कोरोना कहरमै बागलुङ नगर भित्र धमाधम कालोपत्रे

आदर्श अनलाइन, बागलुङ
कोरोना भाइरस (कोभिड १९) संक्रमण नियन्त्रणमा लिन सरकारले निषेधाज्ञा जारी गरेको छ ।
निषेधाज्ञामा नागरिकहरु घरभित्रै सिमित रहेको समयमा बागलुङ नगरपालिकाले भने नगर भित्रका भित्री र ग्रामिण सडकहरु धमाधम कालोपत्रे र मर्मत गरिरहेको छ ।

असार मसान्त भित्र नगरपालिकाको झण्डै १० किलोमिटर जीर्ण सडक कालोपात्रे तथा मर्मत गर्ने नगरपालिकाले जनाएको छ । बागलुङ बजारलाई खाल्डाखुल्डी मुक्त गराउने अभियान अन्तर्गत अहिले पुराना तथा कालापत्रे उप्किएका, खाल्डाखुल्डी परेका तथा बाढी पहिरोले बिगारेको सडक कालोपत्रेको योजना छ । अहिले बागलुङ बजारको पुरानो अदालत रोड देखि कृषि विकास बैंक हुँदै गोदाम घर सम्मको सडक कालापत्रे सम्पन्न भइसकेको छ । कोरोना कहरमा मजदुरलाई एकै स्थानमा राखी स्वास्थ्य सुरक्षा मापदण्ड अपनाएर सडक कालोपत्रे गरिरहेको बागलुङ नगरपालिकाका इन्जिनियर मनोज शर्माले बताउनुभयो ।

अहिले एक किलोमिटर भन्दा बढी सडक कालोपत्रे भइरहको र जेठ मसान्त भित्र पाँच किलोमिटर र असार मसान्त भित्र १० किलोमिटर सडक कालोपत्रे गरिने इन्जिनियर शर्माको भनाई छ ।
बागलुङ नगर भित्रको जीर्ण सडक कालोपत्रे तथा मर्मत शीर्षकमा सडक बोर्ड तथा बागलुङ नगरपालिकाको साझेदारीमा सडक कालोपत्रेको काम भइरहेको छ ।

र वर्ष अघि बागलुङ नगर खानेपानीको आयोजना विस्तारको क्रममा बनेका खाल्डाखुल्डीले बजार कुरुप बन्दै आएको थियो । असार मसान्त सम्म मुख्य सडकका खाल्डाखुल्डी मर्मत भइसक्ने नगरपालिकाको भनाई छ । एक करोड ३८ लाख रुपैयाँको लागतमा ९.२५ किलोमिटर सडक कालोपत्रे, खालटाखुल्डी मर्मत गर्ने योजना छ ।

जसमा ९२ लाख सडक बोर्ड र ४६ लाख रुपैयाँ बागलुङ नगरपालिकाको लागतमा आरएस निर्माण सेवाले कालोपत्रेको काम गरिरहेको छ । उक्त रकमबाट बागलुङ बजारको देउराली चोक, तीन तले देखि धारपानी सम्म, पुरानो वन कार्यालय देखि बुद्ध चोक हँुदै पेन्सन क्याम्प सम्म, कुडुँलेको तिरुपती चोक हुँदै ठुलस्वारा सम्मको सडक र पुरानो वन कार्यालय देखि बागलुङ एफएम सम्मको सडक कालोपत्रे हुनेछ ।

यो योजना कार्यान्वयन भए बागलुङ बजारका सबै मुख्य सडक असार मसान्त भित्र कालोपत्रे भइसक्नेछन् । बागलुङ बजारको हुलाकचोक देखि जिल्ला अदालत हुँदै रुद्रेपिपल सम्मको सडक भने सघन शहरी पूर्वाधार विकास आयोजनाले सडक कालोपत्रे गर्न पूर्वाधार निर्माण गरे पनि सडक कालोपत्रे भएको छैन ।

बागलुङ नगरपालिकामा धेरै पहिले कालोपत्रे भएका तर अहिले निकै जीर्ण भएको सडक अहिलेको प्राथमिकतामा परेको र १० किलोमिटर सडक कालोपत्रे र मर्मत हुँदा साथ अधिकांश बागलुङ बजारका सडक कालोपत्रे र खाल्डाखुल्डी मुक्त भइसक्ने बागलुङ नगरपालिकाका नगर प्रमुख जनकराज पौडेलले जानकारी दिनुभयो ।

“गत वर्ष कोरोनामा धेरै विकासे आयोजना प्रभावित बने तर अहिले सरकारले निर्माणको काम नरोक्ने भनेका कारण स्वास्थ्य सुरक्षा अपनाएर विकास निर्माण कार्य भइरहेको छ” नगर प्रमुख पौडेलले भन्नुभयो “भीडभाड हुने, स्थानीयको सशक्तिकरण तालिम लगायतका योजना प्रभावित भएपनि विकास निर्माण कार्य रोकिएको छैन ।”

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *