, स्वतन्त्रताका लागि मृत्युसँग व्यवस्था साट्न तयार भएको खेलासी कुरा होईन । आज राजनैतिक स्वतन्त्रताका अभ्यासमा बकबक गर्नेहरु हिजो कुन दुलोका थिए, अलि अलि याद गर्नेहरुले ठाडै गिज्याईरहेको छ । होला समय घर्कियो र स्वार्थीहरुको राजकाज चल्यो भनेर मैमत्ता उपस्थिति, अन्धभक्त रत्यौलीका कलाकारहरु राजनीतिमा उफ्रिएका छन् । त्यसो मात्र होईन होला, जो हिजो संघर्षमा थिए, बलिदानीपूर्ण आन्दोलनमा होमिए उनीहरुको जिउँदो र अन्यायपूर्ण राजनैतिक चपेटाको परिदृश्य परबाट हेर्दै गर्दा आफैमा लज्जाका सवालहरु उथलपुथल भएकै हुनुपर्दछ ।
न्याय मर्दैन, मार्ने कोसिस हुन्छन् । सत्ता र स्वार्थमा वर्तमान राजनीति अलमलिएको मात्र होइन । बहुरुपी भेरिएन्टका रुपमा विकसित भइरहेको छ । नैतिक मूल्य हरक्षण चुकाईरहेको छ । जनताको मनमा घृणाका पात्र राजनेता भनिएकाहरु छाईरहेका छन् । उन्माद र उछृङ्खलहरुको गाईजात्रा राजनीति बनेकोका चिन्ता व्यक्त गरिहेका छन् । राजनीति जसरी बिग्रियो वा बिगारियो, यसको दोष अहिलेका उट्पटयाङ नेताहरु हुन् । उनका कारण राजनीति विलासिएको छ । नीति सिद्धान्त र विचार भासिएको छ । सबैले थाहा नपाएको सवाल होईन तर त्यसकै चाकरीमा रमझमाएकाहरु होशमा छैनन् । जनताको सेवकका रुपमा परिभाषित जनप्रतिनिधि पद, त्यसका लागि हुने गरेका चुनाव, त्यहाँ गरिएका हत्कण्ड, सबै फहेरिस्त छ । यो व्यबस्था भ्रष्ट, दुराचारी, अपारदर्शी धुर्तहरुको हो । जहाँ तिनै अगतिला मान्छेहरु नाजायज हर्कतबाट जनसत्तामा पुग्छन् र त्यसको दुरुपयोग गर्छन् । यो पार्र्टी, त्यो पार्टी वा दल नभनौं । नेपालमा सबै पार्टी, राजनैतिक दल र तिनका नेतामा निष्ठा च्यूत भएको छ ।
राजनैतिक परिवर्तनका सवालमा जहिलेपनि अन्यायपूर्ण आन्दोलनको मोर्चामा होमिने योद्धाहरुलाई राज्यसत्ताको आडमा कत्ति झुट्टा मुद्धाहरु लगाइएका छन् । दुःख दिइयो, जेलनेल हालियो, विचार थाकेन । कारण आफ्नो मोर्चा सधै अन्यायपूर्ण व्यवहार देखाउने राज्य सत्ता र वर्तमान व्यवस्थाको व्यवहार हो भन्ने जाने बुझेकाहरु अझै निखारिन्थे, तिखारिन्थे । आज त्यही मोर्चाबाट, आफ्नै सहयोद्धा माथि हिंसात्मक र ध्वंसात्मक योजना ल्याईन्छ । कतुतधारीहरुसँग साँठगाँठ र संगठित भईन्छ । व्यभिचारपूर्ण हर्कतहरु गरिन्छ । अन्तमा दुनियाँका आँखामा लज्जाजनक ढंगले उसको बदनाम गर्न अनुशासन, विचार र व्यवहार उहिल्यैबाट मिलेको थिएन भन्दै अन्यायपूर्ण औकातको छडि अरु पंक्तिकारहरुलाई देखाइन्छ । खास राजनीति र राजनैतिक खेलाडि यस्तै गर्ने बेइमानलाई मान्न थालिएको छ ।
राजनीति दुई थरी छ । एक न्यायपूर्ण राजनीतिमा, दुई अन्यायपूर्ण राजनीति । न्यायपूर्ण राजनीतिमा संघर्ष हुन्छ र अन्यायपूर्ण राजनीतिमा स्वार्थ हुन्छ । आज नेतृत्व लोभ, पदिय लालच र त्यसको आड्मा कहीं न कहीं सत्ता स्वादको चाख लाग्दो रसस्वादन प्राप्त हुने दुराशयले यसखालको खेल खेलिएको छ । विचार माथिको धावा, विवेक माथिको विध्वंश, नैतिकता माथिको संकट, दर्शन प्रतिको लज्जापूर्ण मजाक यि सबै नेताका नीजि स्वार्थले उनका जीवन उकास्ने खेल र खेति चलाइंदैछ । के यही संस्कार राजनीतिमा हुनुपर्दछ ?
न्यायपूर्ण आन्दोलनमा देखिएका आइडियलहरुका व्यवहार हेरौं । क्रान्तिकारी विचार र सिद्धान्तमा जानेमाने विद्धता प्राप्त नेतृत्वको वर्तमान बैचारिक र सैद्धान्तिक औचित्य र औकात हैरौं । न्याय, समानता र सभ्यताका प्रखर भनिएका नेतृत्वका कला कौशल र उनीहरुको प्रहसन हेरौं । अन्ततः राजनीति फोहोरी खेल भयो । जसले नीति खलबल पार्यो । आफै राजनीति धमिल्यो ।