होम आइसोलेशनमा मृत संक्रमितको शव व्यवस्थापनमा समस्या

डम्मर बुढा मगर, बागलुङ

कोरोना संक्रमणको दर बढेसँगै जिल्लामा मृत्युदर पनि बढ्दै गएको छ ।

अहिले दैनिकजसो कोभिड संक्रमितको मृत्यु समेत हुँदै गएको छ । कोरोना संक्रमण दर बढे पनि जिल्लामा अधिकांश संक्रमित होम आइसोलेशनमै बसेका छन् । लक्षण सहित केही जटिलता देखिएकाहरु धौलागिरी अस्पताल र विभिन्न पालिकाहरुले बनाएका संस्थागत आइसोलेशनमा छन् ।

गत महिनासम्म संक्रमितको धौलागिरी अस्पताल तथा अन्य अस्पतालहरुमा मृत्यु हुने र नेपाली सेना लगायत सुरक्षाकर्मीले शव अन्त्येष्टिमा सहयोग गरे पनि अहिले होम आइुसोलेशनमा समेत संक्रमितको मृत्यु हुन थालेको छ । संक्रमितको होम आइसोलेशनमै मृत्यु हुन थालेपछि स्थानीय त्रसित बनेका छन् भने पालिकाहरुलाई पनि शव व्यवस्थापनमा समस्या भएको गुनासो गर्न थालेका छन् ।

धौलागिरी अस्पतालमा मृत्यु हुने संक्रमितको शव नेपाली सेनाले व्यवस्थापन गर्दै आएको छ भने होम आइसोलेशनमा मृत्यु भएकाहरुको परिवार र स्थानीय पालिकाले व्यवस्थापन गर्दै आएका छन् ।
हालसम्म जिल्लामा ४ जनाको होम आइसोलेशनमा मृत्यु भएको स्वास्थ्य कार्यालयले जनाएको छ । उनीहरुको स्थानीय पालिकाले नै शव व्यस्थापन गरेका छन् ।

हालसम्म जिल्लाको बडिगाड गाउँपालिकाले सबै भन्दा बढी शव व्यवस्थापन गरेको छ । बडिगाड गाउँपालिकाले होम आइसोलेशनमा मृत्यु भएका एक जना सहित पाँच जनाको शव व्यवस्थापन गरेको गाउँपालिकाका अध्यक्ष मेहरसिंह पाइजाले जानकारी दिनुभयो ।

गाउँपालिकामा एक जनाको होम आइसोलेशनमा मृत्यु भएको थियो । उहाँले पालिकाले शव व्यवस्थापन गर्दा केही समस्या आए पनि त्यसलाई गाउँपालिकाले जसरी पनि व्यवस्थापन गर्नु पर्ने बाध्यता रहेको बताउनुभयो । उहाँले राज्यले सबै जिम्मेवार स्थानीय तह माथि थोपरेको र सरकारले कुरा मात्रै गर्ने काम नगर्ने भन्दै आक्रोश समेत व्यक्त गर्नुभयो ।

‘राज्यले सबै जिम्मा स्थानीय तहलाई दिएको छ, उसले कुरा मात्रै गर्छ, नीति मात्रै बनाउँछ तर कार्यान्वयन गर्दैन, जसले गर्दा राज्यले केही गर्ला जस्तो लाग्दैन,’ अध्यक्ष पाइजाले भन्नुभयो ‘अहिलेसम्म गाउँपालिकाले पाँच जनाको शव आफै व्यवस्थापन ग¥यौँ, जिम्मेवारी आएपछि जस्ता समस्या आए पनि पूरा गर्न प¥यो, त्यो अनुसारको जनशक्ति पनि व्यस्थापन गर्दैछौँ ।’

गलकोट नगरपालिकाका प्रवक्ता तथा वडा नम्बर २ का अध्यक्ष हिमबहादुर भण्डारीले पालिकालाई संक्रमितको शव व्यवस्थापनमा समस्या परेको बताउनुभयो । उहाँले पालिकामा जनशक्ति कम भएको कारण शव व्यवस्थापनमा समस्या परेको भन्दै पालिकाले नै यसको व्यवस्थापन गर्दा स्थानीयमा कोरोना संक्रमण फैलिने त्रास भएको भताउनुभयो ।

‘नगरपालिकामा सिमित जनशक्ति छ, उही कर्मचारीले कार्यालयबाट सेवा दिने र शव व्यवस्थापनमा खटिने हुँदा सेवाग्राही तथा आम नागरिकमा त्रास फैलिएको छ,’ प्रवक्ता भण्डारीले भन्नुभयो ‘मृतकका परिवार पनि डराउने गरेको अवस्था छ, हस्पिटलमा जसरी सेनाले व्यवस्थापन गर्छ त्यसरी नै स्थानीय पालिकामा पनि गर्ने वातावरण हुनुपर्छ ।’

भण्डारीले स्थानीय तहले कोरोना रोकथाम तथा नियन्त्रणका विभिन्न कामहरु गर्दै आएको भन्दै शव व्यवस्थापन गर्ने जनशक्तिका लागि नगरपालिकाले आवश्यक स्वास्थ्य सुरक्षाको व्यवस्थापन गर्ने बताउनुभयो । त्यसका लागि जनशक्ति व्यस्थापन गरि दिन प्रशासनलाई आग्रह गर्नुभयो ।

‘सबै पालिकामा सिमित जनशक्ति छन्, उनीहरुले शव व्यवस्थापन गर्न सक्ने अवस्था छैन र परिवारका आफन्त पनि त्रसित हुने हुँदा पालिकालाई शव व्यवस्थापन गर्न समस्या भएको छ,’ उहाँले भन्नुभयो ।

जिल्ला प्रशासन कार्यालय बागलुङका सहाय प्रमुख जिल्ला अधिकारी तथा सूचना अधिकारी दीपक पौडेलले होम आइसोलेशनमा मृत्यु भएका नागरिकहरुको शव व्यवस्थापन परिवारले गर्नु पर्ने नीति रहेको भन्दै परिवारले नसके स्थानीय पालिकाले समन्वय गरेर व्यवस्थापन गर्नु पर्ने बताउनुभयो । उहाँले स्वास्थ्य सुरक्षाको मापदण्डलाई पालना गरेर परिवारले नै शव व्यवस्थापन गर्न सक्ने बताउनुहुन्छ ।

कोरोना संक्रमणबाट मृत्यु भएका नागरिकको शव व्यवस्थापनमा परिवारलाई थप चुनौति देखिन्छ । परिवारले नै आफन्तको शव व्यवस्थापन गर्न थाले समुदायमा संक्रमण फैलिन सक्ने स्थानीयको भनाई छ । सहायक प्रजिअ पौडेलले स्वास्थ्यकर्मीको सुझाव अुनसार मृतकको शव व्यवस्थापन गर्नु पर्नेमा जोड दिनुहुन्छ ।

उहाँले अस्पतालमा मृत्यु भएका नागरिकको नेपाली सेनाले शव व्यवस्थापन गर्ने र परिवारले आफै गर्ने चाहना राखे परिवारले नै शवको व्यवस्थापन गर्न सक्ने बताउनुहुन्छ । ‘अस्पतालमा मृत्यु हुने संक्रमितको नेपाली सेनाले शव व्यवस्थापन गर्ने नीति छ, परिवारले चाहेमा परिवारले पनि गर्न सक्छन्,’ उहाँले भन्नुभयो ‘पालिकामा वा होम आइसोलेशनमा मृत्यु हुनेको परिवारले स्थानीय सरकारसँग सहकार्य गरेर शवको व्यवस्थापन गर्नु पर्ने हुन्छ ।’

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *