जापानबाट गलकोटेले पठाए स्वास्थ्य सामग्री


आदर्श अनलाइन, बागलुङ

जापानमा कृयाशील तीन नेपाली संस्था मिलेर धवलागिरि अस्पतालसहित गलकोट नगरपालिका र ताराखोला गाउँपालिकालाई अत्यावश्यक स्वास्थ्य सामग्री पठाएका छन् ।

गलकोट समाज जापान क्षेत्रीय समिति टोकियो, घुम्टे युवा परिवार जापान शाखा र जापानस्थित हार्मोनी प्रिस्कुल इन्टरनेशनलको संयुक्त सहकार्यमा सङ्कलित ती सामग्री आज अस्पताल र पालिकाका स्वास्थ्य शाखालाई हस्तान्तरण गरिएको छ ।

गलकोट समाज बागलुङका अध्यक्ष राज थापाले अस्पताल व्यवस्थापन समितिका अध्यक्ष केवी राना मगर र ताराखोला गाउँपालिकाका स्वास्थ्य शाखा संयोजक उदित थापा मगरलाई सामग्री प्रदान गर्नुभएको थियो ।

सीमित स्रोत साधनका बावजुत कोरोनाविरुद्ध सङ्घर्षरत अस्पताल र स्वास्थ्य संस्थालाई उपचार एवं व्यवस्थापनमा सघाउ पु¥याउने उद्देश्यले ती संस्थाले जापानमा आर्थिक सहयोग अभियान चलाएका थिए ।

त्यसरी सङ्कलित रकमबाट स्वास्थ्य सामग्री÷उपकरण खरिद गरी पठाइएको गलकोट समाज जापान क्षेत्रीय समिति टोकियोका अध्यक्ष रमेशकुमार खत्रीले बताउनुभयो । पिसिआर टेष्ट किट, एन्टिजिन टेष्ट किट, सर्जिकल मास्क, मेडिकल मास्क, पल्स अक्सिमिटर, थर्मोमिटर, फेस सिल्डलगायतका सामग्री सहयोग गरिएको उहाँको भनाइ छ ।

अस्पताल र दुई पालिकाका स्वास्थ्य शाखामा गरी कुल रु. सात लाख ३७ हजार बराबरको सामग्री पुगेको घुम्टे युवा परिवार जापान शाखाका अध्यक्ष दिलबहादुर थापा ‘रामु’ले बताउनुभयो । निषेधाज्ञाका कारण नियमित हवाई उडानसमेत बन्द रहेको अवस्थामा कार्गो गरेर सामग्री पठाइएको उहाँको भनाइ छ ।

शाखाका सचिव दिनेश थापाका अनुसार आर्थिक सहयोग अभियानमा २९ जना स्वतःस्फूर्त रुपमा जोडिएका थिए । कोरोना महामारीले देश आक्रान्त बनेको, सङ्क्रमितले उपचार नपाएको, अक्सिजनसहित स्वास्थ्य सामग्री÷उपकरणको अभाव रहेको खबरले छोएपछि आफूहरु सामग्रीको जोहो गर्नतर्फ लागेको सचिव थापाले बताउनुभयो ।

महामारीसँग जुधिरहेको आफ्नो देशप्रतिको कर्तव्य सम्झेर प्रवासी नेपालीले पठाएको सहयोग अमूल्य रहेको अस्पताल व्यवस्थापन समितिका अध्यक्ष राना मगरले बताउनुभयो । उहाँले अस्पताललाई प्राप्त सहयोगको सही सदुपयोग गर्ने प्रतिवद्धता जनाउनुभयो ।

गलकोट समाज बागलुङका अध्यक्ष थापा, घुम्टे युवा परिवार मल्म, गलकोटका अध्यक्ष थम्मन थापालगायतले जापानबाट सहायता ल्याउन आवश्यक समन्वय र पहल लिनुभएको थियो । महामारीको यो विषम स्थितिमा स्वास्थ्य क्षेत्रका लागि देश विदेशबाट सहयोग जुट्ने क्रम जारी छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *