बजेटमा बागलुङ : विस्थापितको पुर्नस्थापनादेखि उत्तरगंगा जलविद्युत आयोजना कार्यान्वयनसम्म

आदर्श अनलाइन, बागलङ

सरकारले शनिबार प्रस्तुत गरेको आर्थिक वर्ष २०७८/८९ को बजेटमा बागलुङका पाँच क्षेत्रलाई समेटिएको छ ।

बजेटमा विस्थापितको पुर्नस्थापना, उच्च अदालतको भवन पुर्ननिर्माण, धार्मिक पर्यटकीय क्षेत्र भैरवस्थानको विकास, पोखरा–बागलुङ सडकमा सुरुङ निर्माणको अध्ययन तथा उत्तरगंगा जलायशयुक्त जलविद्युत आयोजनाको कार्यान्वयन गर्ने उल्लेख गरिएको छ ।

शनिबार बजेट भाषणका क्रममा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बागलुङ जिल्लामा बाढी पहिरोमा परी विस्थापित परिवारलाई प्राथमिकताका साथ पुर्नस्थापित गर्ने बताउनुभयो ।

गत वर्ष बागलुङ जिल्लाको ढोरपाटन क्षेत्र सहित जिल्लामा बाढी पहिरोका कारण विस्थापित परिवारको पुर्नस्थापनाका लागि बजेटमा उल्लेख छ । बजेटमा बागलुङ सहित म्याग्दी, सिन्धुपाल्चोक, गुल्मी, दाङ, सुर्खेत, बाँके र बर्दिया जिल्लामा विपद्बाट विस्थापित परिवारलाई पुर्नस्थापना कार्यक्रम कार्यान्वयन गरिने उल्लेख छ ।

बागलुमा गत वर्ष मात्रै बाढी पहिरोका कारण क्षति पुगेका ५९० घर पुर्नस्थापना गर्ने गरि सरकारलाई जिल्ला प्रशासन कार्यालयले सिफारिस गरिसकेको छ । जिल्लाको ढोरपाटनमा मात्रै भदौं १७ गते आएको बाढीले २२ जनाको मृत्यु भएको थियो भने १६ जना अझै वेपत्ता छन् ।

बजेटमा अर्थमन्त्री पौडेलले पोखरा–बागलुङ मध्यपहाडी लोकमार्गको हेम्जा देखि नयाँपुल खण्डमा सुरुङ मार्ग निर्माणको लागि सम्भाव्यता अध्ययन र विस्तृत परियोजना प्रतिवेदन तयारी गरिने बताउनुभयो ।

२०७२ सालको भुकम्पले चिरा परेको पोखरा उच्च अदालत बागलुङ इजलाशको भवन पुर्ननिर्माण गर्न आवश्यक बजेट विनियोजन गरेको बजेटमा उल्लेख छ । न्याय सम्पादन गर्न नसक्ने गरि रातो स्टिकर टाँसिएको भवनबाटै हाल न्याय सम्पादन भइरहेको छ । भूकम्प गएको ७ वर्ष सम्म भवन पुर्ननिर्माण नुहँुदा चर्केको भवनबाट न्याय सम्पादन गर्नुपर्ने बाध्यता अदालतलाई छ ।

जलविद्युत विकास शीर्षक तर्फ नेपालको सबै भन्दा सस्तो तथा नमूना जलविद्युत आयोजनाको रुपमा रहेको ढोरपाटन स्थित उत्तरगंगा जलाशययुक्त जलविद्युत आयोजना ८२८ मेघावट क्षमताको आयोजना निर्माण ढाँचा निर्धारण र स्रोत व्यवस्थापन गरि कार्यान्वयनमा लगिने अर्थमन्त्री पौडेलले बताउनुभयो । अध्ययनको अन्तिम चरणमा रहेको उक्त आयोजना ढोरपाटन उपत्यकामा उत्तरगंगाको पानी थुनेर निसीखोला गाउँपालिकामा खसालेर विद्युत उत्पादन गरिनेछ । उक्त आयोजना निर्माणका लागि १२० अर्ब बजेट अनुमान गरिएको भए पनि निकै सस्तो दरमा विद्युत उत्पादन हुने नेपाल विद्युत प्राधिकरणको भनाई छ । गण्डकी प्रदेशको समृद्धिको आधारको रुपमा मानिएको उत्तरगंगा जलविद्युतको काम निरन्तर चलिरहेको र अहिले निसीखोलामा भूमिगत जलविद्युत गृहको अध्ययन सकिन थालिएको विद्युत प्राधिकरणले जनाएको छ ।

बजेटमा संस्कृति शीर्षकमा जिल्लाको बलेवामा रहेको धार्मिक पर्यटकीय स्थल भैरवस्थानको संरक्षण र विकासको लागि आवश्य बजेट व्यवस्थापन गरिएको बजेटमा उल्लेख छ । तर, भैरवस्थान पाल्पा र बागलुङ दुबैमा पर्ने भएकाले बजेट कुन जिल्लाको हो भन्नेमा दुविधा कायम छ । समग्रमा बजेट राम्रो भएपनि जिल्लामा मेघा परियोजना तथा अन्तराष्ट्रिय महत्व बोकेका पर्यटकीय गन्तव्यको विकासमा बजेट नआएको धौलागिरी पर्यटन प्रर्बद्धन समितिका संयोजक खिमानन्द कँडेलले बताउनुभयो । ‘जिल्लाको पहिचान र परिवर्तन ल्याउने योजना आयोजना छनोट र बजेट बिनियोजन हुन सकेन,’ उहाँले भन्नुभयो, ‘सरकारले सन्तुलित अवधारणा अपनाउन नसकेको अनूभुति भयो, हाम्रा सांसदहरुको उपस्थिति र लबिङ पुगेन या सुनुवाई हुन नसकेको प्रतित भयो ।’

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *