सुरक्षाकर्मी नै असुरक्षित

डम्मर बुढा मगर, बागलुङ
समुदायमा हुने आपराधिक गतिविधिलाई नियन्त्रण गरेर शान्ति, सुरक्षा कायम गर्ने सुरक्षाकर्मी अहिले पनि फ्रन्टलाइनरको भूमिकामा छन् ।

विश्वव्यापी महामारीको रुपमा देखिएको कोरोना भाइरसको रोकथाम, उपचार र नियन्त्रणमा स्वास्थ्यकर्मी फ्रन्टलाइनमा छन् । त्यसपछि चौतर्फी जोखिमका बाबजुद पनि अहिले अबिचलित खटिइरहेका छन् सुरक्षाकर्मी ।

कोरोना भयाबहमा कम जनशक्ति, दुर्गम ठाउँ, त्यसमाथि वर्षौ प्राकृतिक प्रकोपका घटना लगायतका विकट क्षेत्रका प्रहरी अझ बढी सकस र सास्ती खेप्न बाध्य भएका छन् । बागलुङ जिल्लाको निसीखोला गाउँपालिका वडा नम्बर ५ निसीमा रहेको निसी प्रहरी चौकीमा कार्यरत प्रहरीले कोरोना संक्रमणको जोखिमसँगै अनेक सास्ती झेलिरहेका छन् ।

निसी प्रहरी चौकी निसीखोला किनार छेउँमै रहेको वर्षौँ पुरानो भवनबाट संचालित छ । जुन भवन वर्षौ अगाडि स्थानीयले बचत घरका रुपमा प्रयोग गर्दै आएका थिए । दुई तले ढुङ्गा माटोले बनेको उक्त घर जीर्ण अवस्थामा छ । द्वन्द्वकालमा यस प्रहरी चौकी विस्थापित समेत भएको थियो । विस्थापित भएको चौकी शान्ति सम्झौतापछि मात्रै पुर्नस्थापित भएको थियो ।

यस क्षेत्रमा केही वर्ष अगाडि सम्म लडाई झगडा लगायत अन्य नकरात्मक गतिबिधि हुन्थे । जसले गर्दा प्रहरीले निकै दुःख भोग्नु परेको थियो । द्वन्द्वकालमा कयौँ पटक प्रहरी माथि कुटपिट भए । चौकी नै कब्जा समेत भएको स्थानीय बताउँछन् । तर, पछिल्लो समय समुदायमा जनचेतना वृद्धि भए पछि त्यस किसिमका गतिबिधि हुन छोडेका छन् । अहिले स्थानीयले समेत प्रहरीले सहयोग गर्दै आएका छन् ।

खोला छेउमा रहेको चौकीमा कार्यरत प्रहरीहरु वर्षात्को समयमा प्रायःजसो जाग्राम नै बस्ने गर्छन् । निसीखोला उर्लेर आयो भने चौकीकै छेउमा भल आउँछ । केही वर्ष अगाडि स्थानीयले तटबन्धन गरे पनि निसीखोलामा बाढी आउँदा बाँधले छेक्न सक्दैन । हिउँदको समयमा खासै समस्या नपरे पनि वर्षात्मा निकै दुःख भोग्नु पर्ने प्रहरी चौकी प्रमुख असई लालमणी भट्टराईले बताउनुभयो । उहाँले ठुलो पानी पर्दा घर चुहिने हुँदा त्रिपाल हालेर बस्नु पर्ने अवस्था रहेको बताउनुभयो ।

‘घर पुरानो छ, जीर्ण बनेको छ, ठूलो पानी पर्ना साथ चुहिने गर्छ, त्रिपाल नहाली बस्नै सकिन्न, पहिलेको भन्दा अहिले थप व्यवस्थापन त भएको छ तर वर्खायामा भने उस्तै समस्या भोग्नु पर्छ’ भट्टराईले भन्नुभयो ‘खोलाले ठूला–ठूलो ढुङ्गामुढा बगाएर ल्याउँछन्, कता भित्रै आउँछ कि भन्ने डरले रातभर उठेर बस्नु पर्छ ।’

हिउँदको समय आफूहरुलाई खासै समस्या नभएको भन्दै वर्षातमा ज्यानै जोखिममा पर्ने खतरा भएको उहाँले बताउनुभयो । भट्टराईले चौकीमा दरबन्दी अनुसारको जनशक्ति नहुँदा शान्ति सुरक्षा प्रदानमा समेत समस्या आउने गरेको बताउनुहुन्छ । १० जनाको दरबन्दी भए पनि अहिले चौकीमा पाँच जना मात्रै कार्यरत रहेको उहाँको भनाई छ । समुदायमा कुनै पनि घटना भयो भने उद्धार र अपराध नियन्त्रणमा समस्या हुने गरेको छ ।

‘पाँच जना मध्ये केहीले चौकी पनि हेर्नु प¥यो, उद्धारमा जाने उही १÷२ जना हो, त्यतिले प्रभावकारी काम हुन सक्दैन, त्यसले गर्दा दरबन्दी अनुसारको जनशक्ति आवश्यक छ, अझ यो त दुर्गम ठाउँ, बेला–बेलामा विभिन्न घटनाहरु हुने गर्छन्,’ उहाँले भन्नुभयो ।

निसीखोला गाउँपालिका वडा नम्बर ५ का वडा अध्यक्ष हर्कमान घर्ती मगरले प्रहरी चौकी क्षेत्र संरक्षणको लागि वडा कार्यालयले तटबन्ध गरेको बताउनुभयो । निसीखोलाको जोखिममा रहेको चौकी क्षेत्र संरक्षणका लागि आर्थिक वर्ष २०७५/०७६ मा वडा कार्यालयले तटबन्ध गरेको छ ।
निसी प्रहरी चौकी जोखिममा र भवन जीर्ण समेत भएकाले अन्यत्र सार्नका लागि जग्गा खोजी भइरहेको उहाँको भनाई छ । यसको व्यवस्थापनमा स्थानीय सरकारले मात्रै नभई केन्द्र सरकारले पनि ध्यान दिनु पर्नेमा जोड दिनुभयो ।

‘जनताको सुरक्षामा खटिएका प्रहरी नै समस्यामा छन्, जोखिममा छन्, त्यसको व्यवस्थापन गर्ने जिम्मा हामी सबैको हो, हामीले मात्रै सक्ने अवस्था छैन, प्रदेश र केन्द्र सरकारको पनि यसमा ध्यान जान जरुरी छ ।’

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *