बजेट निर्माणमा जुटे बागलुङका स्थानीय सरकार

आदर्श अनलाइन, बागलुङ
आगामी आर्थिक वर्षको बजेट निर्माणका लागि बागलुङ जिल्लाका १० स्थानीय तह बजेट तथा कार्यक्रम निर्माणमा जुटेका छन् ।

असार १५ गते स्थानीय तहले बजेट, नीति तथा कार्यक्रम प्रस्तुत गर्नुपर्ने संवैधानिक व्यवस्था अनुसार जिल्लाका चार नगरपालिका र ६ गाउँपालिकाले कोरोना कहरका बिच सुझाव संकलन गर्दे बजेट निर्माणमा जुटेका हुन् ।

संवैधानिक व्यवस्था बमोजिम जिल्लाका स्थानीय तहले आगामी आर्थिक वर्ष २०७८÷७९ को बजेट, नीति तथा कार्यक्रम तर्जुमाको तयारीमा जुटेका हुन् ।

यसको तयारी स्वरुप बागलुङका स्थानीय तहले सुझाव माग गरेका छन् । आगामी वर्षको बजेट, नीति तथा कार्यक्रममा समेट्न सकिने विषयलाई इमेल तथा फेसबुक तथा मौखिक रुपमा सुझाव माग गरिएको बागलुङ नगरपालिकाका नगर प्रमुख जनकारज पौडेलले जानकारी दिनुभयो । केही जनप्रतिनिधिले वडाको टोलटोलमा पुगेर सुझाव संकलन गर्न थालेका छन् ।

उहाँले अहिलेको बजेट कोरोना नियन्त्रण, स्वास्थ्य क्षेत्र, नगर अस्पताल र अधुरा योजना निर्माणमा लक्षित रहेको र बाँकी बजेट विगतकै योजनालाई निरन्तरता दिने गरि अगाडि बढेको बताउनुभयो । स्वास्थ्य पूर्वाधार,स्वास्थ्यकर्मी र नागरिकको स्वास्थ्य सुरक्षा र सेवा, कृषि, १४ वटै वडामा कालोपत्रे सडक पु¥याउने गरि बजेट केन्द्रित गर्ने सोच रहेको नगर प्रमुख पौडेलको भनाई छ ।

जिल्लाको काठेखोला गाउँपालिकाले भने टोल टोलमै पुगेर सुझाव संकलन गर्न थालेको छ । कोरोना कहरका बिच ८÷१० जनाको भेला गरि योजना माग गर्ने, अधुरा योजनालाई पुरा गर्ने तथा स्वास्थ्यमैत्री बजेट ल्याउन थालिएको काठेखोला गाउँपालिकाका अध्यक्ष अम्मर बहादुर थापाले जानकारी दिनुभयो । “धेरै बजेट कोरोना रोकथाम, नियन्त्रणका लागि हुनेछ, त्यसपछि स्वास्थ्य पूर्वाधार तथा स्वास्थ्य सामाग्री खरिदमा केन्द्रित हुनेछ,”अध्यक्ष थापाले भन्नुभयो “अहिले केही पुराना योजना जुन अधुरा छन्, त्यस्ता योजना सम्पन्न गर्ने र केही भौतिक पूर्वाधार र सडकमा समेत केन्द्रित गरिनेछ ।”
आव २०७८/७९ को स्रोत अनुमान तथा बजेट सीमा निर्धारण सम्बन्धमा जानकारी प्राप्त भएकाले तोकिएको स्रोत अनुमान र सीमाको आधारमा बजेट तयारीमा स्थानीय तह जुटेका छन् ।

नीति तथा कार्यक्रम, बजेट कस्तो बनाउने भन्ने विषयमा सबैसँग नीतिगत रुपमा फेसबुक मार्फत सुझाव संकलन गरिरहेको बरेङ गाउँपालिकाले जनाएको छ । गाउँपालिकाले कोरोना कहरमा टोलमै पुगेर सुझाव संकलन गर्न नसकिएको भन्दै सामाजिक सञ्जाल र सञ्चार माध्यम मार्फत सुझाव माग गरिएको गाउँपालिका अध्यक्ष कृष्ण प्रसाद शर्माले जानकारी दिनुभयो । जिल्लाको जैमिनी नगरपालिका, गलकोट नगरपालिका, ताराखोला गाउँपालिकाले पनि स्वास्थ्यलाई प्राथमिकता दिँदै भौतिक पूर्वाधार केन्द्रित बजेट तथा कार्यक्रम ल्याउने तयारीमा छन् । जिल्लाको पश्चिम क्षेत्रको पालिका बडिगाड गाउँपालिका, ढोरपाटन नगरपालिका, तमानखोला गाउँपालिका तथा निसीखोला गाउँपालिकाले गाउँमा सडक सञ्जाल विस्तार गर्ने, विद्युतीकरण गर्ने, स्वास्थ्य चौकीमा पूर्वाधार थप गर्ने तयारी सहित बजेट निर्माणमा जुटेको छ । यो वर्षको बजेट धेरै नयाँ नभई स्वास्थ्य तथा पूर्वाधार केन्द्रित र कोरोना नियन्त्रणमुखी हुने ढोरपाटन नगरपालिकाले जनाएको छ ।

बागलुङका १० स्थानीय तहलाई संघीय सरकारले ३ अर्ब ८७ करोड ७५ लाख बजेट बिनियोजन गरेको छ । यसमा गण्डकी प्रदेशले दिने अनुदान, स्थानीय पालिकाको आम्दानी र राजश्व हेरेर बजेट निर्माण हुनेछ । बागलुङमा सामानिकरण, सशर्त, विशेष र समपुरक अनुदान अन्तर्गत संघीय सरकारले उक्त बजेट बिनियोजन गरेको हो ।

गत वर्षको तुलनामा बागलुङमा संघीय सरकारको बजेट २९ करोड ७७ लाखले बढेर आएको छ । तर गण्डकी प्रदेशको बजेट साँघुरिएकाले जिल्लाका स्थानीय तहको बजेट गत वर्षको तुलनामा केही मात्र वृद्धि हुने अनुमान गरिएको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *