बागलुङमा ३०० सक्रिय संक्रमित

डम्मर बुढा मगर, बागलुङ
जिल्लामा केही दिन यता कोरोना संक्रमणको दर घट्दै गएको छ । संक्रमणको दर कम हुँदै गए पछि जिल्लामा निषेधाज्ञा समेत खुकुलो बनाइएको छ । गत बैशाख पहिलो सातादेखि जिल्लामा कोरोना संक्रमणको दर उकालो लागेकोमा जेठ महिनाको अन्तिम सातासम्म आउँदा झण्डै आधाले घटेको थियो । बैशाख महिनाभर जिल्लामा १ हजार भन्दा बढी सक्रिय संक्रमित थिए । त्यस यता भने विस्तारै घट्दो क्रममा छ ।

अहिले जिल्लामा सक्रिय संक्रमित ३ सय जना रहेको स्वास्थ्य कार्यालयले जनाएको छ । राजधानीबाट बिभिन्न सञ्चार माध्यममा काठमाण्डौंमा भन्दा बागलुङमा संक्रमित बढी भएको समाचार आए पनि त्यसमा सत्यता नरहेको जिल्ला कोभिड फोकल पर्सन देवप्रकाश घिमिरेले बताउनुभयो । सञ्चार माध्यममा सोमबार काठमाडौमा २८५ देखिँदा बागलुङमा ३०५ जनामा संक्रमण पुष्टि भएको भन्ने समाचार आएका थिए । बागलुङमा अहिलेसम्म एकै पटक यति धेरै संक्रमित नथपिएको र प्रदेशबाट धेरै दिनको एकै पटक अपडेट गर्दा ठूलो संख्या देखिएको हुन सक्ने कार्यालयको भनाई छ ।

अहिले जिल्लाभर जम्मा सक्रिय संक्रमित ३ सय जना मध्ये अधिकांश होम आइसोलेशनमा छन् भने केही धौलागिरी अस्पताल र केही पालिकाले निर्माण गरेको कोभिड अस्पताल तथा आइसोलेशनमा छन् । अहिले धौलागिरी अस्पताल बागलुङमा ११ जना, गलकोट कोभिड अस्थायी अस्पतालमा १ जना, बरेङमा २ जना, ढोरपाटनमा २ जना, रातमाटा आइसोलेशनमा १ जना, निसीखोला झिम्पा कोभिड अस्पतालमा ४ जना, प्रभा मावि आइसोलेशनमा ६ जना, खरबाङमा २ जना र होम आइसोलेशनमा २ सय ७१ जना रहेको स्वास्थ्य कार्यालय बागलुङको तथ्यांक छ ।

स्वास्थ्य कार्यालय बागलुङका प्रमुख सुरज गुरौले परीक्षण दर बढाए पछि अहिले संक्रमित दर कम हुँदै गएको बताउनुभयो । लक्षणसहितका बिरामीहरु कम हुँदै गएपछि परीक्षणको दायरा पनि स्वतः घटेको उहाँको भनाई छ ।

‘जिल्लाका सबै पालिकामा लक्षण सहितका बिरामी घटेपछि परीक्षण पनि कम भएको छ, परीक्षण कम हुँदा संक्रमतिको संख्या पनि घटिरहेको अवस्था छ,’ प्रमुख गुरौले भन्नुभयो ‘पहिलेको तुलनामा अहिले धेरै कम भएको छ, कम भयो भनेर परीक्षण नै नगरेको भने होइन, जोखिम र आवश्यकतालाई हेरेर परीक्षण पनि भइरहेको छ ।’

उहाँले संक्रमण घट्दै गए पनि जोखिम भने कायमै रहेको बताउनुहुन्छ । ‘संक्रमण घट्यो भन्दैमा जोखिम हुँदैन भन्ने होइन, नागरिकले सजगता अपनाउनै पर्छ, सरकारको निर्देशनलाई पालना गर्नु नै पर्छ,’ उहाँले भन्नुभयो ‘नागरिक सजग भएन भने झन् ठूलो समस्या आउन सक्छ, त्यसले गर्दा सबै सजक र सचेत हुन जरुरी छ ।’

उहाँले संक्रमणको जोखिम शून्य हुन नसक्ने भन्दै संक्रमणबाट जोगिन स्वास्थ्य सुरक्षाको मापदण्ड अपनाउनु र खोप लगाउनु नै उत्तम विकल्प रहेको बताउनुहुन्छ । ‘संक्रमणबाट जोगिन हाम्रो दैनिक क्रियाकलाप परिवर्तन गर्नुपर्छ, स्वास्थ्यका सबै मापदण्डलाई सही रुपमा पालना गर्नुपर्छ भने खोप लगाउनु नै संक्रमणबाट बच्ने उपाय हो ।’

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *