–आदर्श अनलाइन, बागलुङ
नेपालको पुरानो सभ्यता मध्ये एक कालीगण्डकी सभ्यता हो । कालीगण्डकी नदीमा विश्वकै दुर्लभ शालग्राम समेत पाइन्छ । हिन्दु धर्मालम्बीले पवित्रताका लागि जल स्नान समेत गर्ने कालीगण्डकी नदी पछिल्लो समय भने अबैध दोहनको सिकार भइरहेको छ ।
तर, सरकार र सरोकारवाला निकाय अबैध दोहनमा पनि मुकदर्शक प्रायः देखिन्छ । मुस्ताङ, म्याग्दी, बागलुङ र पर्वत भएर बग्ने कालीगण्डकी नदीको अन्य नदी भन्दा अझ बढी महत्वपूर्ण मानिन्छ ।

विश्वकै दुर्लभ शालिग्राम पाइने नदी पछिल्लो समय मनपरी दोहन हुँदा शालग्राम लोप हुने अवस्थामा पुग्न थालेको छ भने नदीले धारै परिवर्तन गर्दा बेनी बजार, मालढुङ्गा लगायतका बस्ती कटानको जोखिमा परेको छ ।

कालीगण्डकी नदी माथि अबैध दोहन हुने क्रम नरोकिए पछि कालीगण्डकी नदी बचाउनका लागि यहाँका युवाहरुले सक्रियता देखाउन थालेका छन् । नदी र यहाँको सभ्यता बचाउनका लागि धौलागिरी र गण्डकीका युवाहरु स्वतःस्फूर्त रुपमा अभियानमा जुट्न थालेका छन् । मुस्ताङ, म्याग्दी, बागलुङ, पर्वत, स्याङ्जा जिल्ला लगायत क्षेत्रमा कालीगण्डकी नदीको चौतर्फी दोहन हुन थालेपछि युवाहरू सामाजिक सञ्जाल मार्फत् नदी र सभ्यता बचाउ अभियानमा जुटेका हुन् । युवाहरुले ‘कालिगण्डकी बचाउ अभियान’ शुरु गरेका हुन् । यस अभियानमा नदी दोहनका विषयमा कलम चलाउने पत्रकारहरु समेत सहभागी छन् ।

गण्डकी सभ्यता नितान्त ऐतिहासिक भएको र यसको उद्गम थलो काली गण्डकी भएका कारण यसलाई बचाउन सके कालीगण्डकी सभ्यता जोगिने नत्र यस आसपासमा भएका धार्मिक तथा पुरातात्विक संरचना समेत लोप भएर नयाँ नयाँ संकट देखा पर्ने कालीगण्डकी सभ्यता बचाउ अभियानका मुख्य अभियन्ता आरके अदिप्त गिरीले बताउनुभयो । उहाँका अनुसार यस अभियानमा जो कसैले स्वतःस्फूर्त रुपमा सहभागिता जनाउन सक्नेछन् ।

“कालगण्डकी बचाऔ अभियानको एउटा सञ्जाल बनेको छ,गण्डकी प्रदेशका धेरै जिल्लाका युवाहरुले यसमा हातेमालो गर्न थाल्नुभएको छ, यसले राज्यलाई कालीगण्डकी संरक्षणमा दबाब पुग्नेछ” गिरीले भन्नुभयो “हाम्रो संस्कृति र सभ्यता बचाउन हामीलेनै पहल गर्नुपर्दछ नत्र केही वर्षमा गण्डकी सभ्यता लोप भएर जानेछ, अबैध नदी दोहन रोक्नु पहिलो अभियान हुनेछ, त्यसपछि संरक्षणमा जुट्नेछौं, यो नितान्त सरकार र सरोकारवाला निकायलाई जिम्मेवार बनाउने अभियान हो ।” यस अभियानमा विभिन्न जिल्लाका १०० भन्दा बढी युवाहरुको सक्रिय सहभागिता भइरहेको र धेरै अभियानमा जोडिदै जानेछन् ।
मानव र जैविक विविधताको अस्तित्व सँग गासिएका कालीगण्डकी नदी, खोलाबाट गिटी, ढुङ्गा, बालुवा एकोहोरो दोहन हुँदै जाँदा प्रकृति वातावरण र मानव सभ्यता नै अप्ठ्यारोमा पर्ने अवस्था निकट देखिएकाले अभियान थालिएको गिरीको भनाई छ । गिरी लामो समयदेखि प्रकृतिक सुन्दरता र वातारणका विषयमा कलम चलाउँदै समेत आउनुभएको छ ।
नदीमा अवैध रूपमा उत्खनन गर्ने कार्य रोक्न र कालीगण्डकी सभ्यता बचाउन सबै युवाहरु जुट्न गिरीले सबै सचेत नागरिकलाई आग्रह समेत गर्नुभयो । कालीगण्डकी नदीमा माफियाको बिगबिगी भएको र यसलाई बचाउन आवश्यक रहेको अधिकारकर्मी राम शर्माले बताउनुभयो । कालीगण्डकीमा खुलेआम अबैध कर्म चल्दा, नदी आफ्नै स्वरुमा बग्न नपाउने स्थितिले भोलीको दिनमा भयावहको अवस्था आउन सक्ने तर्फ समयमै सचेत हुनुपर्ने शर्माको भनाई छ । राज्य पक्ष समेत आर्थिक प्रलोभन र प्रभावमा परी सभ्यता मास्न लागि परेको उहाँको आरोप छ ।
गण्डकी प्रदेशको नाम सँग जोडिएको कालीगण्डकी र यहाँको सभ्यता जोगाउन स्थानीय, प्रदेश र संघ सरकारले ध्यान दिनु पर्ने अभियन्ताको जोड छ । गण्डकी प्रदेश सरकारको २०७८÷०७९ को नीति तथा कार्यक्रममा वातावरणीय प्रभाव मूल्याङ्कन गरि ढुङ्गा गिट्टी र बालुवा उत्खनन, उपयोग र व्यवस्थापनका लागि वातावरणमैत्री बनाउन आवश्यक समन्वय गरिने नीति लिएको छ । ठेक्कामा दिएका नदीबाट तोकिएका मापदण्ड भन्दा बाहिर गएर काम भए नभएको अनुगमन नहुनु र भए पनि कर्मकाण्डी हिसाबले मात्र गर्नु सबैभन्दा चिन्ताको विषय भएको छ ।