होम आइसोलेशनका संक्रमितलाई स्वास्थ्यकर्मीसँगै घर-घरमा भेट्दै नगर प्रमुख

आदर्श अनलाइन, बागलुङ

नगर भित्रका कोरोना संक्रमितलाई हौसला तथा औषधी वितरण गर्दै बागलुङ नगरपालिकाका नगर प्रमुख तथा नगरपालिकाको स्वास्थ्य शाखाको टोलीले घर–घरमा पुगिरहेका छन् ।

टोलीले पालिका भित्र रहेका होम आइसोलेशनमा रहेका बिरामीको स्वास्थ्य अवस्था मात्र बुझेका छैनन्, आवश्यक परामर्श पनि दिएका छन् । बागलुङ नगरपालिकाका नगर प्रमुख जनकराज पौडेल तथा बागलुङ नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख रामप्रसाद खनाल लगायत स्वास्थ्यकर्मीको टोलीले बागलुङ नगरपालिकाका विभिन्न वडामा रहेका सक्रिय संक्रमितको घर–घरमै पुगी स्वास्थ्य अवस्था बुझ्दै, आवश्यक सिटामोल, जीवनजल, भिटामिन लगायतका औषधी वितरण गर्दै तथा आवश्यक परामर्श दिईरहेका छन् ।

भेटमा स्वास्थ्य अवस्थाको बारेमा जानकारी लिने, होम आइसोलेशनमा बस्दा अपनाउनुपर्ने विभिन्न विधिको बारेमा जानकारी गराउने, मास्क, सेनिटाइजर लगायतका स्वास्थ्य सामग्री र पोषिलो खानेकुरा खाने लगायत स्वास्थ्य मापदण्डको बारेमा जानकारी दिईरहेका छन् । बागलुङ नगरपालिकाका प्रमुख जनकराज पौडेल भन्नुहुन्छ “कोभिड–१९ ले निम्त्याएको तथा निम्त्याउने खतरा भयावह बन्दै गैरहेको छ, तै पनि सामान्य लक्षण हुँदा पनि संक्रमित भइसकेपछि मानिसलाई मानसिक रुपमा असर पर्ने र आत्तिने गर्छन्, यस्तो बेलामा हामी नगरपालिकाको स्वास्थ्यर्मीसहित घर–घरमा पुगेका छौँ ।” यसो गर्दा संक्रमित तथा संक्रमितका परिवारलाई थोरै भए पनि मानसिक तनाव कम हुने भन्दै अभियान थालिएको हो नगर स्वास्थ्य शाखाले जनाएको छ । पालिका भित्र रहेको स्वास्थ्य चौकीले कसरी काम गरिरहेको र त्यसको अनुगमन पनि गर्नका निम्ति उक्त अभियान सुरु गरेको उहाँले बताउनुभयो ।

बागलुङ नगरपालिकाका नगर स्वास्थ्य शाखा प्रमुख राम प्रसाद खनालका अनुसार संक्रमितलाई मानसिक रुपमा तन्दुरुस्त गराउन सकेमा रोक छिटो भन्दा छिटो निको हुने बताउनुहुन्छ । “कोभिड–१९ को महामारी रोकथाम, ब्यवस्थापन र नियन्त्रणको शिलसिलामा हामी नगरप्रमुखको नेतृत्वमा नगरक्षेत्र भित्र रहेको कोरोना संक्रमितको घर–घरमा पुगरे सक्रिय संक्रमितको स्वास्थ्य अवस्था बुझ्नुका साथै सिघ्र स्वास्थ्य लाभको कामना गर्दै औषधी पनि दिएको छौ” उहाँले भन्नुभयो “घरघरमा पुगि स्वास्थ्य अवस्था बुझ्दा संक्रमितहरुको आत्मबल बढेको पाएका छौं ।”

संक्रमित तथा संक्रमितको परिवारले यस अभियानलाई सकरात्मक हिसाबले लिएको प्रतिक्रिया दिएका छन् । क्वारेन्टाईनमा बस्न भन्दा परिवारको रेखदेखमा बस्नाले रोगलाई छिटो परास्त गर्न सकिने कोरोना संक्रमण पुष्टि भएर निको भएकाहरुको भनाई छ । नगरप्रमुख तथा नगर स्वास्थ्य शाखाको टोली घर–घरमा गएर कोरोना संक्रमितलाई भेट्दा आफुहरुलाई ढुक्क भएको संक्रमित तथा संक्रमितका परिवारले बताएका छन् ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *