घट्दो संक्रमण, संकेत र सचेतता

सम्पादकीय
दोस्रो भेरियन्टको कोरोना भाइरस (कोभिड १९)को संक्रमणले सर्वत्र भयावहको अवस्था बिद्यमान छ । विश्व्यव्यापी महामारीको रुपमा आएको कोेभिडले एक वर्ष यता भयग्रस्त बनेको दैनिकी विस्तारै पुरानै अवस्थामा फर्किने अनुक्रममा नयाँ भेरियन्ट सहितको कोरोनाले धावा बोल्यो । पहिलेको भन्दा अझ बढी आक्रामक भएर आयो भाइरस । जसले सिंगो देशभरको जनजीवन प्रभावित छ, आंतकित छ । सबैजसो जिल्लामा कोरोना रोकथाम, उपचार र नियन्त्रणका लागि लकडाउन छ । दैनिक एक सय भन्दा बढीको ज्यान गइरहेको छ । हजारौं जना संक्रमित भइरहेका छन् । संक्रमणका कारण परिवार र समुदाय समेत शारीरिक र मानसिक तनाबको दोसाधमा छन् । कति यही रोग लाग्ने भयबाट पनि रोगी बन्ने र मृत्युको मुखमा पुग्ने खतरा कायमै छ ।

तिव्र गतिमा फैलिएको कोरोनाको बढ्दो संक्रमण र मृत्युदरले भयग्रस्त छ हर मानिस, हर क्षेत्र । संक्रमणदर ३४ प्रतिशत भन्दा माथि नै भएकाले जोखिम कायमै छ । यद्यपि पछिल्लो निषेधाज्ञा लागू गरिएको एक महिनामा कोरोना संक्रमण र मृत्युदर घट्न थालेको संकेत देखिएको छ । स्वास्थ्य मन्त्रालयको तथ्यांक अनुसार जेठको सुरुवातदेखि संक्रमणमा सामान्य कमी आएको छ भने निको हुनेको संख्या बढ्न थालेको छ । पछिल्लो साता दैनिक मृत्युको हुनेको संख्या औसत दुई सयको हाराहारी थियो । एक सातायता नयाँ संक्रमितको संख्याभन्दा निको हुनेको संख्या बढिरहेको स्वास्थ्य मन्त्रालयको तथ्यांक छ । जसअनुसार एक लाख १५ हजारमा पुगेको सक्रिय संक्रमितको संख्या एक लाख नौ हजारमा झरेको छ । गत ९ जेठमा सक्रिय संक्रमितको संख्या एक लाख १५ हजार पाँच सय ४७ थियो भने आइतबार यो संख्या एक लाख आठ हजार आठ सय ९७ मा झरेको छ ।

देशव्यापी लकडाउनका कारण कोरोना रोकथाममा केही सकरात्मक संकेत देखिएको छ । तर, अझै पुरै आशाबादी हुने अवस्था छैन । पछिल्ला दिनमा सहरी क्षेत्रमा संक्रमण कम भए पनि ग्रामीण क्षेत्रमा बढेको छ । ग्रामीण क्षेत्रमा परीक्षण नै कम छ । मिल्दो लक्षण देखिएकाहरु पनि रोग लुकाएर बस्ने संख्या अधिक छ । यसमा सरकारी निकायबाट पनि यथेष्ट पहल देखिन्न । अर्को तर्फ पहल भएका स्थानमा पनि पिसिआर गर्न नमान्ने या नआउने प्रवृत्ति देखिएको छ । चिकित्सकहरुले नयाँ भेरियन्ट देखिएको, संक्रमण अझै बढ्न सक्ने जोखिमलाई सामान्य ठान्न नहुने बताइरहेका छन् । फेरि पनि संक्रमण र मृत्यु हुने दर घटेको छ । निको हुनेको संख्या बढेको छ । यो सकरात्मक विषयबाट उत्साह लिएर यसको नियन्त्रणमा सबै सचेत, सुरक्षित र जिम्मेवार बनौ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *