राम सुवेदी
राजनीतिमा संस्कार हुन्छ । मूल्य, मान्यता हुनुपर्दछ । आदर्श, चिन्तन र विचार चाहिन्छ । आज नेपालको राजनीति र त्यसको सबै चिजबाट च्यूत भएका कारण गतिहीन छ । मूल्यहीन छ, भन्नुको अर्थ राजनीतिमा हुनुपर्ने राजनैतिक संस्कार दलका नेतामा छैन । तसर्थ हाम्रो देशको राजनीतिले उन्नत दिशा समात्न सकेन । अद्योगति अँगाल्यो ।
राजनीतिक संस्कार र संस्कृतिबारे अध्ययनले के भन्छ भने निश्चित राजनीतिक प्रणाली सञ्चालनका लागि मूल्य, मान्यता, विश्वास र व्यवहारको तारतम्यतामा जोड दिन्छ । नेपालको परिवेश र यहाँको राजनैतिक संस्कारका सन्दर्भमा भने, लोकतान्त्रिक गणतान्त्रिक शासन व्यवस्थाका मूल्य, मान्यता, विश्वास र व्यवहार पूर्ण रूपमा लागू गर्न चुक्नु, चुकाउनु र त्यसको आडमा राजनीति गर्नु ‘राजनीति हो ।’ तर्कले मात्र होइन, व्यवहारले यही पुष्टि गर्दछ ।
कुनै पनि देशको शासन व्यवस्था त्यहाँको राजनैतिक संस्कार र प्रणालीले निधो गर्छ । देशमा चलायमान राजनैतिक पार्टी, त्यसका नेतृत्व र तीनका सही निर्णयले देशमा परिवर्तन हुन्छ । राजनीतिक प्रणालीका मूल्य, मान्यता, विश्वास र व्यवहारको एकता उनीहरुले सञ्चालन गरेको राज्य व्यवस्थाको नीति कार्यक्रम हुन्छन् । हाम्रो देशको राजनैतिक संस्कार र प्रवृत्ति हेर्दा २००७ सालदेखि प्रजातन्त्रका लागि संघर्ष गरेको कांग्रेस, भूमिगत एवम् शान्तिपूर्ण राजनीति गर्दै आएको एमाले, १० वर्ष सशस्त्र युद्ध गरेको माओवादी र मधेस केन्द्रित दलका गतिविधि, ति दलका नेतृत्व वा अरु कुनै पनि राजनैतिक नेतृत्व सबै संस्कारच्यूत छन् र हुन खोज्छन् । यही बिडम्बना हो ।
यस्तो राजनैतिक गतिबिधिले उनीहरुद्धारा सञ्चालित राज्य व्यवस्था समेत जस्तो राजनीतिक संस्कार हुन्छ, त्यस्तै शासन व्यवस्था हुन्छ । मूल्य, मान्यता र नीतिगत दर्शन, चिन्तन सहितको शासन व्यवस्थाको खास मूल्य–मान्यता अपनाउँछ । राजनैतिक दलहरुको आफ्नो संस्कारिक आदर्शतामा भर पर्दछ । आज देशमा राजतन्त्र फालियो भनेका छौं । हाम्रा पार्टी र नेताहरुमा सामन्तवादी संस्कार र संस्कृति अझै हावी छ । समस्याग्रस्त राजनैतिक तथा व्यवस्थापकीय जड पनि यही हो ।
हामीले भोगेको संघीय गणतान्त्रिक शासन व्यवस्थामा राजतन्त्रात्मक बहुदलीय प्रतिस्पर्धा भन्दा फरक नपर्ने तर बोलीचालीमा लोकतान्त्रिक गणतन्त्र भनिरहेका रहेछौं । के ति तर्कले भन्छ, राजसंस्थाको उल्मुलनपछि जनताका छोराछोरी मुलुकको उच्च पद, राष्ट्रपति सम्हाले । देशको कार्यकारी प्रधानमन्त्री पनि भए । संघीय व्यवस्था बन्यो । ७ सय ५३ स्थानीय तह सरकार, सात प्रदेश सरकार र एक संघीय (केन्द्रीय) सरकारको मालिक जनता भए पनि भनिदियौं । अझ यसको शासक जनताले निर्वाचित गरेका प्रतिनिधिहरू हुन् भन्दै छाति पिटियो । आज हर्षले पिटिएको छाति अन्तरंगमा भित्रभित्र दुख्दैछन् । गणतन्त्र भनेर हौसिएको हाम्रा अनुहार निहुरिंदैछन् । कारण राजनीति नै धमिलो छ । राजनीतिमा द्धेष, ईश्या, छेडखानी, बेईमानी, कसटिलता, कटुता, शत्रुताका भावहरुबाट प्रभावित छन् । नेताहरु त्यो ग्रहण गरिरहेका छन् । त्यसकारण देशको राजनीतिले विग्रहको बाटो समातेको छ ।
आज काँग्रेसको राजनीति हेरौं । लामो समय शासन व्यवस्था चलाउँदा पनि देशलाई आजको हालमा राख्दै आएको जिम्मा उसले लिन सक्दैन र मान्दैन । केवल शत्ता कलह, गुट उपगुटका नेताहरु जन्मेका छन् । त्यसका अघिपछि गर्नेहरुको रजाईंलाई उसले राज्य व्यवस्था भन्छ । प्रगतिशील सोंच र चिन्तन पटक्कै छैन । बेलामा जन्मेका र नेपाली राजनीतिको स्मृतिमा रहेका विपीका कथा र गाथा भज्छ । त्यसको व्याजले काँग्रेस चलाउन खोजिएको छ, चल्न मान्दैन । ‘किसानको घरमा एउटा दुहुनो गाई र निमको एकबोट नारा’ काँग्रेसको भजाई खाने चुनावी अस्त्र अझै जिवित छ । गरेर देखाको केही छैन ।
यता कम्युनिष्ट पार्टीहरु, काँग्रेसले व्यवस्था गतिलो नचलाएको वा जनहितकारी व्यवस्था नल्याएका कारण जन्मेको पार्टी हो । दर्शन, चिन्तन र विचारले सबै जनताको हितलाई सर्वोपरि मान्छ । सैद्धान्तिक कुरा गज्जव छ । तर व्यवहार हेरौं, झण्डै काँग्रेस हाराहारीमा सत्ता चलाएको एमाले आज मजवुत र दरिलो एकीकृत कम्युनिष्ट पार्टीको नेतृत्वमा संसदीय व्यवस्था धन्नै धन्नै बहुमत नजिक पुगेको संस्कारहीन उत्पातले चिराफारा भयो । ठररा एमालेमा मनोमोहन अधिकारीले वृद्धवृद्धालाई सहाराका हिसावले नौं महिने शासनकालमा ल्याएको गहकिलो कार्यक्रम बाहेक अरु नयाँ केही छैन । उसबेलाको ‘आफ्नो गाउँ आफै बनाऔं’ कार्यक्रम पोलेर खाए । अहिले त आफैभित्रको खराब मनोवृत्तिमा जलेर कता आफै सकिने हुन् कि भन्ने खतराको राजनैतिक रापमा तापिएका छन् ।
यि दुवै राजनैतिक पार्टीहरुले देशलाई गतिवान बनाउन सकेनन् भन्दै १० वर्ष युद्ध हाँकेको माओवादी, त्यसबेलाको राजनैतिक कर्म, चरित्र, चिन्तन र शैलीबाट तल ओर्लिएर संसदीय भासमा भित्र सम्म डुब्यो । उत्रन सकेन । प्रगतिशील र समाजवादी व्यवस्थाको द्योतक माओवादी (काँग्रेस,एमाले)सँग ‘कोही से कोही कम नहीं, हम भि तुमसे बढ्कर’ भन्ने नीति अंगिकार गरिसक्यो । कुनैबेला संसदमा बहुमत ल्याएको माओवादी आफै भित्रको कलह र विग्रहले चार चिरा हुँदै प्रचण्ड पथ संसदीय छिरामा अड्केको छ ।
देशमा आन्दोलन भए । जनताले आफ्ना अधिकारका नारा लगाए । जनताले सडकका केटालाई नेता बनाइदिए । सामन्ती व्यवस्था भनिएको राजसंस्था फालियो । नयाँ संविधान लेखियो । व्यवस्था बदलियो । भन्ने अर्थमा समाज पनि बदलियो तर राजनीतिक नेताको संस्कार भने बदलिएनन् । विचारको राजनीति शास्त्रमा थमाइयो । नेताका व्यवहारले पञ्च्यायत र राजतन्त्रको झल्को दियो ।
फुटाउ र राज गर पुरातनवादी राजनीतिमा हुने गरेको सिकाउनेहरु आज आफै त्यही गरिरहेका देखिन्छन् । यसको कारक तत्व एकता भाँडेर विखण्डन ल्याउने र विभाजनको फाईदा उठाएर राज गर्ने प्रवृत्तिको रोलमोडल हो । जो औचित्य हिन बाटोमा पुगेका दलीय नेतृत्वमा मैखाऔं, मैलाउँको मपाईत्व भरिएको छ । यसको दुर्घटना राजनैतिक विचलन हो ।
राजनीतिक संस्कार सत्ता पक्षका नेताहरूमा मात्र होइन, प्रतिपक्षी नेताहरूमा पनि असल राजनीतिक संस्कारमा ह्रास आएको छ । सत्ता पक्षका नेताहरूले राजनीतिक संस्कार बिर्से प्रतिपक्षी दलका नेताले खबरदारी गर्ने लोकतान्त्रिक पद्धति हो । नेपालको राजनीतिमा विपि कोइराला परिवारबाट प्रतिनिधित्व गर्ने कांग्रेस नेता शेखर कोइराला यो कुरा अझै स्वीकार गर्नुहुन्छ । तीनै विपि कोइरालाका अनुयायी भनिएका नरोत्तम वैद्य आफुलाई संसदको रोष्टमबाट नाथुराम घोषणा गर्न भ्याउँछन् । बागमति प्रदेशमा काँग्रेसबाट प्रतिनिधित्व गर्ने वैद्यले संसदको रोष्टमबाटै प्रधानमन्त्री केपी शर्मा ओलीको गतिविधि मन नपारेका कारणमाथि प्रश्न गर्दैगर्दा प्रधानमन्त्रीको मनोमानी रोक्न नाथुराम गोड्से बन्छु भनेर अभिव्यक्ति दिनु राजनैतिक संस्कारमा आएको विग्रहको एक अंश मान्न सकिन्छ । अहिंशा, न्याय र समानता, भाईचारा, सम्बाद, सहकार्य शैद्धान्तिक मूल्य मान्यता राख्ने उमेर पुगेका साँसद वैद्यको बचन कसैलाई पनि पाचन योग्य थिएन र रहेन ।
नेता र नेतृत्व आफूमा राजनीतिक संस्कार र नैतिकता भएन भने उसले अवलम्बन गरेको राजनीति माथि लाग्दैन । प्राय नेपालका राजनैतिक दलहरुमा संस्कार कै खडेरी छ । एकलकाटे वा मनोगतवादी चिन्तन, मनपरेका सम्ूहवादी निर्णयले सिंगो संगठनमा उकत्व नलिएका नेताले करिव करिव राजनीति नगरे के हुन्छ ?
अर्कालाई प्रश्न गर्दा आफू नैतिक धरातलमा उभिन आवश्यक रहन सकिएन भने, आफूले प्रश्न गर्दै गर्दा आफै जवाफदेहितामा अडिन सकिएन भने फगत पद र कुर्सीका लागि अपारदर्शी कामकाजका भतुवा मानसिकताले राजनीति हुँदैन । लाजनीति हुन्छ ।
देशमा राजनैतिक विग्रह अहिलेको रोग होइन । थामिन्छ कि भन्ने थियो । फेरि भड्केको छ । इतिहासलाई हेर्दा २०४६ सालपछि कुनै पनि सरकार पूरा कार्यकाल चलेनन् । कांग्रेसले २०४८ र २०५६ को निर्वाचनमा पाँच वर्ष सरकार चलाउने जनमत पाए पनि आन्तरिक कलहका कारण बीचमै सरकार फेरबदल भयो । २०४८ मा प्रधानमन्त्री बनेका गिरिजाप्रसाद कोइरालाले आफ्ना ३६ सांसदले सकारको नीति तथा कार्यक्रम विफल गराएपछि २०५१ मा मध्यावधि निर्वाचन गराइयो । त्यो पनि आफ्नै पार्टिबाट । २०५१ मा एमाले अध्यक्ष मनमोहन अधिकारी नेतृत्वमा तत्कालीन एमालेको अल्पमतको सरकार बन्यो । नौ महिना टिकेन ।
कांग्रेसले राप्रपासित मिलेर २०५२ मा कांग्रेस नेता शेरबहादुर देउवा प्रधानमन्त्री बन्नुभयो । एक वर्ष मात्र प्रधानमन्त्री भएर चोला फेरियो । कांग्रेसले २०५६ को निर्वाचनमा २ सय ५ सिटमा १ सय ११ सिट जितेर बहुमत ल्यायो । प्रधानमन्त्री कृष्णप्रसाद भट्टराई प्रधानमन्त्री बन्नुभयो । काँग्रेस सभापति कोइरालाले आफ्नै पार्टिको बहुमतको सरकार एक वर्ष नपुग्दै ढलाएर आफू प्रधानमन्त्री हुनुभयो । काँग्रेसमा त्यसवेलादेखि विग्रह सुरु भयो । देशमा माओवादी युद्ध चकिएको थियो । राजीनामा गरेर २०५९ मा कांग्रेस नेता शेरबहादुर देउवालाई प्रधानमन्त्री पद थमाइयो । देउवाले २०५९ जेठमा संसद् विघटन गरेर राजाको हातमा बुझाइदिनुभयो ।
हाम्रा राजनीतिक दलहरु लोकतान्त्रिक पद्धतिमा चल्नु असल संस्कार हो । पद्धति, मूल्य, मान्यताभन्दा आफूलाई प्रधान ठान्ने प्रवृत्ति उनीहरुमा हाबी भएको भएको देखिन्छ । मुलुकमा गणतन्त्र स्थापना भएको १३ वर्षपछि पनि राजनीतिक अस्थिरता कायम रहनु खासमा राजनैतिक पार्टिको अस्थिरता जड हो । २०४६ सालपछि २६ सरकार परिवर्तन भए, त्यसमा दुई सरकार तत्कालीन राजा ज्ञानेन्द्र शाहले चलाए, बाँकी २४ सरकार राजनीतिक दलले चलाए । भयो के ? जनताको मनमा अपनत्व हिन गैह्र राजनैतिक, संस्कारहिनहरुको झुण्डको राजकाज चल्यो । जनताको राज्य व्यवस्था चलेन । दोस्रो जनआन्दोलन २०६२÷०६३ पछिको १४ वर्षमा १० सरकार परिवर्तन भए । तर जनहितकारी व्यवस्था देख्न र भोग्न कही पाइएन् । केही नै भएन भन्नु होइन तर जसरी व्यवस्था व्यवस्थित हुनुपर्दथ्यो त्यो भएन र अहिले पनि राजनैतिक संकट आइपरेको छ । राजनैतिक विग्रहले देशमा, शासन प्रणालीमा र सिंगो व्यवस्थापकीय पद्धतिमा समेत विग्रह ल्याउनेवाला छ ।