ढोरपाटन बाढी पीडित भन्छन्ः ‘शोक र रोगपछि भोकको चिन्ता’

डम्मर बुढा मगर, बागलुङ
गत भदौँ १७ गते भूजीखोलामा आएको बाढीले सयौँलाई घरबार बिहिन बनायो । कैयनले परिवारका सदस्य र आफन्त गुमाए । तीन दर्जन बढीको ज्यान गयो । त्यो अप्रत्यासित घटनाका कारण अझै पनि भूजीखोलावासीको आँखा ओभाएका छैनन् । बाढीले घर सम्पत्ति बगाएपछि अहिले यहाँका सयौँ नागरिक आफन्तको आश्रय लिएका छन् भने वर्षदिन हुन लाग्दा कतिले बल्ल घर बनाउन सुरु गरेका छन् ।

पीर ब्यथाका बिच बस्ती बसाउन थालेका बाढी पीडितहरुलाई दोस्रो लहरको कोराना महामारीले थप पीडा दिएको छ । आफन्तकहाँ बसेर मजदुरी गरेरै दैनिकी गुजारा गरेका उनीहरुलाई कोरोनाले गर्दा दैनिकी चलाउन थप हम्मे हम्मे भएको छ । बाढी र कोरोना महामारीले आफूहरुलाई दिनु पीर दिएको पीडितहरु बताउँछन् ।

बाढीमा जीवन संगीनी सहित सबै सन्तान गुमाएका ढोरपाटन नगरपालिका वडा नम्बर ९ का निमप्रकाश विक अहिले आफन्तकोमा आश्रय लिएर बस्नुभएको छ । दिनमा ज्याला मजदुरी गर्ने र साँझ विहान आफन्तकोमा छाक टार्ने गर्नुभएका उहाँलाई अहिले निकै समस्या परेको छ । कोरोनाका कारण समुदायमा फैलिएको त्रासले अहिले सबै कामहरु बन्द छन् । जसका कारण विकलाई झन् समस्या थपिएको छ ।

‘बस्न त आफन्तैकोमा बसेको छु, खेतीपाती गरौँ भने पनि बाढीले केही नराखी सबै जग्गा जमिन बगाई दियो, दिउँसोमा काम गरेर अलिअलि कमाई हुन्थ्यो, त्यहीबाट गुजारा चलाएको थिएँ’ उहाँले भन्नुभयो, ‘कोरोनाले गर्दा त्यही काम पनि रोकियो, आफन्तको भरमा कति दिन चल्छ र ? रोगले भन्दा पनि भोकले मरिएला जस्तो भो ।’

बाढीले २५ वर्षीया श्रीमति चनी विक, ९ वर्षीय जेठो छोरो, २ वर्षीय माइलो छोरो र २२ दिनको कान्छो छोरा सहित भए भरको जायजेथा सबै बगाएको थियो । अहिले कोरोनाका कारण आफूलाई एक्लो ज्यान पाल्न समेत धौ–धौ भएको बताउनुहुन्छ ।

‘केही छैन, घर सम्पत्ति भएको ठाउँ अहिले बगर बनेको छ, के मा गरिखाने, कमाइ खाउँ भने पनि कोरोनाले सबै काम ठप्प छ, मागेर खाउँ भने पनि सबै आफै जस्तै पीडामा छन्’ निमप्रकाशले भन्नुभयो, ‘पहिला ४/५ जनाको परिवार पाल्न सजिलै सकेको थिएँ, अहिले एक्लो ज्यान पाल्न पनि साह्रै मुस्किल परेको छ ।’

विकले छर छिमेकीको सहयोगमा अहिलेसम्म चलेको भन्दै कोरोना यसैगरी बढ्दै गए भोक–भोकै बस्नु पर्ने अवस्था आउन सक्ने बताउनु हुन्छ । उहाँले बाढी आउँदाको समयमा विभिन्न संघ संस्था तथा सरोकारवाला निकायबाट लत्ता कपडा, खाद्य सामग्रीहरु पाए पनि अहिले आफूलाई कसैले पनि सहयोग नगरेको बताउनुभयो ।

उहाँले सरकारले जग्गा व्यवस्थापन गरेर घर बनाइ दिने आवाश्सन दिए पनि अहिलेसम्म कुनै जानकारी नदिएको बताउनुभयो । यो समयमा सरकारले आफू जस्ता पीडितलाई राहतको व्यवस्था गर्नु पर्ने भन्दै यस्तो महामारीमा कुनै पनि सरकारी निकायले सहयोग नगरेको उहाँको दुखेसो छ ।
सोही वडाका कुलबहादुर विकको अवस्था पनि उस्तै दयनीय छ ।

बाढीले उहाँको घर जग्गा जमिनसहित २२ वर्षका जेठो छोरो, २१ वर्षकी बुहारी, १८ वर्षकी छोरी र ४ वर्षकी नातिनी बगाएको थियो । घरबारी नभए पछि अहिले माइतीको आश्रय लिएर बसेको उहाँ बताउनुहुन्छ ।कुलबहादुरले घर बना

उने ठाउँमा जग्गा समेत नभएको हुँदा माइतीले दिएको जग्गामा घर बनाउँदै गरेको बताउनुभयो । सरकारले पीडितलाई सहयोग नगरे पछि ऋण धन गरेरै घर बनाउन थालेको तर कोरोनाले सबै काम रोकिएको बताउनुभयो । उहाँले कोरोनाले गर्दा परिवारको छाक टार्न समेत गाह्रो पर्दै गएको बताउनुभयो ।

‘सरकार छ कि छैन हामीलाई थाहा छैन, भएको भए त जनता यस्तो दुःखमा पर्दा सहयता दिनु पर्ने हो, घरमा खाने खर्च छैन, काम गरेर कमाउँ भने लकडाउन छ,’ उहाँले भन्नुभयो, ‘अब हामी कसरी बाँच्ने ? भोक भोकै मर्ने स्थिती आउन लाग्यो ।’

उहाँले नगरपालिकाले घर बनाउन पहिलो किस्ता बापद ५० हजार दिएको सुनाउँदै अरु किस्ता दिने कुनै जानकारी अहिलेसम्म नआएको बताउनुभयो । विकले यो समयमा किस्ता दिए छाक टार्न र घरको छानो छाउनका लागि सहयोग पुग्ने बताउनुभयो । ‘भोकले त मर्न भएन, अहिले यस्तो बेला सहयोग भए त हाम्रो लागि निकै राहत हुन्थ्यो’ उहाँले भन्नुभयो ।

ढोरपाटन नगरपालिका मेयर देवकुमार नेपालीले कुनै पनि नागरिक भोकै बस्न नपर्ने बताउनुभयो । उहाँले बिपन्न, मजदुर, गरिबहरुको तथ्याङ्क संकलन गर्न लगाएको भन्दै उनीहरुको दुःखमा नगरपालिकाको साथ रहने बताउनुभयो ।

‘कुनै पनि नागरिक भोकै बस्न पर्दैन, उनीहरुको समस्यामा हामी छौँ, हामीले सहयोग गछौँ, नगरपालिकाबाट सम्भव भएन भने मैले व्यक्तिगत रुपमै भए पनि सहयोग गर्छु,’ नगर प्रमुख नेपालीले भन्नुभयो, ‘उनीहरुको लागि खाद्यान्न लगायत आवश्यक सामानको प्रबन्ध हामी मिलाउँछौँ ।’

ढोरपाटन नगरपालिका वडा नम्बर ६, ७, ८ र ९ मा आएको बाढीले १३१ घरमा क्षति पु¥याएको थियो भने ११ वटा जलविद्युत आयोजनाको गृह तथा नहर, एक स्वास्थ्य इकाई, ११ झोलुङ्गे पुल, ढलान पुल ५ वटा काठेपुल १० र दुई विद्यालय समेत बगाएको थियो ।

यो पनि पढ्नुहोस्