विवाह भोजले गाउँभर फैलियो कोरोना

डम्मर बुढा मगर, बागलुङ
बैशाख महिना सुरु भएपछि बागलुङमा कोरोना संक्रमणको दर उच्च बिन्दुमा पुग्यो । उच्च बिन्दुमा पुगेको संक्रमण दर घटाउन जिल्लाका सबै संयन्त्र परिचालित भए र जेठको अन्तिम सातासम्म संक्रमणको दर घट्यो पनि । संक्रमणको दर घट्दै गए पछि लकडाउन खुकुलो समेत बनाइएको छ ।

पछिल्लो केही दिन यता दैनिक ५÷७ जनामा मात्रै संक्रमण देखिएकोमा सोमबार एकै दिन एकै गाउँका ३८ जना सहित बागलुङ नगरपालिका वडा नम्बर ३ मा ४१ जनामा संक्रमण पुष्टि भए पछि भने फेरि जिल्लाबासी झस्किएका छन् । ठूलो संख्यामा संक्रमण पुष्टि भएपछि गाउँ टोलमा पुनः संक्रमणको जोखिम बढेको छ ।

बागलुङ नगरपालिका वडा नम्बर ३ खोलाखेतका ३८ जनामा संक्रमण पुष्टि भए पछि स्थानीय त्रसित भएका छन् । जिल्लामा कोरोना संक्रमण दर घटेको भन्दै जिल्ला प्रशासनले लकडाउनलाई खुकुलो पार्नु र त्यसै दिन एकै वडाका ४१ जनामा संक्रमण देखिनुले अझै बागलुङमा संक्रमण जोखिम कायमै रहेको प्रष्ट देखिएको छ ।

सोमबार संक्रमित भएका ४१ जना मध्ये ३८ जना खोलाखेतका हुन् । उनीहरु केही दिनअघि विवाह भोजमा सहभागी भएको बताइएको छ । विवाह भोजमा सहभागी भएका उनीहरु मध्ये ५० जनामा शंकास्पद लक्षण देखिए पछि धौलागिरी अस्पताल बागलुङको प्रयोगशालामा स्वाब परीक्षण गरियो । ५० जनाको परीक्षणमा ३८ जनामा संक्रमण देखिएपछि अहिले गाउँमा त्रास फैलिएको छ ।

एक साता अघि विवाह भोजमा सहभागी भएकाहरुमा कोरोनासँग मिल्दाजुल्दा लक्षणसहित बिरामी परेपछि बागलुङ नगरपालिकाको स्वास्थ्य शाखाले स्वाब संकलन गरेर परीक्षण गरेको नगर स्वास्थ्य शाखाका प्रमुख रामप्रसाद खनालले बताउनुभयो । उहाँले गाउँमा भोज भतेर र मानिसहरु जम्मा हुने कुनै पनि कार्यक्रम नगर्न आग्रह गरे पनि अटेरी गर्दा संक्रमणको दर थप बढ्न सक्ने बताउनुहुन्छ ।
बागलुङ बजार छेउको गाउँभरी नै संक्रमण फैलिएको पाइएको हो । उक्त क्षेत्र सिल गर्ने विषयमा छलफल चलिरहेको खनालको भनाई छ । स्थानीयले होम आईशोलेसनमै बस्ने र बाहिर ननिस्कने प्रतिबद्धता जनाएको खनालले बताउनभयो । विवाह भोजमा सहभागी भएका र संक्रमितको सम्पर्कमा आएका अन्यको खोजी भैरहेको उहाँको भनाई छ ।

संक्रमितहरुमा खोकी लाग्ने, ज्वरो आउने लगायतका लक्षणहरु छन् । खनालका अनुसार, दोस्रो लहर चल्ने बेला अन्यत्रभन्दा पहिला धेरै संक्रमित देखिएको वडा नम्बर १४ नारायणस्थान सक्रिय संक्रमित मुक्त भएको छ । यस्तै वडा नम्बर ११ रायडाँडा, वडा नम्मबर ५ मालिका र वडा नम्बर ८ सिगानामा सक्रिय संक्रमितको संख्या शुन्य छ ।

उहाँले आफूहरु कसरी संक्रमण न्यून गर्न सकिन्छ भनि नियन्त्रण गर्न तर्फ लाग्ने तर नागरिक भने लापरवाही रुपमा विवाह, ब्रतबन्ध लगायतका गतिबिधि गर्न तर्फ उद्दत हुँदा थप समस्या निम्तिएको बताउनुहुन्छ ।

‘संक्रमण स्वास्थ्यकर्मी, जनप्रतिनिधिहरु मात्रै लागेर नियन्त्रण हुँदैन, संक्रमण नियन्त्रण गर्न नागरिकको महत्वपूर्ण भूमिका हुन्छ, उहाँहरुले अटेरी गरेर लापरवाही गर्नु भयो भने हाम्रो पनि केही लाग्दैन,’ प्रमुख खनालले भन्नुभयो ‘यो समस्या त नागरिक आफै पनि बुझ्नु पर्ने हो तर उहाँहरु कै कारण थप जटिल अवस्था आउने सम्भावना देखिन्छ ।’

संक्रमित मध्य ६ जनाको स्वास्थ्यमा समस्या देखिएपछि बागलुङ नगरपालिकाले रातमाटामा निर्माण गरेको आइशोलेसनमा ल्याइएको र अन्य होम आइसोलेशनमा रहेको जानकारी दिनुभयो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *