बागलुङ–बेनी सडक कालोपत्रे शुरु

आदर्श अनलाइन, बागलुङ

लामो समयदेखि जीर्ण रहेको बागलुङ-बेनी सडक खण्डले मुहार फेर्न थालेको छ ।

बागलुङ बेनी सडक खण्डको बाङ्गेचौर देखि रत्नेचौर सम्मको सडक स्तरोन्नती संगै कालोपत्रेको काम शुरु भएको छ । जीर्ण अवस्थामा रहेको सडक यस अघि टालटुल मात्रै गरिदै आएकोमा अहिले डिभिजन कार्यालयले पुरै सडक कालोपत्रे गरिरहेको छ । मंगलबारदेखि उक्त सडकको बाङ्गेचौर देखि पहिलोपटक अलकत्रा माथी गिटि विच्छाएर (एसबिएस्टी) प्रविधिद्वारा कालोपत्रे भइरहेको छ ।

हाल सम्म एक किलोमिटर भन्दा बढी कालोपत्रे भइसकेको र असार मसान्त सम्म ६ किलोमिटर सडक कालोपत्रे गरिने सडक डिभिजन कार्यालय बागलुङका इन्जिनियर सुरेन्द्र गौतमले जानकारी दिनुभयो । उक्त सडकको ११ किलोमिटर मध्ये कुडुले देखि ढोडेनी सम्मको सडकमा भने स्तरोन्नती गर्न बाँकी नै छ । “असार मसान्त सम्म ११ किमि कालोपत्रे गर्ने लक्ष्य थियो, निरन्तरको वर्षातले कालोपत्रे गर्न पाइएन, कालोपत्रे गर्न घाम लाग्नु पर्ने हुन्छ ।” गौतमले भन्नुभयो “ मौसमका कारण दुई मनिा जती बढी समय लाग्ने भयो ।” उक्त सडकको ठेक्का माघमा सकिएपछि कोरोनाका कारण ६ महिना थप गरिएको छ ।

सडक निकै साँघुरो र खाल्टाखुल्टी रहेको सडकमा सडक विभागले भत्केको मात्रै सडक टालटुल कालोपत्र गर्दै जाँदा दुर्घटनाको जोखिम बढ्दै गएपछि एसपटक सडक स्तरोन्नतिसहित पूरै सडक कालोपत्र गर्ने गरी कामले तीव्रता पाएको सडक डिभिजन कार्यालय बागलुङका प्रमुख रामेश्वर लम्सालले बताउनुभयो ।

उक्त सडकमा नालीको समेत निकै समस्या छ । तर अहिले सडक डिभिजन कार्यालयले केही भागमा सडक र नाली दुवै र बागलुङ बजार क्षेत्रको रामरेखामा सडक मात्रै स्तरोन्नती पछि कालोपत्रे गरिरहेको छ । अहिले बाङ्गचौर देखि क्याम्पस सम्म कालोपत्रेको काम भइरहेको छ ।

सडक निकै जीर्ण रहेका कारण पहिला टालटुल कालोपत्रे गरी मर्मत पश्चात सडक नयाँ कालोपत्रे गरिरहेको छ । उक्त सडक २०७६ माघ १३ गते रु तीन करोड ३७ लाख ७७ हजारमा फेवा÷बिएमए जेभीसँग ठेक्का सम्झौता भएको थियो ।

उक्त सडक खण्डमध्ये दुई किलोमिटर बाङ्गेचौर देखि उपल्लाचौर सम्मको सडक राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी पुष्पलाल लोकमार्गमा समावेश भएपनि अहिले बागलुङ बेनी सडककै नाममा काम भइरहेको छ । मध्यपहाडी लोकमार्गले ठेक्का नलगाउदा सडक मध्यपहाडीको मापदण्ड अनुसारको छैन ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *