निशुल्क जग्गामा ८ करोडमा बन्यो आधुनिक बसपार्क

आदर्श अनलाइन, बागलुङ

गत पुसमै ९० प्रतिशत काम सकिएको बसपार्क मौसम खराबीका कारण कालोपत्रेको काम रोकिएको थियो । बसपार्कले अन्तिम रुप लिए पनि कालोपत्रेमा ढिलाई भएको थियो । तर, मौसममा सुधार आएसंगै मंगलबार देखि बसपार्क कालोपत्रेको काम शुरु भएको यो काम मौसमले साथ दिए दुई दिनमै सकिने निर्माण कम्पनीले जनाएको छ ।

बसपार्क निर्माणका लागि १९ वर्ष अघि बागलुङ बजारबासीले उपल्लाचौरको दाबगरामा व्यक्तिगत जग्गा निःशुल्क रुपमा बागलुङ नगरपालिकालाई हस्तान्तरण गरेको १९ वर्षपछि बसपार्क निर्माण अन्तिम चरणमा छ ।

लामो समय सरकारी उदासिनताका कारण अलपत्र परेको बसपार्क निर्माण जनप्रतिनिधिको आगमन सँगै २०७५ सालमा बागलुङ नगरपालिकाको पहलमा गति लिएको थियो । ठेक्का स्वीकृत भएको साढे दुई वर्ष पछि बसपार्क निर्माणले अन्तिम रुप लिएको बागलुङ नगरपालिकाले जनाएको छ । बागलुङमा व्यवस्थित बसपार्क बनाउन २०५९ सालमै स्थानीयले करोडौं मूल्य पर्ने जग्गा निःशुल्क दिए पनि बसपार्क निर्माण शुरु हुन सकेको थिएन ।

बागलुङ नगरपालिका वडा नं.४ दाबगरामा व्यवस्थित बसपार्क निर्माणका लागि स्थानीय ५२ जना जग्गादाताले निशुल्क उपलब्ध गराएको जग्गामा अहिले बसपार्क निर्माण गरिएको छ । बसपार्क निर्माणको काम लगभग सकिएको बागलुङ नगरपालिकाका इञ्जिनियर मनोज शर्माले जानकारी दिनुभयो । “बसपार्कमा निर्माणको काम लगभग सकिएको छ, रंगरोगन, बिद्युत जडान भइसेको छ, बाँकी ८ प्रतिशत प्रगती थियो, त्यो पनि पार्किङ स्थलको कालोपत्रे शुरु भएको छ,” शर्माले भन्नुभयो “मौसमले साथ दिएमा एक हप्ता भित्रै बागलुङ बसपार्कको काम सकिनेछ र त्यस लगत्तै सञ्चालनमा आउने छ ।” डेढ वर्षमा सकिने बसपार्क कोरोनाका कारण साढे दुई वर्षमा सकिएको हो ।

२०७६ कात्तिक २६ गते एक वर्षमा सक्ने गरी ८ करोड ७० लाख रुपैयाँमा ठेक्का सम्झौता भएको बसपार्क समयमै नसकिदाँ दुई पटक ६÷६ महिना म्याद थपिएको हो । पुनः कोरोनाको कारण देखाउदै ६ महिना म्याद थपिएको थियो । अहिले टर्मिनल र व्यावसायिक भवन निर्माण सम्पन्न भएको र पार्किङ स्थल कालोपत्रे समेत भइरहेको छ ।

कोरोनाका कारण निर्माणमा केही ढिलाई भए पनि बसपार्क निर्माणको कामले अन्तिम रुप लिएको बसपार्क निर्माणको जिम्मा लिएको आशिष फेवा जेभीका आधिकारिक प्रतिनिधि प्रकाश तिमिल्सनाले जानकारी दिनुभयो ।

नगरवासीको १९ वर्षदेखिको आधुनिक र व्यवस्थित बसपार्क निर्माणको सपना पुरा गर्नु ठूलो सफलता भएको नगर प्रमुख जनकराज पौडेलले बताउनुभयो । “१९ वर्ष पहिला करोडौं मूल्यको जग्गा नगरपालिकालाई दिइएको थियो, तर जनप्रतिनिधि बिहिन हुँदा काम हुन सकेको थिएन, अहिले बसपार्क हस्तान्तरणको चरणमा पुगेको छ, एक हप्तामै सबै काम सकिनेछ” नगर प्रमुख पौडेलले भन्नुभयो “हामी निर्वाचित भएर आएपछि बसपार्क निर्माणलाई प्राथमिकताका साथ अगाडि बढाएका थियौ,अहिले लगभग निर्माण सकिएको छ, यसको सञ्चालनका लागि कार्ययोजना बनाउन छलफल समेत शुरु गरेका छौ, छिट्टै सञ्चालनमा आउनेछ ।”

स्थानीयले उपलब्ध गराएको ५९ रोपनी जग्गाबाट साढे १७ रोपनी जग्गामा बसपार्क र अन्य जग्गामा व्यवस्थित बसोवासका लागि एक सय २७ वटा घडेरी निर्माण गर्ने गरि नगरपालिकाको नाममा जग्गा हस्तान्तरण गरिएको थियो । लहलह धान फल्ने खेत नगरपालिकाको नाममा दिएको लामो समय सम्म बसपार्क निर्माण नहुँदा स्थानीय निराश थिए । ढिलै भए पनि बसपार्क बनेकोमा खुसी भएको जग्गादाता गुणनिधी शर्माले बताउनुभयो । धान फल्ने जग्गा नगरपालिकालाई बसपार्क बनाउन दिएको १९ वर्ष पछि बल्ल सपना साकार भएको जग्गादाता तथा बसपार्क जग्गा व्यवस्थापन समितिका अध्यक्ष सुवास राजभण्डारीले जानकारी दिनुभयो ।

व्यवस्थित आधुनिक बागलुङ बसपार्कमा ६० वटा ठूला बस, १० वटा माइक्रोबस एकैसाथ अटाउन सक्नेछन । टर्मिनल भवनको भुई तलामा कार तथा मोटरसाइकल पार्किङ गर्न मिल्नेछ । नगर विकास कोषसँग ऋण सम्झौता गरी बसपार्क निर्माण गरिएको हो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *