आदर्शले संकटमा सोध्योः परिवारमा स्वास्थ्य र आर्थिक समस्या छ ?

आदर्श अनलाइन, बागलुङ

कोरोना संक्रमणका कारण लामो समयदेखि जारी बन्दाबन्दी (लकडाउन) का समयमा आउने स्वास्थ्य र आर्थिक समस्यामा आदर्श सञ्चार सहकारी संस्था लिमिटेड बागलुङले आफ्ना शेयर सदस्यहरुको सारथी बन्ने नयाँ अभियान थालेको छ ।

शेयर सदस्य र तीनका परिवारहरुको फोन मार्फत अवस्था बुझ्ने र समस्या भएमा आवश्यक सहयोग र सहजीकरण समेत गरे पछि आदर्श सञ्चार सहकारीको यो अभियान प्रभावकारी बनेको छ ।

लकडाउनको समयमा संस्थाका शेयर सदस्यहरुलाई पर्न सक्ने समस्याको जानकारीका साथै कोरोनाबाट जोगिन अपनाउनु पर्ने सुझाव लिन संस्थाले शेयर सदस्यसँग सिधा सम्पर्क सहित परामर्श सेवा सञ्चालन गरेको थियो ।

सदस्यहरुलाई फोन गरेर, म्यासेञ्जरमा सन्देश पठाएर तथा फेसबुकमार्फत सञ्चो बिसञ्चो बुझेर समस्या परेको अवस्थामा सहजीकरण गरिएको संस्थाका अध्यक्ष हुमा कुमारी जिसी (अञ्जु) ले जानकारी दिनुभयो ।

‘हाम्रा कर्मचारीहरुले घरमै बसेर आफ्नो मोबाइलमार्फत सदस्यहरुको स्वास्थ्य अवस्था र दैनिक घर व्यवहारमा परेका अप्ठ्याराका बारेमा पनि जानकारी लिइरहेका छन्, कोरोना संक्रमणबाट जोगिन अपनाउनु पर्ने सतर्कताका बारेमा सचेत बनाइरहेका छन्’ अध्यक्ष जिसीले भन्नुभयो, ‘ लकडाउन लम्बिदो छ, आर्थिक लगायतका समस्या परेमा संस्थामा जानकारी गराउनस् भनेका छौ, अभियान निकै प्रभावकारी देखिएको छ, स्वयम् संक्रमित भएका शेयर सदस्य र परिवारमा पनि संस्थागत अपनत्व र उत्साह थपिएको प्रतिक्रिया दिइरहेका छन् ।’

संक्रमित भएर या हुने सन्त्रासमा आफ्नै मान्छेहरु समेत तर्किने र सम्पर्कविहिन भइरहेको अवस्थामा आदर्शले गरेको सम्झना संकटमा अविस्मरणी भइरहेको प्रतिक्रियाले संस्था उत्साहित भएको संस्थाका प्रवन्धक दिपक सापकोटाले बताउनुभयो । संस्थामा आवद्ध २ हजार ७ सय जना शेयर सदस्यहरुलाई १५ जना कर्मचारीहरुले टेलिफोन गरेर स्वास्थ्य परामर्श लगायत आर्थिक समस्याका बारेमा जानकारी लिइएको र परामर्श कार्यक्रम प्रभावकारी भएको संस्थाले जनाएको छ ।

अभियानका बारे के भन्छन् शेयर सदस्य ?
सदस्यहरुका समस्याको पहिचान गरी आवश्यक सुझाव, सल्लाह र सहयोग गर्ने संस्थाको निर्णय अनुसार सञ्चालन गरिएको परामर्श सेवालाई लिएर सदस्यहरुले सामाजिक सञ्जालदेखि फोन मार्फत संस्थालाई धन्यवाद दिएका छन् । बागलुङ पर्यटन विकास समितिका अध्यक्ष तथा कालिका भगवती गुठीका अध्यक्ष समेत रहनुभएका राजु खड्काले आदर्शले संकटमा गरेको सम्झना सहितको फोन आउँदा सरकार बोले जस्तै लागेको बताउनुभयो । खड्काले आफ्नो फेसबुकमा स्टाटस लेख्नुभएको छ, ‘कोरोनाले मन भारी थियो, आदर्श सञ्चार सहकारीको फोनले आज टेलिकम मार्फत सरकार बोले जस्तै भयो । अहिलेको समयमा शेयरसदस्यको अवस्था बुझ्न र तपाईलाई कुनै आर्थिक कठिनाइ परेमा हामीलाई सम्झनु होला भनेर आएको फोनले उत्साह मिलेको र संस्थाको व्यवस्थापन उत्कृष्ट रहेछ ।’ संक्रमण र मृत्युको खबरले दिक्क बनिरहेको र परिवारका सदस्यका लागि आफू मेडिकल जादै गर्दा आएको आदर्शको फोनले स्वतः स्फूर्त उर्जा मिलेको उहाँको कनथ थियो ।

संस्थाका शेयर सदस्य तथा रेश नुन्थला माविका प्रधानाध्यापक ओम बहादुर थापाले आफ्नो फेसबुक पेजमा आदर्शको कोरोना अवधिको अभियानका बारेमा लेख्नु भएको छ,– ‘कोरोना महामारीले हामी सबै आक्रान्त रहेको विषम परस्थितिमा हामी सबैलाई सही परामर्श तथा सान्त्वना आवश्यक छ । सानो सहयोग, सही परामर्श तथा सान्त्वनाले मनोबल बढ्न सक्छ, मानवको जीवन रक्षा हुन सक्छ, आदर्शले आफ्ना शेयर सदस्यलाई फोन मार्फत महामारीको अवस्थामा सदस्य र परिवारको स्वास्थ्य अवस्था, आर्थिक सहयोग आवश्यक भएमा सहयोग गर्ने जुन अभियान सञ्चालन गरेको छ, यो निकै प्रशंसनीय कार्य हो ।’

संस्थाका शेयर सदस्य तथा काठेखोला सामाजिक उद्यमी सहकारी संस्थाका अध्यक्ष सीता सुवेदी खत्रीले साँच्चिकै आदर्श सञ्चार सहकारीले शेयर सदस्यप्रति देखाएको मायाले धेरै खुशी लागेको बताउनुभयो । ‘अहिले यो सहकारीको सदस्य भएकोमा निकै गर्व महुशुस भएको छ, रोग त आफ्नो ठाउँमा छ तर आदर्शले यस्तो अप्ठ्यारो अवस्थामा यसरी सम्झिँदा हामीहरु भोकले चाही मर्न पर्दैैन भन्ने भयो ।’

संस्थाले सञ्चालन गरेको अभियानका बारेमा धेरै शेयर सदस्यहरुले खुशी प्रकट गरेका छन् । सहकारी भनेको संकटको सारथी हो भन्ने अनुभूति भएको संस्थाका शेयर सदस्यहरुले बताएका छन् ।

कोरोना लकडाउनमा आदर्शको २५ हजार सापटी
संस्थाले स्वास्थ्य परामर्शसंगै लकडाउनका कारण पर्न सक्ने आर्थिक समस्यामा २५ हजारसम्म सापटी दिने अभियान सञ्चालन गरेको थियो । स्वास्थ्य उपचार र खाद्यान्न समस्या भएमा सदस्यलाई प्रदान गरिने रकम करिव १ सय ५० जनाले प्राप्त गरेको संस्थाले जनाएको छ । सदस्यको खातामा रकम नभए पनि २५ हजारसम्म सापटी उपलब्ध गराउदै आएको छ ।

सूचना र सञ्चार क्षेत्रमा निरन्तर क्रियाशिल संस्थाले वित्तीय लगायत सहकारी र सञ्चार क्षेत्रको प्रवद्र्धनका कामहरु समेत गर्दै आएको छ । संस्थाले विगत १४ वर्षदेखि धौलागिरी जागरण दैनिक, ९ वर्षदेखि अग्रसर साप्ताहिक, २ वर्षदेखि आदर्शसञ्चार अनलाइन सञ्चालन गर्नुका साथै ८ वर्षदेखि धौलागिरी टेलिभिजनमा सहकार्य गर्दै आइरहेको छ ।

सूचना समाचारमा मात्र होइन आदर्श सञ्चार, संकटमा पनि आदर्श सञ्चार भन्ने नाराका साथ कोरोना संक्रमणको समयमा संस्थाले सञ्चालन गरेको परामर्श सेवा र स्वास्थ्य उपचार तथा खाद्यान्नका लागि आर्र्थिक सहयोग अभियानमा सदस्यहरुको सहभागिताले थप उत्साहित बनाएको अध्यक्ष जिसीले बताउनुभयो ।

धौलागिरी क्षेत्रकै पहिलो सूचना तथा सञ्चार सहकारी संस्थाका रुपमा स्थापित आदर्श सञ्चार सहकारी संस्थामा हाल २ हजार ७ सय जना शेयर सदस्य, ५ करोड शेयर पूँजि, ३४ करोड बचत र ३३ करोड कर्जा लगानी रहेको संस्थाका प्रवन्धक दिपकराज सापकोटाले जानकारी दिनुभयो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *