दोस्रो लहर खतरानक : बागलुङमा डेढ महिनामा ३३ को मृत्यु

आदर्श अनलाइन, बागलुङ
नेपालमा कोरोनाको दोस्रो भेरियन्ट पहिलेको भन्दा आक्रामक भएको पाइएको छ । जसका कारण बागलुङमा कोरोना संक्रमण र मृत्युदर समेत गत वर्षको तुलनामा तेब्बरले बढेको छ ।

बागलुङको पछिल्लो तथ्याङ्क अनुसार डेढ महिनाको अवधीमा ३३ संक्रमितको मृत्यु भएको छ । यद्यपि गत वर्षको कोरोनाको पहिलो लहरमा जम्मा ११ जनाको मृत्यु भएको थियो । पहिलो लहर भन्दा दोस्रोमा बागलुङ निकै तिब्र गतिमा संक्रमण र मृत्युदर बढेको धौलागिरी अस्पताल बागलुङका मेडिकल सुपरिटेन्डेण्ट डा.शैलेन्द्र बिक पोखरेलले जानकारी दिनुभयो ।

“पहिलो लहर भन्दा निकै खतरा रहेको भन्ने कुरा विश्व स्वास्थ्य संगठनले नै भनिसकेको छ । धौलागिरीका चार जिल्ला मध्ये पनि बागलुङमा मृत्युदर बढेको छ” डा.पोखरेलले भन्नुभयो “कोरोना संक्रमण बढ्दै गएपनि जटिल अवस्थाका बिरामी केही मात्रामा केही दिन यता घटेको देखिएको छ, अझै सचेतना अपनाउन जरुरी छ ।”

जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्रका संयोजक तथा प्रमुख जिल्ला अधिकारी शिव कुमार कार्कीले जिल्लामा संक्रमणको दर अझै नियन्त्रणमा नआएको बताउनुभयो । जिल्लामा निषेधाज्ञा, सचेतना, परीक्षण र उपचार प्रभावकारी रुपमा गर्दा समेत संक्रमणको दर नघट्दा निषेधाज्ञा लम्ब्याउनु पर्ने अवस्था रहेको प्रजिअ कार्कीको भनाई थियो । जिल्लामा स्थानीय तह र नागरिक आफै जागरुक नभएसम्म कोरोना संक्रमण नियन्त्रण नहुने कार्कीको भनाई छ ।

अहिले जिल्लामा एक हजार ७० जना संक्रिय संक्रमित पुगेको छ । यो संख्या जिल्लामा संक्रिय संक्रमित अहिले सम्मकै उच्च रहेको स्वास्थ्य कार्यालय बागलुङका कोरोना स्रोत व्यक्ति देव प्रकाश घिमिरेले जानकारी दिनुभयो ।

जिल्लामा पछिल्लो समय निषेधाज्ञा समेत उल्लङ्घन भइरहेको छ । जसका कारण कोरोना संक्रमण नघटेको नागरिकको गुनासो छ । बागलुङमा कोरोना संक्रमण मुक्त हुनेको दर ७२ प्रतिशत रहेको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *